न्यायकर्ता 2 - सरल नेपाली पवित्र बाइबलबोकीममा परमप्रभुको दूत 1 गिलगालदेखि बोकीममा परमप्रभुको दूत आए र इस्राएलीहरूलाई भने, “मैले तिमीहरूलाई मिश्रदेशबाट निकालेर तिम्रा पुर्खाहरूसँग प्रतिज्ञा गरेको देशमा ल्याएँ। मैले भनेको थिएँ कि तिमीहरूसँग मेरो करार म कहिले तोड्नेछैनँ, 2 त्यस देशका बासिन्दाहरूसँग कहिले तिमीहरूले कुनै करार नबाँध्नू र तिनीहरूका वेदी भत्काइदिनू। तर तिमीहरूले मैले भनेजस्तो गरेनौ। ठीक त्यसको उल्टो तिमीहरूले गरेका छौ। 3 यसकारण म तिमीहरूलाई भन्छु, तिमीहरू अघि बढ्दै आउँदा म यो प्रजालाई धपाउनेछैनँ। यिनीहरू तिम्रा शत्रु बन्नेछन् र तिनीहरूका देवता पुज्ने पासोमा तिमीहरू पर्नेछौ।” 4 दूतले यति भनेपछि सबै इस्राएलीहरू रुन लागे। 5 यसैले त्यो जग्गालाई बोकीम भनिन्छ। त्यहाँ परमप्रभुलाई तिनीहरूले बलिदान चढाए। यहोशूको मृत्यु 6 यहोशूले इस्राएललाई बिदा गरे र तिनीहरू हरेक आ-आफ्ना भागमा पर्ने जमिन अधिकार गर्न गए। 7 यहोशूको जीवनकालभरि इस्राएलका मानिसहरूले परमप्रभुको सेवा गरे। उनी मरेपछि पनि इस्राएलका निम्ति परमप्रभुले गर्नुभएका महान् कार्यहरू देख्ने प्रधान पुरुषहरू बाचुञ्जेलसम्म तिनीहरूले परमप्रभुको सेवा गर्दैरहे। 8 एक सय दश वर्षको उमेर पुग्दा नूनका छोरा अनि परमप्रभुको सेवक यहोशूको मृत्यु भयो। 9 तिम्नथ-हेरेसका उनको आफ्नै भागमा परेको जमिनमा उनी गाडिए। त्यो जमिन गाश डाँडाको उत्तरमा एफ्राइमको पहाडी देशमा पर्थ्यो। 10 यहोशूका पुस्ताका सबै मानिसहरू मरेर गए। त्यसपछिका पुस्ताले परमप्रभु र उहाँले इस्राएलीहरूका निम्ति गर्नुभएका सारा कामलाई बिर्से। इस्राएलीहरूले परमेश्वरलाई पुज्न छोड्छन् 11 तब इस्राएलीहरूले बालदेवतालाई पुज्न थाले र परमप्रभुको विरुद्धमा पाप गरे। 12 पिता-पुर्खाका परमेश्वर परमप्रभु, जसले तिनीहरूलाई मिश्रदेशदेखि उद्धार गर्नुभएको थियो, तिनीहरूले उहाँलाई पुज्न छोडे। अरू देवताहरू, आफ्ना चारैपट्टि बास गर्ने मानिसहरूका देवताहरू, तिनीहरूले पुज्न थाले। देवताहरूका अघि तिनीहरू शिर निहुराउँथे र परमप्रभुलाई क्रोधित गराउँथे। 13 परमप्रभुको भक्ति छोडेर बाल र अश्तोरेत देवतालाई तिनीहरूले पुज्थे। 14 यसकारण इस्राएलीहरूसँग परमप्रभु औधी रिसाउनुभयो र दुश्मन र डाँकाहरूलाई तिनीहरूमाथि लुटमार गर्न दिनुभयो। अनि उहाँले चारैतिरका शत्रुहरूलाई तिनीहरूमाथि दमन गर्नलाई छोडिदिनुभयो। इस्राएलीहरू अब आफ्नै रक्षा गर्न नसक्ने भए। 15 जतिचोटि तिनीहरू युद्ध गर्न निस्कन्थे, उहाँले भनेअनुसार परमप्रभु तिनीहरूका विरुद्धमा खडा हुनुहुन्थ्यो। इस्राएलीहरू महासङ्कष्टमा परे। 16 तब परमप्रभुले इस्राएलीहरूलाई यस्ता अगुवाहरू दिनुभयो, जसले तिनीहरूलाई आक्रमणकारीदेखि रक्षा गर्न सक्थे। 17 तर इस्राएलीहरूले ती अगुवाहरूको वास्ता गरेनन्। तिनीहरू परमप्रभुप्रति विश्वासयोग्य भएनन् र अन्य देवताहरू पुजिरहे। तिनका पिता-पुर्खाले परमप्रभुको आज्ञापालन गरेका थिए; तर नयाँ पिँढीले त्यसो गर्न छोड्यो। 18 जहिले-जहिले परमप्रभुले इस्राएलकहाँ अगुवा पठाइदिनुहुन्थ्यो, उहाँले उसलाई मद्दत गर्नुहुन्थ्यो र उसको जीवनकालभरि शत्रुहरूदेखि तिनीहरूको रक्षा गर्नुहुन्थ्यो। परमेश्वरले तिनीहरूमाथि कृपा गर्नुहुन्थ्यो किनभने पीडा र सङ्कष्टमा तिनीहरू विलाप गर्दै कराउँथे। 19 तर अगुवा मरेपछि इस्राएलीहरू पुराना चालमा नै फर्किजान्थे र पछिल्लो पीडा अघिल्लो पीडाभन्दा अझ दुष्ट हुन्थ्यो। तिनीहरू अरू देवता मान्थे अनि आफ्ना दुष्कर्ममा हठी बनेर लागिरहन्थे। 20 तब इस्राएलसँग खुबै रिसाएर परमप्रभुले भन्नुभयो, “मैले यिनका पिता-पुर्खालाई मान्नलाई दिएको करार यस जातिले तोडेको छ, यिनीहरूले मेरो आज्ञा मानेका छैनन्। 21 यसकारण यहोशूको मरणकालमा यस देशमा रहेका अरू जातिहरूलाई म अब धपाउनेछैनँ। 22 आफ्ना पिता-पुर्खाले जस्तै यी इस्राएलीहरूले मेरो आज्ञा मान्ने हुन् कि होइनन्, सो बुझ्नलाई म ती जातिहरूलाई काममा लाउनेछु।” 23 यसकारण परमप्रभुले ती जातिहरूलाई इस्राएली देशमा बस्न दिनुभयो। उहाँले यहोशूलाई तिनीहरूमाथि विजय गर्न दिनुभएन अनि उनको मृत्युपछि पनि परमेश्वरले तिनीहरूलाई चाँडै धपाउनुभएन। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society