उत्पत्ति 7 - सरल नेपाली पवित्र बाइबलजलप्रलय 1 परमप्रभुले नोआलाई भन्नुभयो, “आफ्ना जहान सबै सँगै लिएर भित्र जा। संसारभरिमा ठीक काम गर्ने तँलाई मात्र मैले पाएँ। 2 विधिअनुसार जुन पशुहरू शुद्ध छन्, तिनका सात-सात जोडी तर अशुद्ध पशुहरूका चाहिँ एक-एक जोडी मात्र आफूसँग लिनू। 3 पंक्षीहरू पनि हरथरी सात-सात जोडी लिनू। त्यसो गर्नुपर्छ किनभने हरथरीका पशु-पंक्षी बचाएर राख्नुपर्छ र तिनीहरू फेरि पृथ्वीमा बढ्दै जानेछन्। 4 अबको सात दिनपछि म वर्षा ल्याउनेछु, पानी चालीस दिन र चालीस रातसम्म पर्नेछ र मैले बनाएका सबै जिउँदा प्राणीहरू नाश हुनेछन्।” 5 परमेश्वरले आज्ञा गर्नुभएअनुसार सबै कुरा नोआले गरे। 6 नोआको उमेर ६०० वर्षको हुँदा पृथ्वीमा जलप्रलय भएको थियो। 7 नोआ, उनकी स्वास्नी, उनका छोराहरू र बुहारी, जलप्रलयको भलदेखि बाँच्न नाउभित्रै गए। 8 परमेश्वरले आज्ञा गर्नुभएझैँ शुद्ध वा अशुद्ध हरथरीका पशु-पंक्षी, जोडी-जोडी, भाले-पोथी गरी 9 नोआसित नाउमा पसे। 10 सात दिनपछि पानीको भल आयो। 11 नोआ ६०० वर्षको हुँदा दोस्रो महिनाको सत्रौँ दिनमा पृथ्वीमुनिका अगाध पानीका मूलहरू फुटे, आकाशका पानीका ढोकाहरू सबै खुले र दिनरात 12 चालीस दिनसम्म पानी परिरह्यो। 13 त्यही दिन नोआ र उनकी स्वास्नी आफ्ना तीन जना छोराहरू शेम, हाम र येपेत र तिनका स्वास्नीहरूसँगै लिएर नाउमा पसे। 14 तिनीहरूसँग हरथरीका ठूला-साना घरेलु र बन-पशुहरू र हरथरीका पंक्षीहरू पनि नाउमा गए। 15 परमेश्वरले आज्ञा गर्नुभएअनुसार हरप्रकारका जिउँदा प्राणीहरू जोडी-जोडी, भाले-पोथी गरी, नोआसित नाउमा गए। 16 त्यसपछि परमप्रभुले ढोका बन्द गरिदिनुभयो। 17 जलप्रलय ४० दिनसम्म भइरह्यो। पानी बढेर यति गहिरो भयो कि नाउ उचालिएर तैरन लाग्यो। 18 पानी अझै गहिरो भयो र नाउ माथि-माथि बग्न थाल्यो। 19 पानी यति गहिरो भयो कि अग्लाभन्दा अग्ला पहाडहरू पानीमा डुबे। 20 पानी अझै बढ्दै गयो र पर्वतहरूमाथि सात मिटर अग्लोसम्म पुग्यो। 21 पृथ्वीमा भएका जम्मै जिउँदा प्राणीहरू सबै चरा-चुरुङ्गी, पशु र नर-नारीहरू मरे। 22 पृथ्वीमा भएका सास फेर्ने प्राणीहरू सबै मरे। 23 पृथ्वीमा भएका सबै जिउँदा प्राणीहरू मानिस, पशु र पंक्षीहरूलाई परमप्रभुले नाश पार्नुभयो। नोआ र उनीसित नाउमा हुनेहरू मात्र जिउँदा छोडिए। 24 पानी १५० दिनसम्म घटेन। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society