Online Bible

- Reklamy -

यशैयाको पुस्तक 46 - सरल नेपाली पवित्र बाइबल

1 “बेबिलोनका देवताहरूको अन्‍त यही हो! एक समयमा बेल र नेबो देवताको पूजा गरिन्‍थ्‍यो, तर अहिले ती गधाहरूमाथि लादिएका छन्, थाकेका पशुहरूका पिठ्युँमा ती बोझ बनेका छन्।

2 मूर्तिहरूले आफैंलाई बचाउन सक्‍दैनन्, ती कब्‍जा गरिएर लगिंदै छन्। बेबिलोनका देवी-देवताहरूको अन्‍त यही हो!

3 “हे याकूबका सन्‍तानहरू हो, मेरो कुरा सुन। मेरा प्रजाबाट बाँकी रहेका सबैले सुन। तिमीहरू जन्‍मेको घडीदेखि मैले तिमीहरूको हेरचाह गरेको छु।

4 म तिमीहरूका परमेश्‍वर हुँ, तिमीहरू बुढो भएर केश पाक्‍दा पनि म तिमीहरूको हेरचाह गर्नेछु। मैले तिमीहरूलाई बनाएँ र तिमीहरूको हेरचाह गर्नेछु, म तिमीहरूलाई मद्दत गर्नेछु र छुटकारा दिनेछु।

5 “तिमीहरू मलाई कोसँग तुलना गर्नेछौ?” परमप्रभु सोध्‍नुहुन्‍छ, “के मजस्‍तो अरू कोही छ?

6 मानिसहरूले आफ्‍ना थैलाहरू खोल्‍छन् र सुन निकाल्‍छन्, तराजुमा चाँदी जोख्‍छन्। सुनारलाई ज्‍याला दिएर देवताको मूर्ति बनाउन लगाउँछन् र घोप्‍टेर त्‍यसलाई पुज्‍छन्!

7 तिनीहरूले त्‍यसलाई काँधमा लिएर बोक्‍छन्, त्‍यसका ठाउँमा राख्‍छन् र त्‍यो त्‍यहाँ खडा रहन्‍छ। त्‍यहाँबाट त्‍यो यताउता सर्न सक्‍दैन। कसैले त्‍यसलाई प्रार्थना गर्‍यो भने त्‍यसले उत्तर दिन सक्‍दैन वा कुनै आपत्-विपत्तिबाट जोगाउन सक्‍दैन।

8 “हे पापीहरू हो, याद राख। मैले के गरें, सो विचार गर।

9 धेरै अघि नै के भएको थियो, त्‍यो याद गर। म मात्र परमेश्‍वर हुँ र अरू कोही मजस्‍तो छैन भनी स्‍वीकार गर।

10 सुरुदेखि नै अन्‍तिम नतिजा के हुने हो, मैले अघिबाटै भनिसकेको छु, मैले भनेको थिएँ कि मेरा युक्तिहरू सफल हुनेछन् र आफ्‍नो इच्‍छाअनुसार म सबै कुरा गर्नेछु।

11 मैले एउटा मानिसलाई पूर्वबाट बोलाएको छु, बाजझैँ झम्‍टेर आउनेछ र मेरो युक्ति पूरा गरिदिँदछ। म बोलेको छु र यो हुन्‍छ नै।

12 “ए ढिट मानिसहरू हो, मेरो कुरा सुन। उद्धार टाढै छ भनी तिमीहरू ठान्‍छौ।

13 म उद्धारको दिन नजिक ल्‍याउँदै छु, त्‍यो टाढा छँदैछैन। मेरो उद्धार ढीलो हुनेछैन, म यरूशलेमलाई बचाउनेछु र इस्राएललाई आदर दिनेछु।”

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy