हिब्रू 2 - सरल नेपाली पवित्र बाइबलमहान् मुक्ति 1 त्यसकारण हामीले सुनेका परमेश्वरको सत्यतामा हामीले एकदमै राम्ररी ध्यान दिनुपर्छ र यसरी हामीले बाटो बिराउनेछैनौं। 2 उहिले स्वर्गदूतहरूले हाम्रा पुर्खाहरूलाई सुनाएका परमेश्वरको शिक्षा सत्य ठहरिए अनि ती नमान्ने र नटेर्नेहरूले पाउनुपर्ने सजाय पाए। 3 यति ठूलो मुक्तिलाई नै वास्ता गरेनौं भने झन् कसरी हामी उम्कौंला र? यो मुक्ति पहिले प्रभुले नै प्रचार गर्नुभयो। उहाँको प्रचार सुन्नेहरूले यो सत्य हो भनी हामीलाई प्रमाण दिए। 4 परमेश्वरले पनि चिन्हहरू देखाएर धेरै किसिमका अचम्म र शक्तिशाली कामहरू गर्नुभयो अनि आफ्नो खुसीले पवित्र आत्माका वरदानहरू बाँडिदिएर यो मुक्तिलाई सत्य ठहराउनुभयो। मुक्तिमा डोर्याउनुहुने 5 हामीले कुरा गरिरहेको आउँदो संसारलाई परमेश्वरले स्वर्गदूतहरूको अधीनमा राख्नुभएको छैन। 6 धर्मशास्त्रमा कुनै एक ठाउँमा यसरी भनिएको छ, “मानिस के हो र तपाईंले उसको फिक्री गर्नुहुन्छ? मानिसको छोरो के हो र तपाईंले उसको वास्ता राख्नुहुन्छ? 7 “तपाईंले केही समयको लागि मानिसलाई स्वर्गदूतभन्दा सानो बनाउनुभयो। उसलाई महिमा र आदरको मुकुट लाइदिनुभयो। 8 सबै कुरा उसैको अधीनमा राखिदिनुभयो।” यहाँनेर भनिएको छ, “परमेश्वरले सबै कुरा मानिसको अधीनमा राखिदिनुभयो। यसको अर्थ हुन्छ कि उसको अधीनमा नभएको कुनै कुरा पनि छैन।” हुन त अहिले हामी सबै कुरा मानिसको अधीनमा भएको देख्दैनौं। 9 तर हामी केही बेरको लागि स्वर्गदूतभन्दा अलिकति सानो हुनुभएको येशूलाई देख्छौं। परमेश्वरको अनुग्रहले गर्दा नै उहाँ सबैका लागि मरिदिनुभयो। बलिदान भएर मरिदिनुभएकोले उहाँले महिमा र आदरको मुकुट पाउनुभएको छ। 10 सृष्टिका सबै कुरा परमेश्वरबाट र उहाँकै लागि बनिएका छन्। धेरै छोरा-छोरीसँग आफ्नो सम्मान् बाँड्नुहुने परमेश्वरको निम्ति मुक्ति दिने येशूलाई दु:ख-भोगद्वारा सिद्ध पार्न उचित थियो। 11 मानिसलाई पवित्र बनाउनुहुने येशू र पवित्र बनाइएका सबैका एउटै पिता छन्। यसैकारण येशू आफैंले पवित्र बनाउनुभएकाहरूलाई ‘भाइहरू’ भन्न अप्ठ्यारो मान्नुहुन्न। 12 उहाँ भन्नुहुन्छ, “म मेरा भाइहरूका माझमा तपाईंको नाउँ सुनाउनेछु। म मण्डलीको बीचमा तपाईंको स्तुति गराउनेछु।” 13 फेरि उहाँ भन्नुहुन्छ, “म परमेश्वरमा नै भर पर्छु।” अनि फेरि भन्नुहुन्छ, “हेर, म परमेश्वरले मलाई दिनुभएका यी छोरा-छोरीहरूसँग छु।” 14 ती छोरा-छोरी रगत र मासुको शरीर भएकाले येशू पनि तिनीहरूजस्तै मासु र रगत भएको मानिस हुनुभयो। उहाँ आफैंले मृत्यु भोग्नुभएर मृत्युको शक्ति भएको शैतानलाई नाश पार्नुभयो। 15 अनि मर्नुपर्छ भन्ने डरले जीवनभरि बन्धनमा परेकाहरूलाई छुटकारा दिनुभयो। 16 स्वर्गदूतहरूको लागि यो गरिदिनुभएको होइन। यो त अब्राहामका सन्तानकै लागि गर्नुभएको हो। 17 त्यसैले सबै कुरामा उहाँ आफ्नै दाजुभाइहरूजस्तो बन्नुपर्यो। यसरी नै परमेश्वरको सेवामा मानिसको पापको क्षमा माग्न भरपर्दो र दयालु प्रधान पूजाहारी बन्नुभयो। 18 उहाँ आफैंले पनि धेरै जाँचमा परेर दु:ख भोग्नुभएको हुनाले अब जाँचमा पर्नेहरूलाई मद्दत गर्न सक्नुहुन्छ। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society