Online Bible

- Reklamy -

यर्मिया 10 - सरल नेपाली पवित्र बाइबल


मूर्तिपूजा र साँचो आराधना

1 हे इस्राएलका मानिसहरू हो, परमप्रभुले तिमीहरूलाई के भन्‍दै हुनुहुन्‍छ, सुन।

2 उहाँ भन्‍नुहुन्‍छ, “अरू जातिहरूका चाला-माला नसिक। आकाशमा देखा पर्ने थरीथरीका दृश्यहरूदेखि तिनीहरू आत्तिन्‍छन् तर तिमीहरूचाहिँ नआत्तिओ।

3 ती जातिहरूका धर्म-कर्म बेकामका छन्। मानिसहरूले जङ्गलमा गई एउटा रूख ढाल्‍दछन् र सिकर्मीले आफ्‍नो औजारले त्‍यसलाई खोप्‍ने काम गर्दछ।

4 मानिसहरूले सुन र चाँदीले त्‍यसलाई सिँगार्छन्। किला ठोकेर त्‍यसलाई खडा गर्छन्।

5 त्‍यस्‍ता मूर्तिहरू त काँक्राबारीमा राखेका तर्साउने पुत्‍लाजस्‍ता मात्र हुन्‍छन्। तिनीहरू बोल्‍न सक्‍दैनन्। तिनीहरूलाई बोकिहिंड्‍नुपर्छ किनभने तिनीहरू हिंड्‍न सक्‍दैनन्। तिनीहरूदेखि नडराओ, तिनीहरूले तिमीहरूको केही खति गर्न सक्‍दैनन्, तिनीहरूले केही असल पनि गर्न सक्‍दैनन्।”

6 हे परमप्रभु, अरू कोही पनि तपाईंजस्‍ता छैनन्, तपाईं सामर्थी हुनुहुन्‍छ। तपाईंको नाम महान् र पराक्रमी छ।

7 हे जाति-जातिका राजा, कसले तपाईंको आदर गर्दैन र? तपाईं आदरयोग्‍य हुनुहुन्‍छ। जाति-जातिका ज्ञानी मानिसहरू अथवा उनीहरूका राजाहरूमध्‍ये कोही पनि तपाईंजस्‍तो छैन।

8 ती सबै बुद्धिहीन र मूर्ख छन्। काठका मूर्तिहरूबाट तिनीहरूले के सिक्‍न सक्‍छन् र?

9 तिनीहरूका मूर्तिहरू त कारिगरका हातका काम हुन्। सुनारले तर्शिश देशका चाँदी र उपज देशका सुनले मूर्तिहरू मोहोर्दछन्। तान बुन्‍ने सिपालु मानिसहरूले बुनेका नीला र बैजनी वस्‍त्र तिनीहरूलाई पहिराइदिन्‍छन्।

10 तर परमप्रभु, तपाईं त सत्‍य परमेश्‍वर हुनुहुन्‍छ, तपाईं जीवित परमेश्‍वर र अनन्‍तकालका राजा हुनुहुन्‍छ। तपाईं रिसाउनुहुँदा पृथ्‍वी थर्कमान हुँदछ। कुनै पनि जाति तपाईंको क्रोधको सामुन्‍ने टिक्‍न सक्‍दैन।

11 (तिमीहरूले ती मानिसहरूलाई भन कि ती देवताहरू, जसले आकाश र पृथ्‍वी बनाएनन्, नाश पारिनेछन्। आकाशमुनि पृथ्‍वीमा कहीं पनि तिनीहरूलाई रहने ठाउँ पाइनेछैन।)


परमेश्‍वरको स्‍तुति गान

12 परमप्रभुले पृथ्‍वीलाई आफ्‍नै सामर्थ्‍यले बनाउनुभयो, उहाँले आफ्‍नो बुद्धिद्वारा संसार सृजनुभयो, आफ्‍नो समझ-शक्तिले आकाश फैलाउनुभयो।

