Online Bible

- Reklamy -

उत्पत्ति 9 - सरल नेपाली पवित्र बाइबल


नोआसँग परमेश्‍वरको करार

1 परमेश्‍वरले नोआ र उनका छोराहरूलाई आशिष् दिनुभयो र भन्‍नुभयो, “तेरा धेरै छोरा-छोरीहरू होऊन् र तेरा सन्‍तान पृथ्‍वीभरि बास गरून्।

2 सबै पशु-पंक्षी र माछाहरूले तेरा डर मान्‍नेछन्, ती सबै तेरा अधिकारमा दिइएका छन्।

3 ती कुराहरू तिमीहरू अब खान सक्‍नेछौ, जसरी तिमीहरूले हरिया सागपात खान्‍छौ। म ती सबै तिम्रा आहारका निम्‍ति दिँदछु।

4 आलो रगत भएको मासुचाहिँ तिमीहरूले नखानू किनभने रगतमा जीवन हुन्‍छ र यसैले त्‍यो नखानू।

5 कसैले मानिसको प्राण लियो भने त्‍यसले दण्‍ड पाउनेछ। कुनै पशुले मानिसको प्राण लियो भने म त्‍यसलाई पनि मार्नेछु।

6 मानिस परमेश्‍वरको रूपमा बनिएको छ, यसैले कसैले मानिसको हत्‍या गर्‍यो भने त्‍यसको हत्‍या पनि मानिसबाटै हुनेछ।

7 “तेरा धेरै छोरा-छोरी होऊन्‌ र तेरा सन्‍तानले सारा पृथ्‍वीभरि बास गरून्।”

8 परमेश्‍वरले नोआ र उनका छोराहरूलाई भन्‍नुभयो,

9 “अब तिमी र तिम्रा सन्‍तानसित र

10 सबै जिउँदा प्राणीहरूसित सम्‍पूर्ण पंक्षी र पशुहरूसित र नाउबाट तिमीसँग निस्‍किआउने हरथोकसित यो करार बाँध्‍नेछु।

11 यो शब्‍दमा म तिमीहरूसित करार बाँध्‍नेछु ‘फेरि कहिल्‍यै पनि सबै जिउँदा प्राणीहरू जलप्रलयको भलले नाश हुनेछैनन्, फेरि कहिल्‍यै पनि पृथ्‍वी जलप्रलयबाट नाश गरिनेछैन’।

12 मैले तिमीहरूसित र सम्‍पूर्ण जिउँदा प्राणीहरूसित सदाकालका लागि गरेको करारको चिनोको रूपमा

13 म मेरो धनु बादलमा राख्‍नेछु, जो मैले संसारसँग गरेका करारको चिनो हुनेछ।

14 जहिले-जहिले म आकाश बादलले ढाक्‍दछु र त्‍यहाँ इन्‍द्रेणी देखा पर्दछ,

15 तब म प्रलयका भलले फेरि कहिल्‍यै पनि सबै जिउँदा प्राणीहरूलाई नाश गर्नेछैनँ भनी तिमीहरू र सम्‍पूर्ण पशुहरूसित गरेको आफ्‍नो करारलाई याद गर्नेछु।

16 जब बादलमा इन्‍द्रेणी देखा पर्दछ, म त्‍यसलाई देखेर आफूले पृथ्‍वीका सबै जिउँदा प्राणीहरूसित सदाकालको लागि गरेको करारलाई याद गर्नेछु।

17 मैले सबै जिउँदा प्राणीहरूसित गरेको करारको चिनो यही हो।”


नोआ र तिनका छोराहरू

18 नाउबाट निस्‍किआउने नोआका छोराहरू शेम, हाम र येपेत थिए। (हाम कनानका बुबा थिए)।

19 नोआका यी तीन छोराहरू पृथ्‍वीका सबै मानिसहरूका पुर्खा भए।

20 नोआ एक किसान थिए, दाखबारी लाउने पहिलो मानिस उनी नै थिए।

21 केही दाखमद्य पिएपछि उनी माते, आफ्‍ना लुगाहरू फुकाले र पालभित्र नाङ्गै सुते।

22 कनानका बुबा हामले आफ्‍ना बुबालाई नाङ्गै देखी बाहिर गएर आफ्‍ना दुवै दाजुहरूलाई त्‍यो कुरा भने।

23 तब शेम र येपेतले एउटा लुगा लिए र काँधमा हालेर आफ्‍ना ढाडमा बोके। दुवै भाइ पछि सर्दै गएर पालभित्र पसे र बुबालाई लुगा ओढाइदिए। बुबाको नाङ्गो रूप देख्‍ननपरोस् भनेर तिनीहरूले आफ्‍नो अनुहार अर्कोपट्टि फर्काए।

24 नोआलाई निद्राले छोडेपछि जब उसले कान्‍छा छोराले आफूसँग गरेको व्‍यवहार थाहा पाए,

25 तब उनले भने, “कनानमाथि सराप परोस्, त्‍यो आफ्‍ना दाजुहरूको कमारो हुनेछ।

26 परमप्रभु शेमका परमेश्‍वरलाई प्रशंसा गर! कनान शेमको कमारो हुनेछ।

27 परमेश्‍वरले येपेतलाई बढाऊन्! त्‍यसका सन्‍तानले शेमका सन्‍तानसित बास गरून्, कनान येपेतको कमारो हुनेछ।”

28 जलप्रलयपछि अरू ३५० वर्ष नोआ बाँचे

29 र ९५० वर्ष उमेर पुगेर मरे।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy