यशैयाको पुस्तक 48 - सरल नेपाली पवित्र बाइबलपरमप्रभु भविष्यका परमेश्वर 1 हे इस्राएलका मानिसहरू हो, यो सुन। तिमी, यहूदाका सन्तानले यो सुन। तिमीहरूका परमप्रभुको नाममा किरिया खान्छौ, र इस्राएलका परमेश्वरलाई पुज्छौ भनी भन्छौ, तर तिमीहरूले साँचो र ठीकसँग यी गर्दैनौ। 2 तापनि “हामी पवित्र सहरका बासिन्दा हौं र सर्वशक्तिमान् परमप्रभु नाम भएका इस्राएलका परमेश्वरमाथि हामी भर पर्दछौं” भन्दै तिमीहरू घमण्ड गर्छौ। 3 परमप्रभुले इस्राएललाई भन्नुहुन्छ, “के-के हुनेछन् भनी मैले अघिबाट नै भनेको थिएँ र अचानक ती सबै पूरा गरें। 4 म भन्दछु कि तिमीहरू ढिट हुनेछौ, फलामझैँ कडा र काँसाझैँ नदोब्रिने हुनेछौ। 5 यसैले कुन घटना कहिले हुनेछ भनी ती घटना हुनुअघि नै बताइदिएर मैले तिमीहरूको भविष्यबाट धेरै दिनअघि भनिदिएको थिएँ। हाम्रा देवता र मूर्तिहरूले ती गराएका हुन् भनी तिमीहरूले दाबी गर्न नसक भनेर मैले त्यसो गरेको हुँ। 6 “मैले पहिलेबाटै भनेका कुराहरू अहिले भइसके, मेरा अगमवाणीहरू ठीक थिए भनी तिमीहरूले स्वीकार गर्नैपर्छ। अब म तिमीहरूलाई हुन आउने नयाँ कुराहरूबारे भन्नेछु। मैले तिमीहरूलाई यी कुराहरूबारे पहिले केही बताएको थिइनँ। 7 पहिले कहिल्यै नघटेका घटनाहरू अब मात्र मैले तिमीहरूलाई देखाउन लागेको छु। नत्रता, हामीले यी सबै जानेकै थियौं भनी तिमीहरूले दाबी गर्नेथियौ। 8 म जान्दथें कि तिमीहरूमा भरोसा गर्न सकिंदैनँ र तिमीहरू विद्रोही हौ भन्ने कुरा थाहा भएकै हो। त्यसैकारण यीबारे तिमीहरूले केही सुनेनौ, एउटा शब्द पनि तिम्रा कानमा पुगेनन्। 9 “मानिसहरूले मेरो प्रशंसा गरून् भनी मैले आफ्नो रिस थामेको छु। म रिस थाम्नेछु र तिमीहरूलाई नाश पार्नेछैनँ। 10 आगोको भट्टीमा चाँदी खारेझैँ मैले दु:ख-कष्टको आगोमा तिमीहरूको पारख गरेको छु। तर मैले तिमीहरूलाई निकम्मा भेटाएँ। 11 म जे गर्दछु, आफ्नै खातिर गर्दछु, म मेरा नामको अपमान हुन दिन्नँ र मेरा गौरव कसैसित बाँड्नेछैनँ।” इस्राएलको निम्ति परमप्रभुको योजना 12 परमप्रभु भन्नुहुन्छ, “हे इस्राएल, मैले बोलाएको प्रजा, मेरा कुरा सुन! म पहिलो, अन्तिम र एक मात्र परमेश्वर हुँ! 13 मेरा हातले पृथ्वीका जग बसालें र आकाश फैलाएँ। जब म पृथ्वी र आकाशलाई बोलाउँदछु, तिनीहरू झट्टै आएर हाजिर हुन्छन्। 14 “तिमीहरू सबै भेला होओ र सुन! मैले चुनेका मानिसले बेबिलोनमाथि आक्रमण गर्छ भनी कसैले अघिबाट भन्न सकेन, म जे चाहन्छु, त्यो त्यसले गर्नेछ। 15 त्योसित कुरा गर्ने र त्यसलाई बोलाउने म नै हुँ, मैले त्यसलाई डोर्याएर ल्याएँ र सफलता दिएँ। 16 “अब मेरो नजिक आओ र मेरा कुरामा कान थाप। सुरुदेखि नै मैले कुरा खोलेर गरेको छु र मेरा कुरा सदा पूरा गराएको छु।” (अब सार्वभौम परमप्रभुले आफ्नो आत्मा मलाई दिएर पठाउनुभएको छ।) 17 इस्राएलका पवित्र परमेश्वर तिमीहरूलाई बचाउनुहुने परमप्रभु यसो भन्नुहुन्छ, “म तिमीहरूकै भलाइको निम्ति शिक्षा दिने र तिमीहरू हिँड्नुपर्ने मार्गमा जान आदेश दिने परमप्रभु तिमीहरूका परमेश्वर हुँ। 18 “यदि तिमीहरूले मेरा आज्ञाहरू मानेका मात्र भए त कहिल्यै नसुक्ने नदीझैँ तिमीहरूको निम्ति सुख-शान्तिको नदी बग्नेथियो! समुद्रका किनारमा पानीका छाल उठेझैँ, उद्धार तिमीहरूकहाँ आउनेथियो। 19 तिमीहरूका सन्तानहरू बालुवाका कणझैँ असङ्ख्य हुनेथिए र मैले तिनीहरू कहिल्यै नाश नहोऊन् भनी निश्चय गर्नेथिएँ।” 20 बेबिलोनबाट निस्किआओ, स्वतन्त्र भएर जाओ! आनन्दसाथ कराएर खबर देओ, यो सबैलाई सुनाओ: “परमप्रभुले आफ्नो सेवक इस्राएललाई बचाउनुभएको छ!” 21 जब परमप्रभुले आफ्ना प्रजालाई तातो र सुख्खा मरुभूमिबाट पार गराउनुभयो, तब तिनीहरूलाई तिर्खाको पीर पर्दैन। उहाँले तिनीहरूको निम्ति चट्टानबाट पानी निकालिदिनुभयो। उहाँले चट्टान फुटाउनुभयो र त्यहाँबाट पानी बगी निस्क्यो। 22 “पापीहरूलाई सुख-शान्ति छैन,” परमप्रभु भन्नुहुन्छ। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society