हिब्रू 1 - सरल नेपाली पवित्र बाइबल1 उहिलेको समयमा परमेश्वर अगमवक्ताहरूका मुखबाट धेरै किसिमले धेरै पटक हाम्रा पुर्खाहरूसँग बोल्नुभयो। 2 तर यी अन्तिम दिनहरूमा उहाँ आफ्ना पुत्रद्वारा हामीसँग बोल्नुभएको छ। परमेश्वरले ख्रीष्टबाट नै जगत्को सृष्टि गर्नुभयो अनि सबै सृष्टिका सबै कुराको जिम्मा दिन उहाँलाई नै छान्नुभयो। 3 परमेश्वरको ठूलो उज्यालो उहाँमा चम्कन्छ। उहाँ परमेश्वरको साँचो रूप हुनुहुन्छ। उहाँको शक्तिशाली वचनले नै आकाश र पृथ्वीका सबै कुरा अडिएका छन्। मान्छे जातिलाई पापबाट क्षमा दिलाउने काम सकेपछि उहाँ सर्वोच्च परमेश्वरको दाहिनेपट्टि बस्नुभएको छ। परमेश्वरका पुत्रको महान्ता 4 स्वर्गदूतहरूभन्दा पुत्र महान् हुनुहुन्छ किनभने परमेश्वरले उहाँलाई स्वर्गदूतहरूलाई भन्दा पनि अति उच्च नाउँ दिनुभयो। 5 परमेश्वरले कुनै स्वर्गदूतलाई यसो भन्नुभएन, “तिमी मेरा पुत्र हौ, आज मैले तिमीलाई जन्माएको छु।” फेरि के कुनै स्वर्गदूतको बारेमा यसरी भन्नुभएको छ र, “म तिनका पिता हुनेछु, तिनी मेरा पुत्र हुनेछन्।” 6 परमेश्वरले आफ्ना प्रथम जन्मेकालाई पृथ्वीमा पठाउनुहुँदा भन्नुहुन्छ, “मेरा सबै स्वर्गदूतहरूले उनलाई पुजून्।” 7 स्वर्गदूतहरूका बारेमा चाहिँ यसरी भनिएको छ, “परमेश्वरले आफ्ना स्वर्गदूतहरूलाई बतास बनाउनुहुन्छ। अनि आफ्ना काम गर्नेहरूलाई आगोका ज्वाला बनाउनुहुन्छ।” 8 तर पुत्रको बारेमा परमेश्वर भन्नुहुन्छ, “हे परमेश्वर, तपाईंको राज्य सधैँभरि रहनेछ। तपाईंले न्यायसँग राज्य गर्नुहुन्छ। 9 ठीक कुरा तपाईं मन पराउनुहुन्छ र झूटो कुरालाई तपाईंले घृणा गर्नुहुन्छ। त्यसैकारण परमेश्वरले, अँ, तपाईंका परमेश्वरले तपाईंलाई छान्नुभयो अनि तपाईंका साथीहरूभन्दा कता हो कता बढ्ता सम्मानको आनन्द तपाईंलाई दिनुभयो।” 10 उहाँले फेरि भन्नुभयो, “प्रभु, सुरुमा तपाईंले नै पृथ्वीको जग बसाल्नुभयो। तपाईंले आफ्नै हातले आकाशहरू बनाउनुभयो। 11 ती सबै फेरि बिलाएर जानेछन्। तर तपाईं त सधैँ रहनुहुन्छ। सृष्टि त पुराना लुगाजस्तै च्यातिएर जानेछ, 12 तपाईंले तिनीहरूलाई लुगाजस्तै गरी बेर्नुहुन्छ अनि तिनीहरू लुगाजस्तै फेरिनेछन्। तर तपाईं त सधैँ एकैनास रहनुहुन्छ। तपाईं कहिल्यै मर्नुहुनेछैन।” 13 कुनचाहिँ स्वर्गदूतलाई परमेश्वरले यसो भन्नुभयो र, “तिम्रो शत्रुलाई तिम्रो अघि नझुकाएसम्म तिमी मेरो दाहिनेपट्टि बस।” 14 स्वर्गदूतहरूचाहिँ के हुन् त? परमेश्वरको सेवा गर्ने आत्माहरू मात्र हुन्। उहाँले नै तिनीहरूलाई मुक्ति पाउनेहरूलाई सघाउनको लागि पठाउनुहुन्छ। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society