यर्मिया 13 - सरल नेपाली पवित्र बाइबलसुतीको पटुका 1 परमप्रभुले मलाई भन्नुभयो, “गएर एउटा सुती पटुका किन् र त्यो कम्मरमा बाँध तर त्यसलाई पानीमा भिज्न नदे।” 2 यसकारण मैले सुती पटुका किनें र कम्मरमा बाँधें। 3 तब परमप्रभु मसित फेरि बोल्नुभयो र यसो भन्नुभयो, 4 “यूफ्रेटिस नदीमा गएर तेरा कम्मरको सुती पटुका चट्टानको बीच एउटा प्वालमा लुकाइराख्।” 5 तब गएर यूफ्रेटिस नदीछेउ मैले त्यो पटुका लुकाएँ। 6 केही समयपछि मलाई परमप्रभुले फेरि यूफ्रेटिस नदीमा गई त्यो सुती पटुका उठाई ल्याउने आज्ञा गर्नुभयो। 7 यसकारण म त्यहाँ फर्केर गएँ र पटुका लुकाइराखेको ठाउँमा हेर्दा त त्यो मक्किएको र कामै नलाग्ने भएको पाएँ। 8 तब परमप्रभु मसित फेरि बोल्नुभयो। उहाँले भन्नुभयो, 9 “म यसरी नै यहूदाको घमण्ड र यरूशलेमको ठूलो सेखी झारिदिनेछु। 10 यी दुष्ट मानिसहरूले मेरा आज्ञापालन गर्न इन्कार गरेका छन्। तिनीहरू सधैँभरि ढिट र दुष्ट रहेका छन् अनि विराना देवताहरूको पूजा र सेवा गरेका छन्। यसकारण अब तिनीहरू यो पटुकाजस्तै काम नलाग्ने हुनेछन्। 11 जसरी यो पटुका कम्मरमा टम्म कसिएर रहन्छ, त्यसरी नै इस्राएल र यहूदाका सबै मानिसहरू मसित मिलेर टाँसिरहून् र मेरो निजी प्रजा होऊन् अनि तिनीहरूबाट मेरो नामको प्रशंसा र आदर होस् भन्ने मेरो इच्छा थियो तर तिनीहरूले मेरो आज्ञा मानेनन्।” दाखमद्यको सुराही 12 परमप्रभु परमेश्वरले मलाई भन्नुभयो, “ए यर्मिया, इस्राएलका मानिसहरूलाई भन् कि दाखमद्यको प्रत्येक सुराही दाखमद्यले भरिनैपर्छ। तिनीहरूले तँलाई यसरी जवाफ दिनेछन्, ‘प्रत्येक दाखमद्यको सुराही दाखमद्यले भरिनुपर्छ भन्ने हामी जान्दछौं’। 13 त्यसपछि तिनीहरूलाई भन् कि यस देशका सबै मानिसहरूलाई दाऊदका सन्तानबाट राज्य गर्ने राजाहरू, पूजाहारीहरू, अगमवक्ताहरू र यरूशलेमका सबै बासिन्दाहरूलाई समेत म दाखमद्यले बेसरी मताइदिनेछु। 14 अनि त्यसपछि म तिनीहरूलाई बुढा-पाका र युवाहरू सबैलाई एकनास गरी आपसमा एउटालाई अर्कोसित जुधाएर मारिछोड्नेछु। कुनै दया, करुणा वा कृपाका कारणले म आफ्नो हात थाम्नेछैनँ।” घमण्डको विरुद्धमा चेतावनी 15 हे इस्राएलका मानिसहरू हो, नम्र भएर प्रभुको वचन सुन, परमप्रभु बोल्नुभएको छ। 16 उहाँले अन्धकार ल्याउनु, सामुन्नेका पहाडहरूमा तिमीहरूलाई ठेस लाग्न लाउनु र तिमीहरूले आशा गरेको ज्योतिलाई उहाँले अन्धकारमा बदली गर्नुअघि नै परमप्रभु आफ्ना परमेश्वरलाई आदर गर। 17 तर तिमीहरूले यी मेरा कुरा सुनेनौ भने तिमीहरूका घमण्डका कारणले म गुप्तमा रुनेछु। म धुरुधुरु रुनेछु र मेरा आँखाबाट आँसुका धारा बग्नेछन् किनभने परमप्रभुका प्रजा कैदमा लगिएका छन्। 18 परमप्रभुले मलाई भन्नुभयो, “राजा र राजमातालाई भन् कि तिनीहरू आफ्ना सिंहासनबाट उत्री आऊन् किनभने तिनीहरूका सुन्दर मुकुटहरू शिरबाट खसेका छन्। 19 यहूदाका दक्षिणी सहरहरू घेरामा परेका छन्, कोही तीभित्र जान सक्दैन। यहूदाका सबै मानिसहरू कैद गरी देशबाहिर लगिएका छन्।” 20 हे यरूशलेम, हेर्, तेरा शत्रुहरू उत्तरबाट आइरहेका छन्। तेरा जिम्मामा दिएको सुन्दर बगाल, जसमा तँ गर्व गर्थिस्, खोइ त्यो कहाँ छ? 21 तैँले आफ्ना मित्र सम्झेका मानिसहरू तँमाथि विजयी भई राज्य गर्न लाग्दा तैँले के भन्नेछस्? बच्चा जन्माउन लागेकी स्त्रीलाई सुत्केरी पीडा परेझैँ तँलाई पर्नेछ। 22 यस्तो कुरा किन तँमाथि आइपर्यो, किन तेरो फरिया च्यातियो र तेरो बलात्कार भयो भनी सोध्छस् भने यी कुराहरू तेरो घोर पापको कारणले भएको हो। 23 के कालो मानिसले आफ्नो छालाको रङ्ग बदल्न सक्छ? अथवा के चितुवाले आफ्ना छालाको थोप्ला बदल्न सक्छ? त्यसो भएता तिमीहरू, जसले दुष्ट्याइँ सिकेका छौ, भलाइ गर्न सक्नेथ्यौ। 24 मरुभूमिको बतासले भुस उडाएझैँ परमप्रभुले तिमीहरूलाई छरपष्ट पार्नुहुनेछ। 25 तेरो भाग्य यस्तै हुन्छ भनी उहाँले ठहराउनुभएको छ। उहाँले तँसित यस्तै गर्न निर्णय गर्नुभएको छ किनभने तैँले उहाँलाई बिर्सेको छस् र झूटा देवताहरूमाथि भरोसा राखेको छस्। 26 परमप्रभु आफैंले तेरा वस्त्र उतारिदिनुहुनेछ र तँलाई लाज लाग्नेछ। 27 उहाँले घृणा गरेका कुरा तैँले गर्दैगरेको उहाँले नै देख्नुभएको छ। तैँले डाँडा र मैदानतिर गरेको घिनलाग्दा कामहरू, तेरा व्यभिचार र वेश्यासँगको सम्बन्ध उहाँले देख्नुभएको छ। हे यरूशलेमका बासिन्दाहरू हो, तिमीहरू अवश्य नै विनाश हुनेछौ, तिमीहरू कहिले शुद्ध होऔला? |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society