Online Bible

- Reklamy -

हिब्रू 6 - सरल नेपाली पवित्र बाइबल

1 ख्रीष्‍टका बारेमा सुरु-सुरुका शिक्षाहरूमा मात्र नरहेर अलिक गहकिलो र पाको शिक्षातिर लागौं, कामै नलाग्‍ने कुराहरूबाट मन फर्काएर परमेश्‍वरलाई विश्‍वास गर्ने शिक्षामा मात्रै लागिरहने होइन।

2 धेरै किसिमका बप्‍तिस्‍माको बारेमा सिक्‍ने कुरा, कसैमाथि हात राख्‍ने र मरेकोबाट बिउँतने कुरा र आखिरी न्‍यायका कुराहरूमा मात्र लागिरहेर विश्‍वासको जग फेरि बसाल्‍ने शिक्षामा लागिनरहौं।

3 हामी अघि बढौं, परमेश्‍वरको इच्‍छा भयो भने हामी यी कुरा गर्नेछौं।

4 एक पल्‍ट परमेश्‍वरको उज्‍यालो पाएका, स्‍वर्गको वरदान पनि चाखेका, पवित्र आत्‍माको भाग पनि पाएका,

5 परमेश्‍वरको शिक्षाको मीठो स्‍वाद पाएका, आउने युगका लागि गरिने परमेश्‍वरका शक्तिशाली कामहरू देखेका

6 मानिस भएर पनि परमेश्‍वरलाई फेरि छोडेर जानेहरूलाई पश्‍चात्ताप गराएर परमेश्‍वरकहाँ फर्काउन सकिंदैन! किनभने यस्‍ताहरूले त परमेश्‍वरको छोरालाई फेरि दोस्रोपल्‍ट क्रूसमा झुण्‍ड्याउँछन् र सबैका अगाडि उहाँको बेइज्‍जत गर्दछन्।

7 पानीले जमिन भिजाउँछ। खेती गर्नेलाई चाहिएको अन्‍न दिन्‍छ। त्‍यस जमिनलाई परमेश्‍वरले आशिष् दिनुहुन्‍छ।

8 तर काँडा र सिउँडी मात्र त्‍यस जमिनले उर्माछ भने त्‍यो बेकामे हुन्‍छ। यस्‍तो जमिनमा त परमेश्‍वरको सराप पर्ने डर हुन्‍छ र अन्‍तमा डढेलो लागेर भस्‍म हुनेछ।

9 प्रियहरू, हामीले यसरी बोले तापनि तिमीहरूको बारेमा चाहिँ राम्रो कुराको आशा राखेका छौं। मुक्ति पाएर तिमीहरूले धेरै राम्रा कुराहरू पाउनेछौ।

10 तिमीहरूले परमेश्‍वरका भक्तहरूलाई सेवा गर्‍यौ र अझै गरिरहेका छौ। परमेश्‍वर अन्‍यायी हुनुहुन्‍न। तिमीहरूले गरेका यी सेवा र प्रेमलाई उहाँले बिर्सनुहुनेछैन।

11 तिमीहरू सबैको यही जोश आखिरी समयसम्‍म रहिरहोस् र तिमीहरूको आशा पूरा हुनेछ, यही हाम्रो कामना छ।

12 तिमीहरू अल्‍छी नहोओ, तर विश्‍वास गरेर प्रतिज्ञा गरेका कुराहरू पाउनेहरूजस्‍तै होओ भन्‍ने हामी चाहन्‍छौं।


परमेश्‍वरको प्रतिज्ञाको निश्‍चयता

13 परमेश्‍वरले अब्राहामसँग प्रतिज्ञा गर्नुहुँदा आफूभन्दा ठूलो कोही नभएकोले उहाँले आफ्‍नै नाउँ लिएर शपथ खानुभयो।

14 उहाँले भन्‍नुभयो, “म तिमीलाई साँच्‍चै आशिष् दिनेछु, तिम्रा सन्‍तानहरू धेरै-धेरै बनाइदिनेछु।”

15 अब्राहामले धीरज गरेर पर्खे अनि परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको आशिष् पाए।

16 कुनै मानिसले शपथ खाँदा भनेको कुरा पक्‍का होस् भनी आफूभन्दा ठूलाको नाउँमा शपथ खान्‍छन् र शपथले वाद-विवाद मिलाउँछ।

17 परमेश्‍वरको प्रतिज्ञा पाउनेहरूलाई आफूले गरेको प्रतिज्ञा निश्‍चित छ भनी देखाउन उहाँले शपथ पनि खानुभयो।

18 अब दुई कुरा छन्, जो फेरिँदैनन् र यस विषयमा परमेश्‍वरले ढाँट्‍नुहुन्‍न। यसकारण उहाँकहाँ सुरक्षा लिन जाने हामीहरूको अघि राखिएको आशालाई दिगो भएर समातिरहन हामीले ठूलो उत्‍साह पाउँछौं।

19 यही आशामाथि हाम्रो जीवन अडिएको छ। यो साँचो र पक्‍का छ। यो स्‍वर्गीय मन्‍दिरको पर्दादेखि महापवित्र स्थानसम्‍म जान्‍छ।

20 हाम्रो लागि येशू हामीभन्दा अघि नै त्‍यस ठाउँमा गएर बसिसक्‍नुभएको छ। मल्‍कीसेदेक पूजाहारीजस्‍तै उहाँ सधैँको लागि प्रधान पूजाहारी हुनुभएको छ।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy