याकूबको पत्र 5 - सरल नेपाली पवित्र बाइबलधनीहरूलाई चेतावनी 1 अब तिमी धनीहरू हो, मेरा कुरा सुन! तिमीहरूमाथि आइपर्ने दु:ख सम्झेर तिमीहरूले डाँको छोडी रुँदै विलाप गर। 2 तिमीहरूका धन-सम्पत्ति काम नलाग्ने भइसकेको छ। लुगाफाटामा लुगा खाने किरा लागिसकेको छ। 3 सुनचाँदीमा कस परिसकेको छ। त्यही कस नै तिमीहरूका विरुद्धमा साक्षी हुनेछ र आगोले झैँ त्यसले शरीरलाई नाश गर्नेछ। यी अन्तिम दिनहरूमा तिमीहरूले धन-सम्पत्ति थुपारेका छौ। 4 तिमीहरूका खेतमा काम गर्नेहरूलाई दिनुपर्ने ज्याला दिएका छैनौ। उनीहरूको बिलौना सुन। तिम्रा बाली उठाउने खेतालाहरूका रुवाइ सर्वशक्तिमान् परमप्रभु परमेश्वरको कानसम्म पुगिसकेको छ। 5 पृथ्वीमा तिमीहरूले खुब मोज-मज्जा गरेका छौ र काटी मारिने दिनको निम्ति तिमीहरू मोटाएका छौ। 6 विरोध पनि नगर्ने निर्दोषलाई दोष लगाएर तिमीहरूले मार्यौ। धैर्य र प्रार्थना 7 त्यसो हुँदा दाजुभाइहरू, प्रभु नआउञ्जेलसम्म धीरजी बस। हेर, खेती गर्नेले बहुमूल्य बाली उब्जाउन कति धीरज धर्छ। उसले वर्षा र हिउँदको पानी पर्खन्छ। 8 तिमीहरू पनि त्यसै गरी पर्खेर दह्रो भई बस। आफ्नो आशा नमार, प्रभु आउनुहुने दिन नजिकै छ। 9 दाजुभाइहरू, एक-अर्काको विरुद्धमा गनगन नगर। यसरी परमेश्वरले तिमीहरूलाई न्याय गर्नुहुनेछैन। ‘न्याय गर्नुहुने नजिकै हुनुहुन्छ र उहाँ आउन तयार हुनुभएको छ। 10 दाजुभाइहरू, धैर्य लिने र दु:ख सहनेहरूका नमुनाका रूपमा प्रभुका नाउँमा शिक्षा दिने अगमवक्ताहरूलाई सम्झ। 11 तिनीहरूलाई हामीले सुखी सम्झन्छौं, कारण तिनीहरूले अन्तसम्मै दिगो रहेर सहे। अय्यूबको धैर्यको बारेमा तिमीहरूले सुनेका छौ। आखिरमा प्रभुले कसरी उनलाई भरिदिनुभयो, त्यो पनि जान्दछौ। प्रभु दया र मायाले भरिएको हुनुहुन्छ। 12 मेरा दाजुभाइहरू, सबैभन्दा ठूलो कुराचाहिँ प्रतिज्ञा गर्दा शपथ कहिले पनि नहाल। स्वर्ग, पृथ्वी वा कुनै कुराको पनि नाउँ लिएर शपथ नहाल। हो भने हो भन्नू, होइन भने होइन भन्नू। त्यसो भए परमेश्वरले तिमीहरूलाई दोषी ठहराउनुहुन्न। 13 के तिमीहरूमध्ये कोही समस्यामा छ? उसले प्रार्थना गरोस्। कोही आनन्दित छ? उसले प्रशंसाको गीत गाओस्। 14 कोही बिरामी छ? उसले मण्डलीका गुरुहरूलाई बोलाओस् अनि उनीहरूले प्रभुको नाउँमा तेलले अभिषेक गरेर उसको लागि प्रार्थना गर्नेछन्। 15 विश्वाससँग गरेको प्रार्थनाले बिरामी निको हुन्छ अनि प्रभुले उसलाई बिसेक पार्नुहुन्छ। उसले पाप गरेको छ भने क्षमा पाउनेछ। 16 निको हुन आफूले गरेको पाप एक-अर्काको अघि मानिलेओ अनि एक-अर्काको लागि प्रार्थना गर। परमेश्वरको अघि ठीक ठहरिएका मानिसले गरेको प्रार्थना शक्तिशाली हुन्छ र यसले ठूलो काम गर्न सक्छ। 17 एलिया पनि हामीजस्तै मानिस थिए। तीन वर्ष छ महिनासम्म वर्षा नहोस् भनी उनले प्रार्थना गर्दा पानी परेन। 18 फेरि उनले प्रार्थना गरे अनि पानी पर्यो, पृथ्वी हराभरा भयो। 19 मेरा दाजुभाइहरू, कोही सत्यबाट बरालिएर गयो भने उसलाई फर्काएर ल्याओ। 20 तिमीहरूलाई थाहा होस्, एक जना पापीलाई उसको नराम्रो बाटोबाट फर्काउनेले त्यस मानिसको आत्मालाई मृत्युबाट बचाउनेछ अनि धेरै पापको क्षमा गराउँछ। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society