Online Bible

- Reklamy -

यशैयाको पुस्तक 65 - सरल नेपाली पवित्र बाइबल


विद्रोहीहरूमाथि परमेश्‍वरको दण्‍ड

1 परमप्रभुले भन्‍नुभयो, “म मेरा प्रजाले मलाई खोजी गरेको चाहन्‍थें तर तिनीहरूले खोजी गरेनन्। तिनीहरूले मलाई भेट्टाऊन् भनी म तयार थिएँ तर तिनीहरूले भेट्टाउने चेष्‍टा नै गरेनन्। तरै पनि मेरो पुकारा नगर्ने जातिलाई ‘म यहाँ छु,’ भनी मैले भनें।

2 मेरो प्रजालाई स्‍वागत गर्न म सदा तयार रहेको छु तर मेरा प्रजा ढिट भई जे खराब छ, त्‍यही गर्दछ र आफ्‍नै बाटोमा जाँदछ।

3 तिनीहरूले लाज नमानी मलाई रिस उठाइरहन्‍छन्। तिनीहरूले पूजा-स्‍थलमा बलिहरू चढाउँदछन् र मूर्ति पुज्‍ने वेदीमा धूप बाल्‍दछन्।

4 राती तिनीहरू गुफाहरूमा र चिहानहरूमा मरेका आत्‍माहरूसित कुरा गर्न जान्‍छन्। तिनीहरूले सुँगुरको मासु खान्‍छन् र अशुद्ध कुराको झोल बनाई पिउँछन्।

5 अनि अरू मानिसहरूलाई तिनीहरूले भन्‍छन्, ‘तिमीहरू हाम्रो नजिक नआओ। हामी तिमीहरूभन्दा पवित्र छौं!’ म त्‍यस्‍ता मानिसहरूलाई सहन सक्‍दिनँ। तिनीहरू मेरो लागि दिनभरि बल्‍ने आगो र वाक्‍क पार्ने धुवाँजस्‍ता हुन्।

6 “तिनीहरूलाई कस्‍तो सजायँ दिनुपर्ने हो, मैले अघि नै निर्णय गरिसकेको छु, मेरो फैसला लेखिसकेको छु। म अब चुप रहनेछैनँ। म तिनीहरूलाई पूरा साटो फेर्नेछु।

7 तिनीहरूका पापका निम्‍ति र तिनीहरूका पुर्खाका निम्‍ति साटो फेर्नेछु। तिनीहरूले डाँडाका मूर्ति पुज्‍नेहरूका पूजा-स्‍थलहरूमा धूप बालेका छन् र मेरा विरुद्धमा कुरा गरेका छन्। बितेका दिनका तिनीहरूका पाप सुहाउँदो म तिनीहरूलाई दण्‍ड दिनेछु।”

8 परमप्रभु भन्‍नुहुन्‍छ, “कसैले राम्रा दाख नष्‍ट गर्दैन तर सट्टामा तिनीहरूले आफ्‍नो लागि दाखमद्य बनाउँछ। म पनि आफ्‍नो सारा प्रजालाई मार्नेछैनँ, मेरो सेवा गर्नेहरू जतिलाई म बचाउनेछु।

9 यहूदाका कुलमा भएका इस्राएलीहरूलाई म आशीर्वाद दिनेछु र तिनीहरूका सन्‍तानले मेरा पहाडी मुलुक अधिकार गर्नेछन्। मेरा चुनेका प्रजा, जसले मेरो सेवा गर्छ, त्‍यहाँ बसोबास गर्नेछन्।

10 तिनीहरूले मलाई खोजी गर्नेछन् र पश्‍चिममा शारोनको मैदान अनि पूर्वमा आकोरको बेसी तिनीहरूका भेडा र गाई-गोरुहरू चराउने चरन हुनेछ।

11 “तर मलाई त्‍याग्‍नेहरू, जसले मेरो पवित्र डाँडा सियोनको वास्‍ता गर्दैनन् र भाग्‍यका देवताहरू गाद र मेनीलाई पुज्‍नेछन्,

12 तिनीहरूको भाग्‍यमा मैले निष्‍ठुर मृत्‍यु लेखिदिएको छु किनभने मैले बोलाउँदा तिमीहरूले जवाफ दिएनौ वा म बोल्‍दा मेरो कुरा सुनेनौ। मेरो आज्ञा नमान्‍न र दुष्‍कर्म गर्न नै तिमीहरूले रोज्‍यौ।

13 यसकारण म तिमीहरूलाई भन्‍दछु कि जसले मलाई पुज्‍दछन् र मेरा आज्ञा मान्‍दछन्, तिनीहरूले प्रशस्‍त खान-पान पाउनेछन् तर तिमीहरूचाहिँ भोका र प्‍यासा हुनेछौ। तिनीहरू खुसी हुनेछन् तर तिमीहरूको अपमान हुनेछ।

14 तिनीहरू आनन्‍दले गाउनेछन् तर तिमीहरू टुटेका हृदय लिएर रुनेछौ।

15 मेरो चुनेको प्रजाले तिमीहरूको नाम सरापका रूपमा चलाउनेछन्। म सार्वभौम परमप्रभुले तिमीहरूलाई मार्नेछु। तर मेरा आज्ञा मान्‍नेहरूलाई म एउटा नयाँ नाम दिनेछु।

16 यस देशमा जसले आशिष् माग्‍दछ, त्‍यसले विश्‍वासयोग्‍य परमेश्‍वरबाट आशिष् पाउनेछ। जसले शपथ खाँदछ, त्‍यसले विश्‍वासयोग्‍य परमेश्‍वरको नाममा शपथ खानेछ। बिगत दिनका दु:खहरू बितिजानेछन् र बिर्सिजानेछन्।”


नयाँ सृष्‍टि

17 परमप्रभु भन्‍नुहुन्‍छ, “म नयाँ पृथ्‍वी र नयाँ आकाश बनाउनेछु। बितेका दिनका कुराहरूको बिलकुलै सम्‍झना गरिनेछैन।

18 म जे सृजना गर्छु, त्‍यसमा सधैँ आनन्‍द गर र रमाओ। मैले सृजना गरेको नयाँ यरूशलेम आनन्‍दले भरिभराउ हुनेछ र त्‍यहाँका बासिन्‍दाहरू खुसी रहनेछन्।

19 यरूशलेम र त्‍यसका बासिन्‍दाहरूका कारणले म आफैं पनि खुसी हुनेछु। त्‍यहाँ रोएका वा सहायता मागेका सोर सुनिनेछैन।

20 “बच्‍चाहरू सानैमा मर्नेछैनन्‌, सबै मानिसहरूले पूरा आयु पाउनेछन्। सय वर्ष पुग्‍नेहरू जवान ठानिनेछन्। त्‍योभन्दा अघि मर्नुचाहिँ मेरो दण्‍डको चिनो हुनेछ।

21-22 मानिसहरू घर बनाएर आफैं बास गर्नेछन्, तिनीहरूलाई धपाएर त्‍यहाँ अरू कोही बास गर्न पाउनेछैन। तिनीहरूले दाखबारी लाउनेछन् तर दाखमद्य आफैं पिउनेछन्, त्‍यो अरूले पिउन पाउनेछैन। मेरा मानिसहरू, रूखझैँ धेरै दिन बाँच्‍नेछन्। आफ्‍ना मेहनतका फलको तिनीहरूले पूरा आनन्‍द लिनेछन्।

23 तिनीहरूले हात हालेका काममा तिनीहरू सफल हुनेछन् र तिनीहरूका छोरा-छोरीहरू विपत्तिमा पर्नेछैनन्। तिनीहरू र तिनीहरूका सन्‍तानलाई म आउँदा दिनमा सदासर्वदा आशिष् दिनेछु।

24 तिनीहरूले मलाई प्रार्थना गर्नु अघि नै म तिनीहरूको प्रार्थनाको उत्तर दिनेछु।

25 ब्‍वाँसाहरू र थुमाहरूले एकसाथ खानेछन्। सिंहहरूले गाई-गोरुहरूले झैँ पराल खानेछन् र सर्पहरूले धुलो खानेछन् र तिनीहरूले केही हानि गर्नेछैनन्। हे सियोन, मेरो पवित्र डाँडामा केही दुष्‍ट वा हानि गर्ने कुरा रहनेछैन।”

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy