Online Bible

- Reklamy -

उत्पत्ति 29 - सरल नेपाली पवित्र बाइबल


याकूब लाबानको घरमा पुग्छन्‌

1 याकूब आफ्‍नो बाटो लागे र पूर्वको देशपट्टि गए।

2 अचानक उनी एउटा खेतबारीका बीचमा भएको इनारमा आइपुगे। इनारका चारैपट्टि तीन बथान भेडाहरू थिए। भेडाहरूले त्‍यो इनारको पानी पिउँथे। इनारको मुख एउटा ठूलो ढुङ्गाले छोपेको थियो।

3 सबै भेडाका बथानहरू त्‍यहाँ आएपछि गोठालाहरूले त्‍यो ढुङ्गा पल्‍टाउँथे र भेडालाई पानी खुवाउँथे। त्‍यसपछि तिनीहरूले ढुङ्गा फेरि त्‍यसकै ठाउँमा राखिदिन्‍थे।

4 याकूबले गोठालाहरूलाई सोधे, “ए साथी हो! तिमीहरू कहाँबाट आएका हौ?” “हारानबाट।” तिनीहरूले जवाफ दिए।

5 उनले सोधे, “के नाहोरका नाति लाबानलाई तिमीहरू चिन्‍छौ?” “हो, चिन्‍छौं।” तिनीहरूले जवाफ दिए,

6 “के उनी सन्‍चै छन्?” उनले सोधे। “उनी सन्‍चै छन्‌। उ हेर, उनका भेडाका बथान लिएर उनकी छोरी राहेल आउँदै छे!”

7 याकूबले भने, “अहिले उज्‍यालै छ। भेडा-बाख्राहरू भेला गर्ने बेला भएको छैन। तिनीहरूलाई पानी खुवाएर फेरि चराउन लगे कसो होला?”

8 तिनीहरूले उत्तर दिए, “हामी त्‍यसो गर्न सक्‍दैनौं, सबै भेडा-बाख्राहरू आइपुगेपछि मात्र इनारका मुखको ढुङ्गा हटाइन्‍छ र हामी तिनीहरूलाई पानी खुवाउँछौं।”

9 याकूब यसरी तिनीहरूसँग बोलिरहेको बेलामा राहेल भेडाका बथानसित आइपुगिन्‌।

10 मामाकी छोरी राहेललाई देखी याकूब इनारमा गए, ढुङ्गा हटाइदिए र भेडाहरूलाई पानी ख्‍वाइदिए।

11 त्‍यसपछि उनले राहेललाई म्‍वाइँ खाए र खुसीले रुन लागे।

12 उनले भने, “म तिम्रा बुबाकी बहिनी रिबेकाको छोरो हुँ।” उनी बुबालाई भन्‍न दगुरेर गइन्‌।

13 बुबाले आफ्‍ना भानिज याकूबको बारेमा सुने र दगुरेर उनलाई भेट्‍न आए, उनलाई अँगालो हाली म्‍वाइँ खाए र आफ्‍ना घरमा ल्‍याए। याकूबले सबै कुरा भनिसकेपछि

14 लाबानले भने, “हो, साँचो हो, तिमी मेरो मासु र रगत हौ।” याकूब त्‍यहाँ एक महिना बसे।


राहेल र लेआका लागि याकूबको परिश्रम

15 लाबानले याकूबलाई भने, “तिमी मेरा आफ्‍नै मानिस हौ भन्‍दैमा तिमीले सित्तैमा मेरो काम गर्नुपर्दैन। तिमी कति ज्‍याला लिन्‍छौ?”

16 लाबानका दुईटी छोरीहरू थिए, जेठीको नाम लेआ र कान्‍छीको राहेल थियो।

17 लेआका आँखा धमिला थिए तर राहेल हेर्नमा सुन्‍दरी राम्रा जिउ-डाल भएकी थिइन्‌।

18 याकूबले राहेललाई माया गरे र भने, “मलाई राहेलसित विवाह गर्न दिने हो भने म सात वर्ष तपाईंको सेवा गर्नेछु।”

19 लाबानले उत्तर दिए, “अरू कसैलाई दिनुभन्दा ता बरु म त्‍यसलाई तिमीलाई नै दिनेछु। ठीक छ, मसित बस।”

20 याकूबले राहेलको लागि सात वर्ष काम गरे तर त्‍यो उनलाई थोरै दिनजस्‍तो लाग्‍यो, कारण उनले राहेललाई प्रेम गर्थे।

21 तब याकूबले लाबानलाई भने, “अब समय पूरा भयो, मलाई तपाईंकी छोरीसित विवाह गर्न दिनुहोस्।”

22 यसकारण लाबानले विवाहको भोज लाए र सबैलाई निम्‍त्‍याए।

23 तर त्‍यस रात राहेलका सट्टामा लेआलाई उनले याकूबकहाँ पुर्‍याइदिए र याकूब उनीसित सुते।

24 (लाबानले आफ्‍नी कमारी केटी जिल्‍पालाई लेआकी दासी बन्‍नलाई दिए।)

25 भोलिपल्‍ट बिहान मात्र आफूसँग राती रहने लेआ रहिछन्‌ भनी याकूबलाई पत्तो भयो र उनले लाबानकहाँ गएर भने, “तपाईंले किन मसित यस्‍तो गर्नुभयो? म राहेलको निम्‍ति खटेको थिएँ। किन मलाई छल गर्नुभयो?”

26 लाबानले उत्तर दिए, “यहाँ जेठीभन्दा अघि कान्‍छीको विवाह गरिदिने चलन छैन।

27 विवाहको उत्‍सव सात दिन चल्‍नेछ, त्‍यतिञ्‍जेल पर्ख र त्‍यसपछि अरू सात वर्ष काम गर्न तयार छौ भने म तिमीलाई राहेल दिनेछु।”

28 याकूब राजी भए। विवाहको सातदिने उत्‍सव सकेपछि लाबानले आफ्‍नी छोरी राहेललाई याकूबकी स्‍वास्‍नी हुनलाई दिए।

29 (लाबानले आफ्‍नी कमारी केटी बिल्‍हालाई राहेलकी दासी हुनलाई दिए।)

30 याकूब राहेलसित पनि सुते, उनले राहेललाई लेआलाई भन्दा बढी प्रेम गर्थे। अरू सात वर्ष उनले लाबानको सेवा गरे।


याकूबका छोरा-छोरीहरू

31 परमप्रभुले देख्‍नुभयो कि लेआले राहेलको भन्दा कम प्रेम पाउँथी। यसकारण उहाँले उनको कोख खोलिदिनुभयो। तर राहेल बाँझी नै रहिन्‌।

32 लेआले गर्भवती भएर एउटा छोरो जन्‍माइन्‌। उनले भनिन्‌, “परमप्रभुले मेरो दु:ख हेर्नुभयो, अब मेरा लोग्‍नेले मलाई प्रेम गर्नेछन्।” उनले बालकको नाम रूबेन राखिन्‌।

33 उनले फेरि गर्भवती भएर अर्को छोरा जन्‍माइन्‌। उसले “परमप्रभुले मलाई यो छोरा पनि दिनुभयो किनभने म प्रेम पाउँदिनँ भनी उहाँले सुन्‍नुभयो” भनिन् र त्‍यसको नाम शिमियोन राखिन्‌।

34 उनी फेरि गर्भवती भएर अर्को छोरा जन्‍माइन्‌। “अब मेरो लोग्‍ने मसँग बाँधिनेछन् किनभने मैले उनका निम्‍ति तीनवटा छोरा पाइसकें,” भनेर उनले त्‍यसको नाम लेवी राखिन्‌।

35 फेरि पनि गर्भवती भएर उनले अर्को छोरा जन्‍माइन्‌। उनले “यसपालि म परमप्रभुको प्रशंसा गर्नेछु,” भनेर त्‍यसको नाम यहूदा राखिन्‌। त्‍यसपछि उनले छोरा-छोरी जन्‍माउन छोडिन्‌।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy