Online Bible

- Reklamy -

उत्पत्ति 48 - सरल नेपाली पवित्र बाइबल


याकूबले एफ्राइम र मनश्शेलाई आशीर्वाद दिन्छन्

1 केही समयपछि बुबा बिरामी छन् भनी योसेफले खबर पाए। तिनी आफ्‍ना छोराहरू मनश्‍शे र एफ्राइमलाई लिई याकूबलाई हेर्न गए।

2 उनका छोरा योसेफ भेट्‍न आएको सुनेर याकूब पूरा बल गरेर उठे र पलङ्गमा बसे।

3 याकूबले योसेफलाई भने, “कनान देशको लूजमा सर्वशक्तिमान् परमेश्‍वर मकहाँ देखा पर्नुभयो र मलाई आशीर्वाद दिनुभयो।

4 उहाँले मलाई भन्‍नुभयो, ‘म तँलाई धेरै छोरा-छोरी दिनेछु र तेरा सन्‍तानहरू धेरै जाति बन्‍नेछन्। यो देश म सदाकालको निम्‍ति तेरा सन्‍तानलाई दिनेछु’।”

5 याकूबले अझै भने “योसेफ, म यहाँ आउनुभन्दा अघि मिश्रमा जन्‍मेका तेरा छोराहरू पनि मेरा हुन्। रूबेन र शिमियोनझैँ एफ्राइम र मनश्‍शे पनि मेरा छोरा हुन्।

6 तेरा अरू छोराहरू भए भने ती मेरा छोरा मानिनेछैनन्, तिनीहरूले एफ्राइम र मनश्‍शेद्वारा अधिकार पाउनेछन्।

7 तेरी आमा राहेलको कारणले म यो सबै गर्दै छु। मलाई ठूलो शोकमा डुबाएर कनान देशमा एप्रातको नजिक ऊ मरी। त्‍यस बेला म पद्दन-आरामबाट फर्किरहेको थिएँ। उसलाई मैले एप्रात जाने बाटोको किनारमा गाडें।” (एप्रातलाई आजकाल बेथलेहेम भनिन्‍छ।)

8 योसेफका छोराहरूलाई देखेर याकूबले सोधे, “यी केटाहरू को हुन्?”

9 योसेफले उत्तर दिए, “परमेश्‍वरले मलाई यहाँ मिश्रमा दया गर्नुभएका यी मेरा छोराहरू हुन्।” याकूबले भने, “तिनीहरूलाई मेरो छेउमा ले र म तिनीहरूलाई आशीर्वाद दिनेछु।”

10 उमेरले गर्दा याकूबका आँखा कमजोर भएका थिए र उनले राम्ररी देख्‍दैनथे। योसेफले छोराहरूलाई बुबाकहाँ ल्‍याए र उनले तिनीहरूलाई अँगालो मारेर म्‍वाइँ खाए।

11 याकूबले योसेफलाई भने, “मैले तँलाई फेरि देख्‍नेछु भनी चिताएको थिइनँ तर परमेश्‍वरले मलाई तेरा सन्‍तानहरू पनि हेर्न दिनुभयो।”

12 त्‍यसपछि योसेफले छोराहरूलाई बुबाको काखबाट लिए र उनको अघि भूइँमा निहुरेर ढोगे।

13 योसेफले बुबाको देब्रेपट्टि एफ्राइमलाई र दाहिनेपट्टि मनश्‍शेलाई राखे।

14 तर याकूबले हात घुमाएर दाहिने हात कान्‍छो एफ्राइमको टाउकोमा र देब्रे हात जेठो मनश्‍शेको टाउकोमा राखे।

15 तब उनले योसेफलाई यसरी आशीर्वाद दिए– “अब्राहाम मेरा बाजे र इसहाक मेरा बुबाले सेवाभक्ति गरेका परमेश्‍वरले यी बालकहरूलाई आशीर्वाद देऊन्! मलाई आजसम्‍म डोर्‍याउनुहुने परमेश्‍वरले यी दुईलाई आशीर्वाद देऊन्!

16 मलाई सारा आपत्-विपत्‌देखि बचाउने स्‍वर्गदूतले यिनीहरूलाई आशीर्वाद देऊन्! यी बालकहरूद्वारा मेरा, मेरा बाजे अब्राहाम र मेरा बुबा इसहाकको नाम अमर रहोस्‌। यिनीहरूका धेरै छोरा-छोरीहरू र धेरै सन्‍तान होऊन्।”

17 बुबाले दाहिने हात एफ्राइमको टाउकोमा राखेको देखेर योसेफलाई मन परेन र बुबाको हात समातेर एफ्राइमको टाउकोदेखि मनश्‍शेको टाउकोमा सारिदिए

18 र भने, “त्‍यसरी होइन बुबा, यो जेठो हो, यसको टाउकोमा तपाईंको दाहिने हात राख्‍नुहोस्।”

19 बुबाले अस्‍वीकार गरेर भने, “म जान्‍दछु छोरो, म जान्‍दछु। मनश्‍शेको सन्‍तान पनि एउटा महान् जाति हुनेछ तर त्‍यसको भाइ अझ ठूलो हुनेछ र त्‍यसको भाइका सन्‍तान महान् जातिहरू हुनेछन्।”

20 यसरी त्‍यस दिन याकूबले तिनीहरूलाई आशिष् दिए, “इस्राएलीहरूले आशीर्वाद दिँदा तिम्रा नामहरू लिनेछन्, तिनीहरूले भन्‍नेछन्, ‘परमेश्‍वरले तिमीहरूलाई एफ्राइम र मनश्‍शेजस्‍ता बनाऊन्।” यसरी याकूबले एफ्राइमलाई मनश्‍शेभन्दा अगाडि राखे।

21 याकूबले योसेफलाई भने, “तैँले देख्‍दै छस् कि म मर्न लागेको छु तर परमेश्‍वर तँसँग रहनुहुनेछ र तँलाई तेरा पिता-पुर्खाको देशमा फर्काइलैजानुहुनेछ।

22 शकेम तेरा दाजुहरूलाई नदिएर म तँलाई दिँदै छु– त्‍यो मलिलो भूमि मैले आफ्‍नो तरवार र धनु-काँडका बलले एमोरीहरूदेखि लिएको थिएँ।”

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy