Online Bible

- Reklamy -

उत्पत्ति 40 - सरल नेपाली पवित्र बाइबल


योसेफले कैदीहरूको सपनाको अर्थ खोल्छन्

1 केही समयपछि मिश्रका राजाको मुख्‍य-भान्से र मुख्‍य-मद्य टक्र्याउने मानिसले काम बिगारेर राजालाई रिस उठाए।

2-3 रिसमा राजाले ती दुईलाई पहरेदारको कप्‍तानको घरमा भएको झ्‍यालखानमा हालिदिए। योसेफ पनि त्‍यहीँ नै थुनामा परेका थिए।

4 तिनीहरूले धेरै दिन कैदमा बिताउनुपर्‍यो। कप्‍तानले योसेफलाई तिनीहरूको चाकर खटाइदिए।

5 एक रात झ्‍यालखानमा ती दुई भान्‍से र मद्य टक्र्याउने मानिसले एक-एक वटा तर भिन्‍नाभिन्‍नै अर्थ भएको सपना देखे।

6 बिहान तिनीहरूकहाँ आउँदा योसेफले तिनीहरूलाई चिन्‍तामा परेका देखे।

7 उनले सोधे, “आज किन यति चिन्‍तित देखा पर्नुहुन्‍छ?”

8 तिनीहरूले उत्तर दिए, “हामी दुवैले राती एक-एक वटा सपना देख्‍यौं तर सपनाको अर्थ लाउने मानिस यहाँ कोही पनि छैन।” योसेफले भने, “सपनाको अर्थ खोल्‍ने ज्ञान त परमेश्‍वरले दिनुहुन्‍छ। मलाई तपाईंहरूको सपना भन्‍नुहोस् त।”

9 मद्य टक्र्याउनेले भन्‍यो, “सपनामा मेरो अघि एउटा दाखमद्यको बोट थियो।

10 त्‍यसमा तीनवटा हाँगाहरू थिए। बोटमा पात लाग्‍ने बित्तिकै फूलै-फूल र फल फलेर पाके।

11 राजाको कचौरा मेरो हातमा थियो। मैले दाख टिपेर कचौरामा निचोरें र त्‍यो राजालाई टक्र्याएँ।”

12 योसेफले भने, “त्‍यसको अर्थ यो हो, तीनवटा हाँगाहरूले तीन दिन बुझाउँछ।

13 आजको तीन दिनमा राजाले तपाईंलाई कैददेखि छोडिदिनुहुनेछ। तपाईंलाई माफ गरेर तपाईंको आफ्‍नो काम दिनुहुनेछ। पहिलेजस्‍तै मद्य टक्र्याउन गएझैँ तपाईंले राजालाई उहाँको कचौरा फेरि टक्र्याउनुहुनेछ।

14 तर कृपा गरी तपाईंको सुदिनमा मलाई सम्‍झनुहोला र दया गरी राजाकहाँ मेरो बारे भन्‍नुहोला र मलाई कैदबाट छुटाउनमा मद्दत गर्नुहोला।

15 वास्‍तवमा मलाई हिब्रूहरूको देशबाट चोरी गरेर ल्‍याएको हो अनि यहाँ मिश्रदेशमा पनि मैले कैदमा पर्ने कुनै यस्‍तो काम गरेको छैनँ।”

16 मद्य टक्र्याउने मानिसको सपनाको अर्थ असल लागेको देखेर मुख्‍य भान्‍सेले योसेफलाई भन्‍यो, “मैले पनि एउटा सपना देखें। मैले टाउकोमा तीनवटा रोटीका डालाहरू बोकेको थिएँ।

17 माथिल्‍लो डालामा राजाको निम्‍ति सबै प्रकारका स्‍वादिला खानेकुराहरू राखिएका थिए र चरा-चुरुङ्गीहरूले ती ठुँगी खाँदै थिए।”

18 योसेफले उत्तर दिए, “त्‍यसको अर्थ यो हो: तीनवटा डालाहरूले तीन दिन बुझाउँछ।

19 तीन दिनमा राजाले तपाईंलाई कैददेखि छुटाउनुहुनेछ र तपाईंको शिर काट्‍न लगाउनुहुनेछ। त्‍यसपछि राजाले तपाईंको लाश खम्‍बामा झुन्‍ड्याइदिनुहुनेछ र चराहरूले तपाईंको मासु ठुँगी खानेछन्।”

20 तीन दिनपछि आफ्‍नो जन्‍मदिनको उत्‍सवमा राजाले आफ्‍ना सबै भारदारहरूलाई भोज दिए। आफ्‍ना मुख्‍य-भान्‍से र मद्य टक्र्याउने मानिसहरूलाई भारदारहरूका अघि ल्‍याएर उभ्‍याए।

21 मद्य टक्र्याउने मानिसलाई उसको पुरानो काम दिए,

22 तर मुख्‍य-भान्‍सेको शिर काट्‍न लाए। सबै कुरा योसेफले भनेअनुसार नै भयो।

23 तर मद्य टक्र्याउने मानिसले योसेफको बारेमा केही सोचेन, त्‍यसले उनलाई बिर्सिहाल्‍यो।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy