Online Bible

- Reklamy -

यर्मिया 14 - सरल नेपाली पवित्र बाइबल


भयानक खडेरी

1 खडेरीबारे परमप्रभुले मलाई यसो भन्‍नुभयो,

2 “यहूदाले विलाप गर्दै छ, त्‍यसका सहरहरू मासिँदै छन्, त्‍यहाँका बासिन्‍दाहरूले भूइँमा लडेर शोक गर्दै छन् र यरूशलेमका मानिसहरू मद्दतको लागि चिच्‍च्‍याइरहेका छन्।

3 धनीहरूले आफ्‍ना चाकरहरूलाई पानी भर्न पठाउँछन्। तिनीहरू पोखरीमा जान्‍छन् तर पानी पाउँदैनन्; तिनीहरू रित्तै भाँडा लिएर फर्कीआउँछन्। तिनीहरू निराश भई अलमल्‍ल परेर आफ्‍ना मुख लुकाउँछन्।

4 पानी नपरेकोले जमिन सुख्‍खा भएको छ। किसानहरूका मनमा पीर परेको छ र तिनीहरूले आफ्‍ना मुख लुकाउँछन्।

5 घाँस नभएकोले बनको मुडुली मृगले आफ्‍नो भर्खर जन्‍मेको बच्‍चालाई त्‍याग्‍छ।

6 जङ्गली गधाहरूले डाँडामाथि खडा भई स्‍यालझैँ स्‍वाँ-स्‍वाँ गर्दै सास फेर्छन्, घाँस नखाएकोले तिनीहरूका आँखा तिरीमिरी हुन्‍छन्।

7 मेरो प्रजाले यसो भन्‍दै मेरो पुकारा गर्दछ, ‘हाम्रा पापले हामीलाई नै दोषी ठहराए तापनि, हे परमप्रभु, आफ्‍नै नामको खातिर हामीलाई मद्दत गर्नुहोस्। धेरै पल्‍ट हामी तपाईंदेखि तर्किगएका छौं, तपाईंका विरुद्धमा हामीले पाप गरेका छौं।

8 तपाईं इस्राएलका एक मात्र आशा हुनुहुन्‍छ, तपाईंले हामीलाई विपत्तिबाट बचाउनुहुन्‍छ। किन तपाईं हाम्रो देशमा एउटा बिरानो मानिसझैँ हुनुभएको? किन एकै रात मात्र अडिने बटुवाझैँ हुनुभएको?

9 किन तपाईं अलमल्‍ल परेको मानिसझैँ अथवा केही मद्दत गर्न नसक्‍ने सिपाहीझैँ हुनुभएको? परमप्रभु, तपाईं अवश्‍य नै हाम्रो माझमा हुनुहुन्‍छ। हामी तपाईंका प्रजा हौं, हामीलाई नत्‍याग्‍नुहोस्।”

10 यी मानिसहरूबारे परमप्रभु यसो भन्‍नुहुन्‍छ, “तिनीहरू मदेखि टाढा हुन रुचाउँछन् र आफैंलाई वशमा राख्‍दैनन्। यसैले म तिनीहरूसित प्रसन्‍न छैनँ। म तिनीहरूका अधर्मका कामको सम्‍झना गर्नेछु र तिनीहरूका पापका निम्‍ति तिनीहरूलाई दण्‍ड दिनेछु।”

11 परमप्रभुले मलाई भन्‍नुभयो, “यी मानिसहरूका मद्दतको निम्‍ति मलाई बिन्‍ती नगर्‌।

12 तिनीहरू उपवास बसे तापनि म तिनीहरूको पुकारा सुन्‍नेछैनँ, तिनीहरूले मलाई होमबलि र अन्‍नबलि चढाए तापनि म तिनीहरूसित प्रसन्‍न हुनेछैनँ। बरु म तिनीहरूलाई लडाइँ, अनिकाल र रुढीले मार्नेछु।”

13 तब मैले उहाँलाई भनें, “हे सार्वभौम परमप्रभु, तपाईं जान्‍नुहुन्‍छ कि अगमवक्ताहरूले तपाईंका यस्‍ता प्रतिज्ञा छन् भनी मानिसहरूलाई भन्‍दछन् कि कुनै लडाइँ वा अनिकाल आउनेछैन तर हाम्रो देशमा सुख-शान्‍ति भइरहनेछ।”

14 तर परमप्रभुले मलाई जवाफ दिनुभयो, “अगमवक्ताहरूले मेरो नाममा झूटो कुरा बोल्‍दै छन्। मैले तिनीहरूलाई पठाएको होइनँ। तिनीहरूसित एक वचन बोलेको पनि छैनँ, नत कुनै आज्ञा दिएको छु। तिनीहरूले मैले दिंदै नदिएको झूटो दर्शनबारे बोल्‍दछन्। तिनीहरूका मनका व्‍यर्थका कल्‍पना, दर्शन र जोखना मात्रले तिनीहरूले अगमवाणी बोल्‍दछन्।

15 म परमप्रभुले तँलाई भन्‍दछु कि ती अगमवक्ताहरू, जसलाई मैले पठाएको होइनँ र पनि देशमा लडाइँ र अनिकाल आउनेछैन भनी तिनीहरू मेरो नाममा अगमवाणी बोल्‍छन्, म तिनीहरूलाई लडाइँ र अनिकालले नै नाश पार्नेछु।

16 अनि तिनीहरूले भविष्‍यवाणी सुनाएका मानिसहरूका लाश यरूशलेमका गल्‍लीहरूमा पडिरहनेछन् र ती गाड्‍न कोही मानिस हुनेछैन। तिनीहरू सबैका आफ्‍ना स्‍वास्‍नीहरू र छोरा-छोरीहरू समेतको त्‍यही गति हुनेछ। तिनीहरूलाई आफ्‍ना दुष्‍ट्याइँको फल आफैं भोग्‍न लाउनेछु।”

17 परमप्रभुले मलाई मेरो शोकबारे मानिसहरूलाई यसो भन्‍ने आज्ञा गर्नुभयो, “मेरा आँखाबाट दिनरात आँसु बगिरहोस्। त्‍यो कहिल्‍यै नथामियोस् किनभने मेरा प्रजालाई गहिरो चोट लागेको छ र तिनीहरूलाई ठूलो चोट परेको छ।

18 जब म मैदानमा जाँदछु, तब लडाइँमा मारिएका मानिसहरूका लाश देख्‍दछु। जब म सहरमा जाँदछु, मानिसहरू भोकले मरिरहेका देख्‍दछु। अगमवक्ताहरू र पूजाहारीहरू सबैले आ-आफ्‍ना काम त गरिरहेका छन्। तर तिनीहरूले के काम गरिरहेका छन्, त्‍यसको तिनीहरूलाई केही अत्तोपत्तो छैन।”


परमप्रभुलाई मानिसहरूको बिन्‍ती

19 हे परमप्रभु, के तपाईंले यहूदालाई बिलकुलै त्‍याग्‍नुभयो? के तपाईं सियोनका बासिन्‍दाहरूलाई तुच्‍छ ठान्‍नुहुन्‍छ? किन तपाईंले हामीलाई निको नहुने गरी चोट लाउनुभयो? हामीले त शान्‍ति खोजेका थियौं तर केही भलो कुरो पाएनौं। निको हुने समयको आशा गरेका थियौं तर आतङ्क पो आइलाग्‍यो।

20 परमप्रभु, हामीले तपाईंको विरुद्धमा पाप गरेका छौं, हामी आफ्‍ना पाप र हाम्रा पिता-पुर्खाका अपराध स्‍वीकार गर्दछौं।

21 आफ्‍नो नामको खातिर हामीलाई तुच्‍छ नठान्‍नुहोस्। तपाईंको महिमापूर्ण सिंहासनमाथि बदनाम नल्‍याउनुहोस्। हामीसित बाँधेको आफ्‍नो करार नतोड्‍नुहोस्।

22 अन्‍य जातिहरूका कुनै देव-देवताहरूले वर्षा ल्‍याउन सक्‍दैनन्। आकाश आफैंले झरी बर्साउन सक्‍दैन। हे परमप्रभु हाम्रा परमेश्‍वर, हामीले आफ्‍ना आशा तपाईंमाथि नै राखेका छौं किनभने यी सबै गर्नुहुने तपाईं नै हुनुहुन्‍छ।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy