उत्पत्ति 33 - सरल नेपाली पवित्र बाइबलयाकूब र एसावको भेट 1 एसाव, आफ्ना चार सय मानिसहरूसँग आउँदै गरेका याकूबले देखे। उनले आफ्ना छोरा-छोरीहरूलाई लेआ, राहेल र दुई दासीहरूका बीचमा बाँडिदिए। 2 उनले दासीहरू र तिनका छोराहरूलाई सबैभन्दा अघि राखे, त्यसपछि लेआ र तिनका छोरा-छोरीहरूलाई राखे र सबैभन्दा पछाडि राहेल र योसेफलाई राखे। 3 तिनीहरू सबैका अघि-अघि याकूब गए र दाजुका छेउमा पुग्दा भूइँ छोएर सातचोटि दण्डवत् गरे। 4 तर एसावले दगुरेर गई याकूबलाई भेटे, उनलाई अँगालो हाले र म्वाइँ खाए। ती दुवै रोइरहेका थिए। 5 एसावले यताउता हेरेर ती स्वास्नी-मानिसहरू र छोरा-छोरीहरूलाई देखे र सोधे, “यी तिमीसित भएका मानिसहरू को हुन्?” “हजुर, यिनीहरू मलाई परमेश्वरले कृपा गरिदिनुभएको मेरा जहान, बालबच्चा हुन्,” याकूबले जवाफ दिए। 6 त्यसपछि ती दुई दासी र तिनका छोराहरू आएर एसावलाई ढोगे। 7 त्यसपछि लेआ र तिनका छोरा-छोरीहरू र सबैभन्दा पछि राहेल र योसेफ आएर तिनलाई ढोगे। 8 एसावले सोधे, “मैले बाटोमा भेटेको मानिस र पशुका हुलहरूको अर्थचाहिँ के हो?” याकूबले उत्तर दिए, “तपाईंको दया पाऊँ भनी त्यसो गरेको हो।” 9 तर एसावले भने, “भाइ, मसित प्रशस्त छ। तिम्रा जे छन्, ती तिमीसितै राख।” 10 याकूबले भने, “होइन, तपाईंको दया ममाथि छ भने मेरा यी सौगात ग्रहण गरिदिनुहोस्। तपाईंले ममाथि यति ठूलो निगाह राख्नुभयो। यसरी तपाईंको दर्शन पाउँदा मलाई त परमेश्वरको दर्शन पाएझैँ भयो। 11 कृपा गरी, मैले तपाईंलाई ल्याएका यी सौगात ग्रहण गरिदिनुहोस्। परमेश्वरले ममाथि दया गर्नुभएको छ र मलाई चाहिने हरेक थोक दिनुभएको छ।” यसरी याकूबले बिन्ती गरिरहे र एसावले ती स्वीकार गरे। 12 एसावले भने, “अब हामी जान तयार गरौं। म तिम्रो अघि-अघि जानेछु।” 13 याकूबले भने, “तपाईं जान्नुहुन्छ कि मेरा छोरा-छोरीहरू दुर्बल छन्। मैले गाई-गोरु, भेडा-बाख्रा र तिनका बच्चाहरूबारे पनि ख्याल राख्नुपर्छ। तिनीहरूलाई एक दिन मात्र पनि साह्रै हिँडाएँ भने सारा बथान मरिजालान्। 14 तपाईं अघि-अघि जानुहोस् र म बिस्तारै पछि-पछि आउनेछु। गाई-वस्तु र बालबच्चासित म जतिसक्दो चाँडो हिँड्नेछु र तपाईंलाई सेइरमा भेट्नेछु।” 15 एसावले भने, “तब मेरा केही मानिसहरू तिमीसित छोडिराख्छु।” तर याकूबले उत्तर दिए, “त्यसको पनि खाँचो छैन। मलाई खालि तपाईंको दया भए पुग्यो।” 16 त्यही दिन एसाव सेइरतर्फ हिँडिहाले। 17 तर याकूब सुक्कोततिर लागे। त्यहाँ उनले आफ्ना लागि एउटा घर र गाई-वस्तुका लागि ओत लाग्न छाप्राहरू बनाए। त्यसकारण त्यस ठाउँको नाम सुक्कोत राखियो। 18 पद्दन-अरामदेखि फर्की आएपछि याकूब कुशलसाथ कनान देशको शकेम सहरमा आइपुगे र सहरको छेउमा एउटा मैदानमा पाल हालेर बसे। 19 मैदानमा त्यो पाल हालेको भाग उनले शकेमका बुबा हमोरका सन्तानबाट चाँदीका एक सय टुक्रामा किने। 20 त्यहाँ उनले एउटा वेदी बनाए र त्यसको नाम इस्राएलका परमेश्वर एल-एलोह-इस्राएल नाम राखे। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society