Online Bible

- Reklamy -

उत्पत्ति 4 - सरल नेपाली पवित्र बाइबल


कयिन र हाबिल

1 आदम आफ्‍नी स्‍वास्‍नीसँग सुते र उनी गर्भवती भइन्‌। उनले एउटा छोरो जन्‍माइन्‌ र भनिन्‌, “परमप्रभुको सहायताले मैले एउटा छोरो पाएकी छु।” उनले त्‍यसको नाम कयिन राखिन्‌।

2 पछि उनले अर्को छोरो हाबिल जन्‍माइन्‌। हाबिल गोठाला भए तर कयिनले खेतबारीको काम गर्थे।

3 केही समयपछि कयिनले खेतीको केही उब्‍जनी ल्‍याएर परमप्रभुलाई भेटी चढाए।

4 तब हाबिलले आफ्‍ना बथानको एउटा भेडाले ब्‍याएको पहिलो पाठो ल्‍याए र मारे र त्‍यसको सबैभन्दा राम्रो भाग भेटी चढायो। परमप्रभु हाबिल र उनको भेटीसँग प्रसन्‍न हुनुभयो,

5 तर कयिन र उनको भेटीचाहिँ अस्‍वीकार गर्नुभयो। कयिन झोकिए र रिसले अनुहार बिगारे।

6 तब परमप्रभुले कयिनलाई भन्‍नुभयो, “तँ किन रिसाइस्? तेरो अनुहार किन बिग्रियो?

7 तैँले ठीक काम गरेको भए, तँ हाँस्‍न पाउनेथिइस् तर तैँले खराब काम गरिस् र पाप तेरो ढोकामा आई ढुकिरहेको छ। त्‍यसले तँलाई अधीन गर्न खोज्‍छ तर तैँले त्‍यसलाई अधीन गर्नुपर्छ।”

8 तब कयिनले आफ्‍नो भाइ हाबिललाई भने, “आइज, हामी खेतमा जाऔं।” तिनीहरू खेतमा पुगेपछि कयिन भाइमाथि जाइलागे र त्‍यसलाई मारे।

9 परमप्रभुले कयिनलाई सोध्‍नुभयो, “तेरो भाइ हाबिल कहाँ छ?” तिनले जवाफ दिए, “मलाई थाहा छैन। के म मेरो भाइको गोठालो हुँ र?”

10 तब परमप्रभुले भन्‍नुभयो, “तैँले किन यो घिनलाग्‍दो काम गरिस्? बदला लिन उचालेको सोरजस्‍तो तेरो भाइको रगतले भूइँबाट मलाई दुहाइ दिइरहेको छ।

11 तँमाथि सराप परेको छ र तैँले जमिनमा खेती गर्न पाउनेछैनस्। तेरो भाइको रगतले जमिन भिजेको छ, तैँले भाइलाई मार्दा जमिनले आफ्‍नो मुख खोलेर रगत पियो।

12 तैँले खेतीपाती गर्ने चेष्‍टा गरिस् भने जमिनले केही उब्‍जनी दिनेछैन। तँ घरबिनाको पृथ्‍वीमा एउटा डुलिहिँड्‍ने मानिस हुनेछस्।”

13 कयिनले परमप्रभुलाई भने, “यो दण्‍ड मैले सहन नसक्‍ने गरी कडा भयो।

14 तपाईंले मलाई जमिन र आफ्‍ना सामुदेखि धपाउँदै हुनुहुन्‍छ। म पृथ्‍वीमा एउटा घरबिनाको डुलिहिँड्‍ने मानिस हुनेछु अनि जसले मलाई भेट्टाउनेछ, उसले मलाई मार्नेछ।”

15 तर परमप्रभुले उत्तर दिनुभयो, “होइन, कसैले तँलाई मार्‍यो भने त्‍यसको सट्टामा सात गुणा बदला लिइनेछ।” यसकारण उनलाई भेट्‍ने कसैले कयिनलाई नमारोस् भनी चेतावनी दिन परमप्रभुले कयिनमाथि एउटा चिन्‍ह लाइदिनुभयो।

16 अनि कयिन परमप्रभुका सामुदेखि निस्‍किए र अदनको पूर्वपट्टि भएको नोद (जसको अर्थ हो ‘डुलुवा’) भनिने देशमा बसोबास गर।


कयिनका सन्‍तानहरू

17 कयिन र उनकी स्‍वास्‍नीको एउटा छोरो भयो र उनीहरूले त्‍यसको नाम हनोक राखे। त्‍यसपछि कयिनले एउटा सहर बसाले र त्‍यसको नाम आफ्‍नो छोराको नाममा ‘हनोक’ राखे।

18 हनोकको एउटा छोरो भयो, जसको नाम ईराद थियो अनि यी महूयाएलको बुबा भए। महूयाएलका एउटा मतूशाएल नाम गरेको छोरा भए, जो लेमेखका बुबा भए।

19 लेमेखका आदा र सिल्‍ला नाम गरेका दुईवटा स्‍वास्‍नीहरू थिए।

20 आदाले याबाललाई जन्‍माइन्‌। याबाल पशु पाल्‍नेहरू र पालमा बस्‍नेहरूका पुर्खा भए।

21 उसको भाइ यूबालचाहिँ सबै बाँसुरी र वीणा बजाउनेहरूका पुर्खा भए।

22 सिल्‍लाले तूबलकयिनलाई जन्‍माइन्‌, उनले सबै थरीका काँसा र फलामका हतियारहरू बनाउँथे। तूबल-कयिनका बहिनी नामा थिइन्‌।

23 लेमेखले आफ्‍ना स्‍वास्‍नीहरूलाई भने, “ए आदा र सिल्‍ला! मेरो कुरा सुन्, मैले एक जना युवकलाई मारेको छु किनभने त्‍यसले मलाई चोट लाएको थियो।

24 यदि कयिन मारिंदा त्‍यसका सट्टामा सात गुणा बदला लिइन्‍छ, कसैले मलाई मार्‍यो भने त्‍यसको सट्टामा सतहत्तर गुणा बदला लिइनेछ।”


शेत र एनोश

25 आदम र तिनकी स्‍वास्‍नीको अर्को एउटा छोरो भयो। हव्‍वाले भनिन्‌, “परमेश्‍वरले मलाई कयिनले मारेको हाबिलका सट्टामा अर्को छोरा दिनुभयो।” आदमले त्‍यसको नाम शेत राखे।

26 शेतको एउटा छोरो भयो, त्‍यसको नाम एनोश राखे। त्‍यस समयदेखि मानिसहरूले परमप्रभुलाई पुज्‍दा उहाँको पवित्र नाउँ पुकार्न थाले।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy