Online Bible

- Reklamy -

याकूबको पत्र 4 - सरल नेपाली पवित्र बाइबल


संसारसँग मित्रता

1 तिमीहरूका बीचमा लडाइँ र झैझगडा कहाँबाट आउँछन्? मोजमज्‍जा गर्ने चाहनाले होइन र? जुनचाहिँ तिमीहरूका मनभित्र तँछाड र मछाड गरिरहेका हुन्‍छन्।

2 आफूले चाहना गरेको कुरा नभेट्दा नै मारकाट चल्‍छ। तिमीहरूलाई कुनै कुरा नभई हुँदैन अनि त्‍यो पाउन नसक्‍दा लडाइँ र झैझगडा गर्छौ। परमेश्‍वरसँग नमागेकोले तिमीहरूले खोजेको कुरा पाउँदैनौ।

3 माग्‍यौ भने पनि तिमीहरू मोज-मज्‍जा गर्ने दुष्‍ट विचारले माग्‍छौ र पाउँदैनौ।

4 अविश्‍वासी मानिसहरू हो! संसारलाई माया गर्ने परमेश्‍वरको शत्रु हुन्‍छ भनी तिमीहरूलाई थाहा छैन? संसारलाई मित्र बनाउन खोज्‍नेले परमेश्‍वरलाई आफ्‍नो शत्रु बनाउँछ।

5 “परमेश्‍वरले हामीभित्र राखिदिनुभएको आत्‍माचाहिँ तृष्‍णाले भरिएको हुन्‍छ,” भन्‍ने धर्मशास्‍त्रमा लेखिएको कुरा व्‍यर्थको नठान।

6 तर उहाँले गर्नुभएको अनुग्रह अझ बलियो छ। धर्मशास्‍त्रमा लेखिएको छ, “परमेश्‍वरले घमण्‍डीहरूको विरोध गर्नुहुन्‍छ तर नम्रहरूमाथि अनुग्रह खन्‍याउनुहुन्‍छ।”

7 यसैकारण परमेश्‍वरको अधीनमा बस। शैतानको विरोध गर र त्‍यो तिमीहरूदेखि भाग्‍नेछ।

8 तिमीहरू परमेश्‍वरको नजिक आओ र परमेश्‍वर पनि तिमीहरूको नजिक आउनुहुनेछ। पापीहरू हो, आफ्‍ना हात धोई सफा गर। कपटीहरू हो, आफ्‍नो मन शुद्ध पार।

9 तिमीहरू रोओ, चिच्‍याओ र विलाप गर। तिमीहरूका हाँसोको खित्‍का रुवाइमा बदल। तिमीहरूका आनन्‍द दु:खमा बदलिओस्‌।

10 प्रभुको अघि नम्र बन र उहाँले तिमीहरूलाई उचाल्‍नुहुनेछ।


भाइप्रति निन्‍दा-विरुद्ध चेतावनी

11 दाजुभाइहरू, कसैको विरुद्ध नराम्रो नभन। आफ्‍ना विश्‍वासी दाजु वा भाइको विरुद्ध नराम्रो भन्‍ने र दोष लगाउने व्‍यक्ति व्यवस्थाकै विरोधमा बोल्‍छ र व्यवस्थालाई दोष लगाउँछ। तिमीले व्यवस्थाको न्‍याय गर्‍यौ भने तिमी यसको पालना गर्ने होइन तर न्‍याय गर्ने बन्‍छौ।

12 परमेश्‍वर मात्र व्यवस्था दिने र न्‍याय गर्ने हुनुहुन्‍छ। बचाउने र नाश गर्न सक्‍ने उहाँ मात्र हुनुहुन्‍छ। आफैंलाई के सम्‍झन्‍छौ र आफ्‍नो छिमेकीहरूलाई दोष लगाउँछौ?


घमण्‍डको विरुद्धमा चेतावनी

13 “आजै कि भोलि हामी कुनै सहर, बजारमा जाऔंला र एक वर्ष बसेर व्‍यापार गरौंला अनि धन कमाऔंला” भन्‍ने तिमीहरूले मेरो कुरा सुन।

14 भोलि के हुन्‍छ, तिमीहरू केही जान्‍दैनौ। तिमीहरू त एक छिन देखा पर्ने र बिलाएर जाने बाफजस्‍तै छौ।

15 तिमीहरूले भन्‍नुपर्ने कुरा त यसो हो, “परमेश्‍वरको इच्‍छा भयो भने हामी बाँचेर यो गरौंला वा त्‍यो गरौंला।”

16 तर तिमीहरू घमण्‍डी छौ र खुब धाक लगाउँछौ। यसरी घमण्‍ड गर्नु राम्रो होइन।

17 कसैले राम्रो गर्नुपर्छ भनी जानेर पनि त्‍यो गर्दैन भने उसलाई पाप लाग्‍छ।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy