उत्पत्ति 5 - सरल नेपाली पवित्र बाइबलआदमका सन्तानहरू 1 आदमको वंशको सूची यस्तो छ। (परमेश्वरले मानिसजातिलाई सृष्टि गर्नुहुँदा आफ्नै रूपमा बनाउनुभयो। 2 उहाँले तिनीहरूलाई नर र नारी गरी बनाउनुभयो, आशिष् दिनुभयो र ‘मानव’ नाम दिनुभयो।) 3 आदमको उमेर १३० वर्ष हुँदा उसको एउटा छोरो जन्म्यो, जो हेर्दा ऊनीजस्तै थियो र त्यसको नाम उसले शेत राखे। 4 त्यसपछि आदम अरू ८०० वर्ष बाँचे। उनका अरू छोरा-छोरीहरू जन्मिए र 5 उनी ९३० वर्ष पुग्दा मरे। 6 शेत १०५ वर्ष उमेरको हुँदा उनका एउटा छोरो एनोश जन्मे। 7 त्यसपछि उनी अरू ८०७ वर्ष बाँचे। उनका अरू छोरा-छोरीहरू जन्मे 8 र ९१२ वर्ष उमेर पुगेर उनी मरे। 9 एनोशको उमेर ९० वर्ष पुग्दा उनको एउटा छोरो कनान जन्मे। 10 त्यसपछि उनी अरू ८१५ वर्ष बाँचे। उनका अरू छोरा-छोरीहरू जन्मे 11 र ९०५ वर्ष पुग्दा उनी मरे। 12 कनान ७० वर्षको हुँदा उनको एउटा छोरा महलालेल जन्मे। 13 त्यसपछि उनी अरू ८४० वर्ष बाँचे। उनका अरू छोरा-छोरीहरू जन्मे 14 र ९१० वर्ष उमेर पुगेर उनी मरे। 15 महलालेल ६५ वर्ष पुग्दा उनको एउटा छोरो येरेद जन्म्यो। 16 त्यसपछि उनी अरू ८३० वर्ष बाँचे। उनका अरू छोरा-छोरीहरू जन्मे 17 र ८९५ वर्ष पुग्दा उनी मरे। 18 येरेदको उमेर १६२ वर्ष पुग्दा उनको एउटा छोरो हनोक जन्म्यो। 19 त्यसपछि उनी अरू ८०० वर्ष बाँचे। उनका अरू छोरा-छोरीहरू जन्मे 20 र ९६२ वर्ष पुगेर उनी मरे। 21 हनोक ६५ वर्ष पुग्दा उनको एउटा छोरो मतूशेलह जन्म्यो। 22 त्यसपछि उनले अरू ३०० वर्षसम्म परमेश्वरको साथमा जीवन बिताए र उसका अरू छोरा-छोरीहरू जन्मे। 23 उनी ३६५ वर्ष उमेर पुगिञ्जेल बाँचे। 24 उनले आफ्नो जीवन परमेश्वरको साथमा बिताए। त्यसपछि उनी देखिएनन् किनभने परमेश्वरले उनलाई उठाई लैजानुभयो। 25 मतूशेलहको उमेर १८७ वर्ष पुग्दा उनको एउटा छोरो लेमेख जन्म्यो। 26 त्यसपछि उनी अरू ७८२ वर्ष बाँचे। उनका अरू छोरा-छोरीहरू जन्मे 27 र उनी ९६९ को उमेरमा मरे। 28 लेमेख १८२ वर्षको हुँदा उनको एउटा छोरो जन्म्यो 29 र उनले भने, “जुन भूमिलाई परमेश्वरले सराप दिनुभयो, त्यही भूमिदेखि यस बालकले हामीलाई हाम्रो कडा परिश्रमबाट आराम दिनेछ।” यसकारण उनले त्यसको नाम नोआ राखे। 30 लेमेख अरू ५९५ वर्ष बाँचे। उनका अरू छोरा-छोरीहरू भए 31 र ७७७ वर्ष उमेर पुग्दा ऊ मरे। 32 नोआको उमेर ५०० वर्ष पुगेपछि उनका तीन छोराहरू शेम, हाम र येपेत जन्मिए। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society