यशैयाको पुस्तक 4 - सरल नेपाली पवित्र बाइबल1 त्यो समय आएपछि सात जना आइमाईहरूले एक जना पुरुषलाई समातेर भन्नेछन्, “हामी आफ्नो भोजन खानेछौं र आफ्नो लुगाफाटा लाउनेछौं, केवल तिमी नै हाम्रा लोग्ने हौ भनेर हामीलाई भनिदेओ र हाम्रा निन्दा हामीले सुन्नुपर्नेछैन।” यरूशलेमको पुन:र्निर्माण हुनेछ 2 यस्तो समय आउँछ कि परमप्रभुले देशमा हरेक बोट-बिरुवा र रूखहरू ठूला र सुन्दर गरी उमार्नुहुनेछ। सबै बाँचेका इस्राएलीहरू जमिनका उब्जनीमा रमाउनेछन् र गर्व गर्नेछन्। 3 यरूशलेममा छोडिएका सबै मानिसहरू, जसलाई परमप्रभुले बचाएर राख्नलाई छान्नुभएको छ, तिनीहरू पवित्र कहलाइनेछन्। 4 परमप्रभुले सियोनका स्त्रीहरूको मैला धुनुहुनेछ र उहाँले इन्साफको आत्मा र आगोको आत्माद्वारा यरूशलेमबाट रगतका दाग शुद्ध गर्नुहुनेछ। 5 तब सियोन पर्वत र त्यहाँ भेला भएका मानिसहरूमाथि परमप्रभुले दिउँसो बादल र राती धुवाँ र उज्ज्वल ज्वाला पठाउनुहुनेछ। सारा सहरलाई परमेश्वरको महिमाले ढाक्नेछ र रक्षा गर्नेछ। 6 उहाँको महिमाले सहरमाथि दिउँसोको गर्मीमा ओझेल दिनेछ र त्यसलाई आँधी र वर्षाबाट जोगाएर सुरक्षित स्थान बनाउनेछ। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society