Online Bible

- Reklamy -

यशैयाको पुस्तक 63 - सरल नेपाली पवित्र बाइबल


जातिहरूमाथि परमप्रभुको विजय

1 “एदोमको बोज्राको त्‍यो सहरबाट आउने को हुन्? यो उज्‍ज्‍वल रातो दाग लागेको वस्‍त्र लाउने र प्रताप र बलसित फौजी चालमा हिँड्‍ने को हुन्?” “उहाँ बचाउन सामर्थी परमप्रभु हुनुहुन्‍छ, जो आफ्‍नो विजयको घोषणा गर्न आउँदै हुनुहुन्‍छ।”

2 “उहाँको वस्‍त्र किन यस्‍तो रातो, किन खुट्टाले दाख कुल्‍चेर दाखमद्य बनाउने मानिसको वस्‍त्रजस्‍तो?”

3 परमप्रभुले जवाफ दिनुहुन्‍छ, “जाति-जातिलाई मैले दाखझैँ पैतलाले दलें र कोही मलाई मद्दत गर्नै आएन। रिसमा मैले तिनीहरूलाई कुल्‍चें र तिनीहरूका रगतका दाग मेरा वस्‍त्रभरि लागेका छन्।

4 मेरा प्रजालाई बचाउने समय आइपुगेको छ भनी मैले पक्‍का गरें, तिनीहरूका शत्रुहरूलाई दण्‍ड दिने समय आइसकेको थियो।

5 जब मैले हेरें र मलाई सहायता गर्न आउने कसैलाई देखिनँ, तब मलाई अचम्‍म लाग्‍यो। तर मेरो रिसले मलाई बलवान् बनायो र म आफैंले मेरा मानिसहरूको उद्धार गरें।

6 रिसमा मैले जाति-जातिहरूलाई पैतलाले कुल्‍चें र चकनाचुर पारें। मैले तिनीहरूको रगत भूइँमा पोखाइदिएँ।”


इस्राएलप्रति परमप्रभुको कृपा

7 परमप्रभुको अचुक प्रेमबारे म भन्‍नेछु, उहाँले हाम्रो निम्‍ति जे-जति गर्नुभयो, तिनको निम्‍ति म उहाँको प्रशंसा गर्दछु। आफ्‍ना कृपा र अटुट प्रेमको कारणले उहाँले इस्राएलका मानिसहरूलाई प्रचुर आशिष् दिनुभएको छ।

8 परमप्रभु भन्‍नुहुन्‍छ, “तिनीहरू मेरा निज मानिस हुन्, तिनीहरूले मलाई धोका दिनेछैनन्।” यसैकारण उहाँ तिनीहरूका उद्धारकर्ता हुनुभयो।

9 तिनीहरूलाई बचाउने एउटा स्‍वर्गदूत होइन तर परमप्रभु आफैं हुनुहुन्‍थ्‍यो। आफ्‍नो प्रेम र करुणामा उहाँले तिनीहरूको उद्धार गर्नुभयो। बितेका दिनमा उहाँले सधैँ तिनीहरूको हेरचाह गर्नुभएथ्‍यो।

10 तर तिनीहरूले उहाँसित विद्रोह गरे र उहाँको पवित्र आत्‍मालाई दु:खित तुल्‍याए। यसकारण परमप्रभु तिनीहरूका शत्रु हुनुभयो र तिनीहरूसित लडाइँ गर्नुभयो।

11 तर तिनीहरूले बितेका दिन परमप्रभुको सेवक मोशाका दिनलाई याद गरे र यसरी प्रश्‍न गरे, “तिनीहरूका अगुवासमेत समुद्रबाट आफ्‍ना प्रजालाई बचाउनुहुने परमप्रभु अहिले कहाँ हुनुहुन्‍छ? आफ्‍नै आत्‍मा मोशालाई दिनुहुने परमप्रभु कहाँ हुनुहुन्‍छ?

12-13 आफ्‍नो शक्तिले मोशाद्वारा महान् कार्यहरू गर्नुहुने, समुद्रको पानीलाई दुई भागमा छुटाउनुभएर त्‍यसको बीचबाट आफ्‍ना प्रजालाई डोर्‍याउनुहुने र आफ्‍नो निम्‍ति अमर कीर्ति कमाउनुहुने परमप्रभु कहाँ हुनुहुन्‍छ?” परमप्रभुको अगुवाइमा तिनीहरूका पाउ जङ्गली घोडाका पाउझैँ ठक्‍कर नखाने भएका छन् र तिनीहरूलाई कहिल्‍यै ठेस लागेन।

14 जसरी गाई-गोरुलाई मैदानमा लैजान्‍छन्, त्‍यसरी नै परमप्रभुले आफ्‍ना प्रजालाई विश्राम दिनुभयो। उहाँले आफ्‍ना प्रजाको अगुवाइ गर्नुभयो र आफ्‍ना नाम सम्‍मानित पार्नुभयो।


कृपा र सहायताको निम्‍ति प्रार्थना

15 हे परमप्रभु, स्‍वर्गबाट हामीलाई हेर्नुहोस्, जहाँ तपाईं आफ्‍नो पवित्रता र महिमामा विराजमान् हुनुहुन्‍छ। हाम्रो निम्‍ति तपाईंको त्‍यो ठूलो वास्‍ता कहाँ गयो? तपाईंको शक्ति खोइ? तपाईंका प्रेम र करुणा कता गए? हामीलाई नदेखेझैँ नगर्नुहोस्।

16 तपाईं हाम्रा बुबा हुनुहुन्‍छ। हाम्रा पुर्खा अब्राहामले हामीलाई चिन्‍दैनन् र याकूबले हामीलाई स्‍वीकार गर्दैनन् तर हे परमप्रभु, तपाईं हाम्रा बुबा, सधैँ हाम्रो उद्धार गर्नुहुने पिता हुनुहुन्‍छ।

17 किन हामीलाई तपाईंको मार्ग छोडेर कुबाटोतिर लाग्‍न दिनुहुन्‍छ? किन हामीलाई यति ढिट बन्‍न दिनुहुन्‍छ कि हामी तपाईंको आदर गर्दैनौं? फर्किआउनुहोस्, तपाईंको सेवा गर्नेहरूका खातिर, सदा तपाईंको निज प्रजा हुनेहरूको खातिर आउनुहोस्।

18 हामी तपाईंका पवित्र जनहरू, केही समयको लागि हामी आफ्‍ना शत्रुहरूका हातमा पर्‍यौं, तिनीहरूले हाम्रा मन्‍दिर कुल्‍चे।

19 हामी तपाईंका प्रजा होइनौं, तपाईं हाम्रा राजा हुनुहुन्‍न भनेझैँ गरी तपाईं हामीसित व्‍यवहार गर्नुहुन्‍छ।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy