Online Bible

- Reklamy -

याकूबको पत्र 3 - सरल नेपाली पवित्र बाइबल


जिब्रोलाई तह लाउने आदेश

1 मेरा भाइहरू, तिमीहरूमा धेरै जना शिक्षा दिनेहरू बन्‍न नखोज किनभने शिक्षा दिनेलाई अरूलाई भन्दा कडासँग न्‍याय हुन्‍छ भनी तिमीहरूलाई थाहै छ।

2 हामी सबैले धेरै भुल गर्दछौं। तर आफूले भनेका कुरामा गल्‍ती नै नगर्नेचाहिँ साँच्‍चै सिद्ध मानिस हो। त्‍यस्‍ता मानिसले नै आफूलाई वशमा राख्‍न सक्‍छ।

3 आफूले भनेको मानोस् भनेर घोडालाई लगाम लगाइदिन्‍छौं अनि जता मन लाग्‍यो, उतै हामी लैजान सक्‍छौं।

4 त्‍यसै गरी ठूलो जहाज पनि कडा बतासको वेगले गइरहेको भए पनि यसलाई साना कर्णधारले फनक्‍कै फर्काउन सक्‍छ। जहाज चालकले आफूले भनेतिर यसलाई फर्काउन सक्‍छ।

5 जिब्रो पनि यस्‍तै हो। यो यति सानो भएर पनि ठूला-ठूला कुराको घमण्‍ड गर्न सक्‍छ। सानोभन्दा सानो झिल्‍काले पनि ठूलोभन्दा ठूलो जङ्गलै डढेलो लाउन सक्‍छ।

6 जिब्रोचाहिँ आगोजस्‍तो हो। यो शरीरका अङ्‌गहरूमध्‍ये सबैभन्दा दुष्‍ट हो। यसले सिङ्गै शरीरमा कलङ्क लाउँछ। यसले नरकको आगो लिएर हाम्रो पूरै जिन्‍दगीमा आगो लगाउँछ।

7 मानिसले सबै जङ्गली पशु-पक्षी वा जीवजन्‍तुलाई तह लाउन सक्‍छ र तह लाएको पनि छ।

8 तर जिब्रोलाई कसैले पनि तह लाउन सकेको छैन। जिब्रोचाहिँ दुष्‍ट, तह नलाग्‍ने र डरलाग्‍दो विषले भरिएको हुन्‍छ

9 अनि हामीहरूले हाम्रा परमेश्‍वर पितालाई यही जिब्रोले धन्‍यवाद दिन्‍छौं र यही जिब्रोले फेरि परमेश्‍वरको स्‍वरूपमा सृष्‍टि गरिएको मानिसलाई श्राप दिन्‍छौं।

10 एउटै मुखबाट प्रशंसा र गाली पनि निस्‍कन्‍छ। मेरा भाइहरू, यस्‍तो हुनुहुँदैन!

11 के एउटै मुहानबाट तीतो र मीठो पानी निस्‍कन्‍छ?

12 मेरा भाइहरू, अञ्‍जीरको बोटमा भद्राक्ष फल्‍न सक्‍दैन अनि अङ्‌गुरको बोटमा अञ्‍जीर फल्‍न सक्‍दैन। नुनिलो पानीको मुहानबाट मीठो पानी उम्रन सक्‍दैन।


माथिबाटको बुद्धि

13 तिमीहरूका बीचमा कोही बुद्धिमानी र बुझ्झकी मानिस छ भने उसले त्‍यो आफ्‍नो असल चालचलनबाट र बुद्धिमानीसँग काम गरेर देखाउनुपर्छ।

14 तर यदि तिमीहरूका मनमा तीतोपना, आरिस र स्‍वार्थ छ भने आफ्‍नो बुद्धिको घमण्‍ड गरेर सत्‍यको विरुद्धमा पाप नगर।

15 यस्‍तो बुद्धि माथि परमेश्‍वरबाट आएको होइन, यो त यहीं तल उब्‍जेको संसारकै अनि शैतानको बुद्धि हो।

16 जहाँ आरिस र स्‍वार्थ छ, त्‍यहाँ सबै किसिमका गोलमाल र सबै किसिमका दुष्‍ट कुराहरू हुन्‍छन्।

17 तर माथिबाट आएको बुद्धि त चोखो, शान्‍ति दिने, सोझो र मिलनसार हुन्‍छ। यस्‍तो बुद्धि दया नै दयाले भरिएको हुन्‍छ अनि असल कामको फल फलाउँछ। यो पक्षपाती र कपटी हुँदैन।

18 शान्‍ति ल्‍याउनेले मेलमिलापको काम गरेर धार्मिकताको फल फलाउँछ।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy