Online Bible

- Reklamy -

यर्मिया 15 - सरल नेपाली पवित्र बाइबल


यहूदाबासीहरूको विनाश

1 तब परमप्रभुले मलाई भन्‍नुभयो, “मोशा र शमूएल मेरो सामुन्‍ने खडा भएर बिन्‍ती गरिरहेका भए तापनि मैले यस जातिमाथि केही कृपा देखाउनेथिइनँ। तिनीहरूलाई पठाइदे। तिनीहरूलाई मेरो सामुन्‍नेबाट निकालिदे।

2 तिनीहरूले तँलाई ‘हामी कता जाऔं’ भनी सोधे भने तिनीहरूलाई मबाट मैले यसो भनेको छु भनी भन्, ‘जो-जो रुढीमा मारिनेछन्, तिनीहरू रुढीतिर जाओ! जो-जो लडाइँमा मारिनेछन्, तिनीहरू लडाइँतिर जाऊन्! जो-जो भोकले मर्नेछन्, तिनीहरू अनिकालतिरै जाऊन्! र जो-जो कैदमा लगिनेछन्, तिनीहरू कैदतिरै जाऊन्!’

3 म परमप्रभु भन्‍दछु कि तिनीहरूमाथि चार किसिमका विनाश ल्‍याउनेछु। तिनीहरू लडाइँमा मारिनेछन्, तिनीहरूका लाश कुकुरले फहराउनेछन् र चरा-चुरुङ्गीहरूले ठुँगी खानेछन् र उब्रेकालाई जङ्गली जनावरहरूले टोकी खानेछन्।

4 हिजकियाको छोरो मनश्‍शेले आफू यहूदाका राजा छँदा जे गरेको थियो, त्‍यसैका कारण म तिनीहरूको यस्‍तो गति बनाउनेछु र त्‍यो देखेर संसारका सबै मानिसहरू भयभीत हुनेछन्।”

5 परमप्रभु भन्‍नुहुन्‍छ, “हे यरूशलेमबासीहरू हो, कसले तिमीहरूलाई टिठ्याउनेछ? कसले तिमीहरूको निम्‍ति शोक गर्ला? कसले अडिएर तिमीहरूसँग भलाकुसारी गर्ला?

6 तिमीहरूले मलाई त्‍यागेका छौ र मतिर आफ्‍नो पिठ्युँ फर्काएका छौ। यसैकारण मैले आफ्‍नो हात उठाएर तिमीहरूलाई नाश पारेको छु किनभने रिस थाम्‍दा-थाम्‍दा म हैरान भइसकेको थिएँ।

7 देशको हरेक सहरमा मैले तिमीहरूलाई परालझैँ बतासमा उडाइदिएँ। ए मेरा प्रजा, मैले तिमीहरूलाई नाश गरें, तिमीहरूका बाल-बच्‍चा मारिदिएँ किनभने तिमीहरूले आफ्‍ना दुष्‍ट चालहरू छोडेनौ।

8 तिमीहरूका देशमा समुद्रको बालुवाका सङ्‍ख्‍याभन्दा धेरै विधवाहरू छन्। तिमीहरूका ठिटाहरूलाई मैले मारें र तिमीहरूका आमाहरूलाई शोकित तुल्‍याएँ। एक्‍कासि वेदना र आतङ्क मैले तिनीहरूमाथि ल्‍याएँ।

9 सात छोरा-छोरीकी आमा तिनीहरूको मृत्‍युले बेहोश भएकी छे र सास फेर्न कष्‍ट पाइरहेकी छे। त्‍यसको दिनको उज्‍यालो अन्‍धकार बनिएको छ, त्‍यसको अपमान भएको छ र त्‍यसको मनमा पीर छ। तिमीहरूमध्‍ये जो अझसम्‍म बाँचेका छौ, म तिमीहरूका शत्रुका हातमा दिएर मार्न लाउनेछु। म परमप्रभु बोलेको छु।”


परमप्रभुको अघि यर्मियाको उजुर

10 हाय! हाय! मेरी आमाले किन मलाई जन्‍माइन् नि? देशका हरेक मानिससित मैले विवाद र झगडा गर्नुपर्छ। मैले कसैलाई केही ऋण दिएको छैनँ, कसैबाट केही ऋण लिएको छैनँ र पनि सबैले मलाई सराप्‍छन्।

11 परमप्रभुले भन्‍नुभयो, “निश्‍चय म तँलाई तेरो भलाइको निम्‍ति बचाउनेछु। दु:ख र सङ्कष्‍टका समयमा निश्‍चय नै म तेरा शत्रुहरूलाई तँसित नै बिन्‍ती गर्न लाउनेछु।

12 (कसले फलाम, विशेषगरी उत्तर दिशाको काँसा मिसिएको फलाम फुटाउन सक्‍छ?)

13 “सारा देशभरि मेरा प्रजाले गरेका पापको निम्‍ति दण्‍ड दिन तिनीहरूका धन-सम्‍पत्ति र भण्‍डारका सामानहरू लुटिलैजानलाई म तिनीहरूका शत्रुहरूलाई पठाउनेछु।

14 आफूले नचिनेका देशमा म तिनीहरूलाई आफ्‍ना शत्रुहरूको सेवा गर्न लाउनेछु किनभने मेरो रिस आगोझैँ छ र त्‍यो सदा दन्‍किरहनेछ।”

15 तब मैले भनें, “हे परमप्रभु, तपाईंले सबै कुरा जान्‍नुहुन्‍छ। मेरो सम्‍झना गर्नुहोस् र मलाई मद्दत दिनुहोस्। मलाई सताउनेहरूको बदला लिन पाऊँ। तिनीहरूप्रतिको तपाईंको धैर्यको कारणले मैले प्राण गुमाउनुनपरोस्। तपाईंको खातिर मैले अपमान सहनुपरेको कुरा सम्‍झनुहोस्।

16 तपाईं मसित बोल्‍नुभयो अनि मैले तपाईंको हरेक वचन सुनें। हे परमप्रभु सर्वशक्तिमान् परमेश्‍वर, म तपाईंको हुँ र तपाईंका वचनहरूले गर्दा मेरो हृदय आनन्‍द र रमाहटले भरियो।

17 मैले आफ्‍नो समय अरू व्‍यक्तिहरूसित हाँस-खेल र मोजमा बिताइनँ। तपाईंले मलाई वशमा राख्‍नुभएको कारण म एक्लै बसिरहें र रीसले चुर भएको थिएँ।

18 मेरो कष्‍ट किन रोकिंदैन? मेरो चोट किन निको हुँदैन? किन बिसेक हुँदैन? सुकिजाने खहरे खोलाले जस्‍तै के तपाईंले मलाई धोका दिनुहुन्‍छ?”

19 परमप्रभुले जवाफ दिनुभयो, “तँ फर्किआइस् भने म तँलाई फेरि ग्रहण गर्नेछु र तँ फेरि मेरो सेवक बन्‍नेछस्। व्‍यर्थका कुरा गर्नुको सट्टामा तैँले अर्थ लाग्‍ने कुरा गरिस् भने तँ फेरि मेरो अगमवक्ता हुनेछस्। मानिसहरू तँतिर फर्किआओस् तर तँ तिनीहरूकहाँ नजा।

20 म तँलाई तिनीहरूका सामुन्‍ने एउटा काँसाको पर्खालझैँ बलियो बनाउनेछु। तिनीहरूले तेरो विरुद्धमा लडाइँ गर्नेछन् तर विजयी हुनेछैनन्। तेरो रक्षा गर्न र खतरादेखि बचाउन म तँसित रहनेछु।

21 म तँलाई दुष्‍ट र हिंस्रक मानिसहरूका हातबाट बचाउनेछु। म परमप्रभु बोलेको छु।”

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy