यशैयाको पुस्तक 2 - सरल नेपाली पवित्र बाइबलअनन्त शान्ति 1 आमोजक छोरो यशैयालाई यहूदा र यरूशलेमबारे परमेश्वरले दर्शनमा दिनुभएको सन्देश यही हो: 2 आउँदा दिनमा परमप्रभुको मन्दिर बसालिएको पर्वत सबैभन्दा उच्च पर्वत हुनेछ। त्यो सबै डाँडाहरूभन्दा अग्लो हुनेछ। सबै जातिहरू ओइरिएर त्यहाँ आउनेछन् 3 र ती मानिसहरूले यसो भन्नेछन्, “हामी परमप्रभुको पर्वत उक्लेर इस्राएलका परमेश्वरको मन्दिरमा जाऔं। उहाँले हामीलाई हामीले गर्नुपर्ने काम सिकाई दिनुहुनेछ। उहाँले खटाउनुभएको बाटोमा हामी हिँड्नेछौं किनभने परमप्रभुको शिक्षा यरूशलेमबाट आउँदछ र सियोनबाट फैलिनेछ र उहाँ आफ्ना प्रजासँग बोल्नुहुनेछ।” 4 जातिहरू बीचका मुद्दाहरू उहाँले छिनोफानो गर्नुहुनेछ। तिनीहरूले आ-आफ्ना तरवार पिटेर हलोको फाली र भाला पिटेर हँसिया बनाउनेछन्। जाति-जातिहरूका बीच लडाइँ हुनेछैन, तिनीहरूले फेरि कहिल्यै युद्धको तयारी गर्नेछैनन्। 5 अब हे याकूबका सन्तान हो, परमप्रभुले दिनुभएको ज्योतिमा हामी हिँडौं! अहङ्कारी नाश गरिनेछ 6 हे परमेश्वर, तपाईंले आफ्ना प्रजा याकूबका सन्तानलाई त्याग्नुभएको छ! त्यो देश पूर्वका र पलिश्तीहरूका जादूगरीका रीतिथितिले भरिएको छ। त्यहाँका बासिन्दाहरूले विदेशीहरूसँग सम्बन्ध राख्छन्। 7 तिनीहरूको देश सुन र चाँदीले भरिएको छ र तिनीहरूलाई धनको केही कमी छैन। तिनीहरूको देश घोडाहरूले भरिभराउ छ र तिनीहरूका रथहरूको केही हिसाबै छैन। 8 तिनीहरूको देश मूर्तिले भरिएको छ र तिनीहरूले आफ्ना हातले बनाएका मूर्तिको पूजा गर्दछन्। 9 त्यसले गर्दा सबैको अपमान र बदनाम हुनेछ। हे परमप्रभु, तिनीहरू कसैलाई क्षमा नगर्नुहोस्! 10 परमप्रभुको क्रोधबाट बाँच्न र उहाँका महिमा र शक्तिबाट लुक्न तिनीहरू चट्टान र पहराका गुफामा पस्नेछन्। 11 त्यो दिन आउँदै छ, जब मानिसको घमण्डको अन्त हुनेछ र अहङ्कार नाश हुनेछ। तब परमप्रभुको मात्र बढिबढाउ हुनेछ। 12 त्यस दिन सर्वशक्तिमान् परमप्रभुले शक्तिशाली, घमण्डी र अहङ्कारी हरेकको सेखी झार्नुहुनेछ। 13 उहाँले लेबनानका अग्ला देवदारुहरू र बाशान देशका सारा फलाँटका रूखहरू नाश गर्नुहुनेछ। 14 अग्ला पर्वत र डाँडाहरू उहाँले सम्म पार्नुहुनेछ। 15 हरेक धरहरा र हरेक किल्लाका पर्खाल उहाँले होच्याउनुहुनेछ। 16 सबैभन्दा ठूलो र सुन्दर जहाजलाई पनि उहाँले समुद्रमा डुबाउनुहुनेछ। 17-18 मानिसको घमण्ड अन्त हुनेछ, शेखी झर्नेछ। मूर्तिहरू सम्पूर्ण लोप हुनेछन् र त्यस दिन परमप्रभुको मात्र बढिबढाउ हुनेछ। 19 जब परमप्रभु पृथ्वीमा थर्कमान गर्न आउनुहुन्छ, तब उहाँको क्रोधबाट बाँच्न र उहाँका महिमा र शक्तिबाट लुक्न मानिसहरू चट्टान र पहराका गुफामा वा जमिनमा खाल्डो खनी त्यसभित्र पस्नेछन्। 20 त्यो दिन तिनीहरू आफूले बनाएका सुन र चाँदीका मूर्तिहरू फ्याँकेर छुचुन्द्रा र चमेराहरूको अघि छोडिदिनेछन्। 21 पृथ्वीलाई थर्कमान पार्न परमप्रभु आउनुहुँदा मानिसहरू उहाँको क्रोधबाट बाँच्न र उहाँका महिमा र शक्तिबाट लुक्न पहराका ध्वान्द्रा र गुफाहरूमा पस्नेछन्। 22 एक मुट्ठी मात्र सास हुने मानिसमा भरोसा नगर, त्यसको के मूल्य छ र? |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society