उत्पत्ति 46 - सरल नेपाली पवित्र बाइबलयाकूब परिवारसित मिश्रमा जान्छन् 1 याकूब आफ्ना सबै भारी कसेर हिँडे र बेर्शेबामा आइपुगे। त्यहाँ उनले आफ्ना बुबा इसहाकका परमेश्वरलाई बलि चढाए। 2 अनि राती दर्शनमा परमेश्वर इस्राएलसँग बोल्नुभयो, “याकूब! ए याकूब!” “हजुर, म यहाँ छु,” उनले जवाफ दिए। 3 उहाँले भन्नुभयो, “म परमेश्वर तेरा बुबाका परमेश्वर हुँ। मिश्रमा जान नडरा। तेरा सन्तानहरूलाई म त्यहाँ एउटा ठूलो जाति बनाउनेछु। 4 म तँसित मिश्रमा जानेछु र तेरा सन्तानहरूलाई यस देशमा फर्काइल्याउनेछु। तेरो मरणको बेलामा योसेफ तेरो साथमा रहनेछ।” 5 याकूब बेर्शेबाबाट हिँडे। उनका छोराहरूले बुबा, स-साना छोरा-छोरीहरू र आफ्ना पत्नीहरूलाई मिश्रबाट राजाले पठाएका गाडाहरूमा चढाए। 6 गाई-वस्तु र कनानमा कमाएका सम्पत्तिहरू साथ लिएर तिनीहरू मिश्रमा गए। याकूबले आफ्ना सबै छोरा-नातिहरूलाई आफूसँग लगे, 7 छोराहरू, नातिहरू, छोरीहरू र नातिनीहरू तिनीसँग गए। 8 याकूबसित मिश्रमा जाने उनका परिवारका मानिसहरू यिनीहरू थिए– जेठा छोरा रूबेन 9 र रूबेनका छोराहरू हानोक, पल्लु, हेस्रोन र कर्मी। 10 शिमियोन र तिनका छोराहरू यमूएल, यामीन, ओहद, याकीन, सोहोर र कनानी स्वास्नीपट्टिको शौल। 11 लेवी र तिनका छोराहरू गेर्शोन, कहात र मरारी। 12 यहूदा र तिनका छोराहरू शेलह, फारेस र जेरह। (यहूदाका अरू छोराहरू– एर् र ओनान कनानमा मरिसकेका थिए।) फारेसका छोराहरू हेस्रोन र हामूल। 13 इस्साखार र तिनका छोराहरू तोला, पुवा, याशूब र शिम्रोन। 14 जबूलून र तिनका छोराहरू सेरेद, एलोन र यहलेल। 15 लेआले पद्दन-आराममा याकूबबाट जन्माएका छोराहरू यी नै हुन्। त्यसबाहेक एउटी छोरी दीना थिई। लेआबाट भएका उनका सन्तानहरू जम्मा तेत्तीस जना थिए। 16 गाद र तिनका छोराहरू सेफोन, हाग्यी, शूनी, यसबोन, एरी, अरोदी र अरेली। 17 आशेर र तिनका छोराहरू यिम्ना, यिश्वा, यिश्वी र बरीआ र तिनीहरूको बहिनी सेरह। बरीआका छोराहरू हेबेर र मल्कीएल थिए। 18 यी सोह्र जना याकूबबाट जिल्पाले जन्माएकाहरू हुन्। जिल्पालाई लाबानले आफ्नी छोरी लेआको लागि कमारी हुन दिएका थिए। 19 याकूबकी स्वास्नी राहेलले दुई छोराहरू योसेफ र बेन्यामीनलाई जन्माइन्। 20 योसेफको मिश्रमा दुई छोराहरू मनश्शे र एफ्राइम आसनततर्फबाट जन्मे। आसनत ओनका पूजाहारी पोतिपेराकी छोरी थिइन्। 21 बेन्यामीनका छोराहरू बेला, बेकेर, अश्बेल, गेरा, नामान, एही, रोश, मुप्पीम, हुप्पीम र आर्द। 22 राहेलबाट भएका याकूबका सन्तान यी चौध जना हुन्। 23 दान र तिनका छोरा हुशीम। 24 नप्ताली र तिनका छोराहरू यहसेल, गुनी, येसेर र शिल्लेम। 25 यी सात जना याकूबका बिल्हाबाट जन्मेका सन्तान थिए। बिल्हालाई लाबानले आफ्नी छोरी राहेलको लागि कमारी हुन दिएका थिए। 26 याकूबको साथमा मिश्रमा जाने उनका निज सन्तान, बुहारीहरू छोडेर जम्मा छयसट्ठी जना थिए। 27 मिश्रमा जन्मेका योसेफका दुई छोराहरू थिए। यसरी मिश्रमा जाने याकूबको परिवारका जम्मा सत्तरी जना भए। याकूब परिवारसहित मिश्रमा 28 गोशेनमा मलाई भेट्न आओस् भनी खबर दिन याकूबले यहूदालाई आफ्नो अघि योसेफकहाँ पठाए। 29 योसेफ आफ्नो रथमा चढेर बुबालाई भेट्न गोशेनमा गए। भेट भएपछि योसेफले आफ्ना दुवै हातले बुबाको गलामा अँगालो हालेर धेरै बेरसम्म रोइरहे। 30 याकूबले योसेफलाई भने, “अब मैले तेरो मुख हेर्न पाएँ र तँ जिउँदै रहेछस् भनी जानें। म सन्तोषसित मर्न तयार छु।” 31 तब योसेफले आफ्ना दाजु-भाइहरू र बुबाका परिवारका अरूलाई भने, “मैले गएर राजालाई मेरा दाजुभाइहरू र कनानमा बास गर्ने मेरा बुबाको परिवार यहाँ मकहाँ आएका छन् भनी सुनाउनुपर्नेछ। 32 म राजालाई भन्नेछु कि तिमीहरू गोठालाहरू हौ र गाई-गोरु र आफ्ना अरू चीजबीजहरू जम्मै लिएर आएका छौ। 33 राजाले आएर तिमीहरू के काम गर्छौ भनी सोध्दा 34 तिमीहरूले भन्नू कि हामीले आफ्ना पिता-पुर्खाले जस्तो जीवनभरि गाई-वस्तु स्याहारेर बसेका छौं। त्यसो गर्दा राजाले तिमीहरूलाई गोशेनमा बास गर्न दिनेछन्।” मिश्रीहरूले गोठालाहरूसित केही सम्बन्ध गर्न चाहँदैनन् भनी जानेर योसेफले त्यसो भनेका थिए। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society