उत्पत्ति 34 - सरल नेपाली पवित्र बाइबलदीनाको बेइज्जती 1 याकूब र लेआकी छोरी दीना एक दिन केही कनानी स्त्रीहरूलाई भेट्न गइन्। 2 त्यस ठाउँका मुखिया हिव्वी हमोरका छोरा शकेमले तिनलाई देख्यो र उनलाई लगेर बलात्कार गर्यो। 3 तर केटी यति राम्री थिई कि त्योसित शकेमको प्रेम बस्यो। त्यसले केटीको मन जित्ने चेष्टा गर्यो। 4 त्यसले आफ्ना बुबालाई भन्यो, “मलाई यो केटी विवाह गर्न ल्याइदिनुहोस्।” 5 आफ्नी छोरीको बेइज्जती भएको कुरा याकूबले चाल पाए तर त्यसका छोराहरूचाहिँ गाई-गोरु चराउन बन गएका हुनाले तिनीहरू फर्की नआऊञ्जेल उनले केही गरेनन्। 6 शकेमका बुबा हमोर याकूबसँग कुरा गर्न जाँदा 7 उनका छोराहरू बनबाट आइरहेका थिए। त्यो कुरा सुनेर तिनीहरू झसङ्ग भए र शकेमले त्यस्तो काम गरेकोले औधी रिसाए। याकूबकी छोरीमाथि बलात्कार गरेर त्यसले सारा इस्राएलको बेइज्जती गरेको थियो। 8 हमोरले भने, “मेरो छोरा शकेमलाई तपाईंकी छोरीसित प्रेम भएको छ, कृपा गरी त्यसलाई तपाईंकी छोरीसित विवाह गर्न दिनुहोस्। 9 तपाईंका र हाम्रा जातिको बीच बिहाबारी चलाउन राजी होऔं। 10 त्यसो गरी तपाईंहरू हामीसित हाम्रा देशमा बास गर्नुहोस्। जहाँ इच्छा हुन्छ, बस्नुहोस् र खुलासित व्यापार-धन्दा गर्नुहोस् र धन-सम्पत्ति जोड्नुहोस्।” 11 त्यसपछि शकेमले दीनाका बुबा र दाजुभाइहरूलाई भन्यो, “मलाई यति दया गर्नुहोस् र तपाईंहरू के चाहनुहुन्छ, म दिनेछु। 12 तपाईंहरूलाई के सौगात टक्र्याऊँ, भन्नुहोस्। बेहुलीको मोल जति चाहनुहुन्छ, उति राख्नुहोस्। जे भन्नुहुन्छ, त्यही म दिनेछु। खालि, तपाईंकी छोरीसित मलाई विवाह गर्न दिनुहोस्।” 13 शकेमले आफ्नी बहिनी दीनाको बेइज्जती गरेको हुनाले याकूबका छोराहरूले त्यसलाई र त्यसका बुबा हमोरलाई कपट गरेर उत्तर दिए। 14 तिनीहरूले भने, “खतना नगरिएको मानिसलाई हामी बहिनी दिन सक्दैनौं। त्यसले हाम्रो बदनाम हुन्छ। 15 एउटा काम गर्नुभयो भनेचाहिँ हामी राजी हुन सक्छौं– तपाईंहरू पनि हामीजस्तो हुनुपर्छ र प्रत्येक पुरुषले खतना गर्नुपर्छ। 16 तब मात्र हाम्रा बीचमा बिहेबारी चल्न सक्छ। तब हामी तपाईंहरूका माझमा बसौंला र एउटै जाति हौंला। 17 तर त्यसो गर्न वा खतना गर्न मान्नुहुन्न भने हामी आफ्नी चेली लिएर गइहाल्छौं।” 18 हमोर र शकेमलाई त्यो कुरा ठीक लाग्यो। 19 शकेमले याकूबकी छोरीलाई प्रेम गर्थ्यो। तिनीहरूले भनेअनुसार गर्न त्यसले केही ढीलो गरेन। आफ्ना घरानामा त्यो सबैभन्दा मुख्य थियो। 20 हमोर र तिनका छोरा शकेम सहरको मूल-ढोकामा सभा हुने ठाउँमा गए र सहरबासीहरूलाई भने, 21 “यी मानिसहरू शान्तिप्रिय छन्। यिनीहरू हामीसित यस देशमा बसून् र खुलासित हिँडडुल गरून्। हाम्रो देश ठूलो छ र तिनीहरूका लागि पनि ठाउँ पुग्छ। हाम्रा र तिनीहरूका बीचमा बिहेबारी पनि चलोस्। 22 तर यिनीहरूले खतना गरेका छन्। हाम्रा पनि प्रत्येक पुरुष खतना गर्न हामी राजी भयौं भने मात्र यिनीहरू हामीसित बस्न र एउटै जाति हुन राजी हुनेछन्। 23 त्यसो गरे के यिनीहरूका गाई-वस्तु र अरू धन-सम्पत्तिहरू सबै हाम्रै हुनेछैनन् र? हामी तिनीहरूका कुरामा राजी होऔं र तिनीहरू हाम्रा माझमा बस्नेछन्।” 24 सहरबासीहरू सबैजना हमोर र शकेमका कुरा मान्न राजी भए र सबै पुरुषहरूले खतना गरे। 25 तीन दिनपछि खतनाले गर्दा पीडा पाइरहेका बेलामा याकूबका दुई छोराहरू शिमियोन र लेवी दीनाका दाजुहरू सहरमा तरवार लिएर आए र कसैले केही थाहा नपाई, 26 हमोर शकेमसमेत सबै सहरबासीहरूलाई मारे। तिनीहरूले शकेमको घरबाट दीनालाई लिएर हिँडे। 27 त्यसरी मारिसकेपछि याकूबका अरू छोराहरूले सहरमा गई लुटपिट गरे र आफ्नी बहिनीको बेइज्जती भएको बदला लिए। 28 तिनीहरूले भेडा-बाख्राका बथान, गाई-गोरु, गधाहरू र सहर र खेतमा भएका सबै थोक लगे। 29 मोल भएका सबै थोक, आइमाईहरू, केटा-केटीहरू र घरमा भएका सबै कुरा तिनीहरूले लुटेर लगे। 30 याकूबले शिमियोन र लेवीलाई भने, “तिमीहरूले ममाथि सङ्कष्ट ल्यायौ। अब कनानी, परिज्जी र यस देशका अरू सबै बासिन्दाहरूले मलाई घृणा गर्नेछन्। मेरा धेरै मानिसहरू छैनन्। तिनीहरू सबै एक भएर मेरो विरुद्धमा आइलागे भने हाम्रा सारा सन्तान नाश हुनेछन्।” 31 तर तिनीहरूले उत्तर दिए, “त्यसले हाम्री बहिनीलाई एउटा वेश्यालाई जस्तो गर्न पाउँदैन।” |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society