13 उहाँका आज्ञाले आकाशमा पानी गर्जन्‍छ, पृथ्‍वीको अन्‍तबाट उहाँले बादल ल्‍याउनुहुन्‍छ, उहाँले नै वर्षामा बिजुली चम्‍काउनुहुन्‍छ। उहाँले नै बतासको भण्‍डारबाट बतास चलाउनुहुन्‍छ।

14 मानिसहरू मूर्ख र बुद्धिहीन छन्, मूर्ति बनाउनेहरू शर्ममा पर्छन् किनभने तिनीहरूले बनाएका मूर्तिहरू झूटा र जीवनरहित छन्।

15 ती बेकामका र गिल्‍लाका थोक मात्र हुन्। परमप्रभु आउनुहुँदा तिनीहरू ध्‍वस्‍त हुन्‍छन्।

16 याकूबका परमेश्‍वर तिनीहरूजस्‍ता हुनुहुन्‍न, उहाँ नै सबै थोकहरू बनाउनुहुने हुनुहुन्‍छ र उहाँको नाम सर्वशक्तिमान् परमप्रभु हो। उहाँले नै इस्राएललाई आफ्‍नो भनी चुन्‍नुभएको छ।


आउन लागेको कैद

17 हे यरूशलेमका बासिन्‍दाहरू हो, तिमीहरू घेरामा परेका छौ! आफ्‍ना माल-सामान बटुल।

18 परमप्रभुले तिमीहरूलाई यस देशबाट बाहिर धपाउनुहुनेछ। एक जना पनि बाँकी नराखी उहाँले तिमीहरूलाई धुलोपिठो पार्नुहुनेछ। परमप्रभु बोल्‍नुभएको छ।

19 यरूशलेमका बासिन्‍दाहरू चिच्‍च्‍याए, “हामीलाई ठूलो चोट परेको छ! हाम्रो चोट निको हुनेछैन। हामीले यो सहन सकुँला भन्‍ठानेका थियौं।

20 हाम्रा पालहरू नष्‍ट भएका छन्, सबै डोरीहरू चुँडिएका छन्। हाम्रा बाल-बच्‍चाहरू सबै गइसके, हाम्रा पालहरू फेरि बनाइदिने र पर्दाहरू टाँगिदिने कोही छैन।”

21 मैले जवाफ दिएँ, “हाम्रा अगुवाहरू मूर्ख छन्। तिनीहरूले परमप्रभुको अगुवाइको निम्‍ति बिन्‍ती गर्दैनन्। त्‍यसैले तिनीहरू असफल भएका छन् र हाम्रा मानिसहरू तितर-बितर भएका छन्!

22 सुन, एउटा खबर आएको छ, उत्तरको एउटा देशमा ठूलो खैलाबैला भइरहेको छ। त्‍यसका सेनाहरू आएर यहूदाका सहरहरू उजाड पार्नेछन् र तिनलाई स्‍यालका ओडार बनाउनेछन्।”

23 हे परमप्रभु, मलाई थाहा छ कि मानिसको भाग्‍य उसको आफ्‍नै हातमा छैन, कसैको जीवन उसको आफ्‍नै वशमा छैन।

24 हे परमप्रभु, आफ्‍ना प्रजालाई तपाईंको न्‍यायअनुसार सुधार्नुहोस्। हामीहरूलाई आफ्‍नो रिसमा दण्‍ड नदिनुहोस्, नत्रता हामीहरू नष्‍ट हुनेछौं।

25 जुन-जुन जातिले तपाईंलाई पुज्‍दैनन् तर इन्‍कार गर्छन्, तिनीहरूमाथि आफ्‍नो रिस खन्‍याउनुहोस्। तिनीहरूले तपाईंका प्रजालाई नाश पारेका छन् र तिनीहरूले हाम्रो देश ध्‍वस्‍त पारी छोडिराखेका छन्।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy