यशैयाको पुस्तक 53 - सरल नेपाली पवित्र बाइबल1 “अब जे हामी बयान दिन्छौं, त्यो कसले विश्वास गर्छ र? यस कुरामा परमप्रभुको हात छ भनी कसले देख्ला र? 2 उहाँको अघि सुख्खा जमिनमा एउटा बिरूवाले, जरा हालेझैँ ऊ बढ्यो। उसमा केही मान-मर्यादा वा सुन्दरता थिएन, उसमाथि हाम्रो आँखा परेन पनि। उसको बारेमा कुनै आकर्षित कुरा थिएन, उसका कुनै कुराले हाम्रो मन खिच्न सकेन। 3 हामीले उसलाई तुच्छ ठान्यौं र अस्वीकार गर्यौं, उसले दु:ख र कष्ट सह्यो। कसैले पनि ऊतिर हेरेन, हामीले उसलाई केही नठानी ध्यानै दिएनौं। 4 “निश्चय नै उसले हाम्रा कष्टहरू सह्यो, हाम्रो दु:ख भोग्यो। तर उसले दु:ख-कष्ट भोगेको त उसमाथि परमेश्वरको दण्ड परेको हो भनी हामीले ठान्यौं। 5 तर हाम्रा पापका कारणले ऊ घाइते भयो, हाम्रा अधर्मका कारणले उसले चुटाइ खायो। उसले दण्ड भोगेको कारणले हामीले सुख-शान्ति पायौं, उसको कोर्राको चोटले हामी निको भयौं। 6 हामी सबै बाटो बिराएका भेडाहरूझैँ थियौं, हामी बरालिएर आफ्नै सुरमा हिँड्थ्यौं, तर हामी सबैमाथि पर्नुपर्ने दण्ड परमप्रभुले उसमाथि पारिदिनुभयो। 7 “ऊसित रूखो व्यवहार गरियो तर त्यो उसले नम्र भएर सह्यो, उसले मुखबाट एउटा शब्द पनि निकालेन। काटिन आँटेको थुमाझैँ, ऊन कत्रन लागेका भेडाझैँ उसले आफ्नो मुख खोलेन। 8 उसमाथि अत्याचार भयो र दण्ड दिई मार्न लगियो र उसका सन्तानबारे कसले बोल्ला? कारण उसलाई जीवितहरूको देशबाट हटाइयो, मेरा मानिसहरूका पापको लागि उसमाथि कुटाइ पर्यो 9 दुष्टहरूसित ऊ चिहानमा राखियो, धनीहरूसित गाडियो, तथापि उसले कहिल्यै कुनै अपराध गरेको थिएन, कहिले झूट बोलेको थिएन। 10 “तरै पनि उसलाई चोट दिनु र कष्ट सहन लाउनु परमप्रभुको इच्छा थियो। परमप्रभुले उसको जीवनलाई पाप काट्ने बलिदान बनाउनुभएको भए पनि उसले आफ्ना सन्तान देख्नेछ र परमेश्वरको योजना ऊद्वारा सफल हुनेछ। 11 कष्टको जीवन भोगेपछि उसले जीवनको ज्योति देख्नेछ र सन्तुष्ट हुनेछ। आफ्नो ज्ञानद्वारा मेरो धर्मी सेवकले धेरैको पापको दण्ड बोक्नेछ र उसले तिनीहरूलाई क्षमा गर्नेछ। 12 यसैकारण म उसलाई एउटा इज्जतको स्थान दिनेछु र सामर्थीहरूसँग उसले जितेको माल बन्डा लाउनेछ। उसले राजी-खुसीका साथ आफ्नै प्राण दियो र दुष्टहरूका साथमा गनियो। उसले धेरै पापीहरूको सट्टामा आफ्नो प्राण दियो र तिनीहरूले क्षमा पाऊन् भनी बिन्ती गर्यो।” |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society