Online Bible

- Reklamy -

उत्पत्ति 23 - सरल नेपाली पवित्र बाइबल


साराको मृत्यु र चिहान

1 १२७ वर्षकी बुढी भइञ्‍जेल सारा बाँचिन्।

2 कनान देशको हेब्रोन सहरमा उनी मरिन्। उनको मृत्‍युमा अब्राहामले शोक गरे।

3 आफ्‍नी स्‍वास्‍नीको लाश लडिरहेको ठाउँ छोडी उनी हित्तीहरूकहाँ गए र भने,

4 “यहाँ तपाईंहरूका बीचमा म एक जना विदेशी बसेको छु, मेरी स्‍वास्‍नी गाड्‍नलाई मलाई केही जमिन बिक्री गर्नुहोस्।”

5-6 तिनीहरूले जवाफ दिए, “हाम्रा कुरा सुन्‍नुहोस्, हजुर, हामी तपाईंलाई प्रतापी अगुवा मान्‍दछौं। हामीसँग भएको सबैभन्दा असल चिहानमा तपाईंकी आफ्‍नी पत्‍नी गाड्‍नुहोस्। तपाईंकी पत्‍नी गाड्‍नलाई हामीमध्‍ये कसैले पनि चिहान दिन राजी-खुसी हुनेछ।”

7 तब अब्राहामले तिनीहरूलाई दण्‍डवत् गरेर भने,

8 “तपाईंहरू मेरी स्‍वास्‍नी यहाँ गाड्‍न दिन राजी हुनुहुन्‍छ भने कृपा गरी सोहोरका छोरा एप्रोनलाई उनको खेतको छेउमा भएको

9 मक्‍पेलाको ओडार मलाई किन्‍न दिनुहोस्। यहाँ तपाईंहरूकै सामुन्‍ने त्‍यसको पूरा दाम लिएर त्‍यो ओडार मलाई बेच्‍न भनिदिनुहोस् र त्‍यो चिहानबारीको अधिकार मैले पाऊँ।”

10 सहरको मूल-ढोकानिर सभा गर्ने ठाउँमा एप्रोन अरू हित्तीहरूसित बसिरहेको थिए। सबैले सुन्‍ने गरी उनले भने,

11 “हजुर, सुन्‍नुहोस्, त्‍यो सम्‍पूर्ण खेत र त्‍यसमा भएका ओडार म तपाईंलाई दिन्‍छु। मेरा दाजुभाइहरूका सामुन्‍ने म त्‍यो तपाईंलाई दिन्‍छु, तपाईंले त्‍यहाँ आफ्‍नी पत्‍नी गाड्‍न सक्‍नुहुन्‍छ।”

12 अब्राहामले हित्तीहरूलाई दण्‍डवत् गरे र सबैले सुन्‍ने गरी एप्रोनलाई भने,

13 “कृपा गरी मेरो कुरा सुन्‍नुहोस्। म त्‍यो सम्‍पूर्ण खेत किन्‍छु। मैले दिएको दाम लिनुहोस् र म त्‍यहाँ मेरी पत्‍नीलाई गाड्‍नेछु।”

14 एप्रोनले उत्तर दिए,

15 “हजुर, त्‍यो ठाउँको मोल त चाँदीका ४०० टुक्रा मात्र हो। हाम्रा बीचमा त्‍यो कुरा के हो र? आफ्‍नी पत्‍नी त्‍यहाँ गाड्‍नुहोस्।”

16 अब्राहाम राजी भए र एप्रोनले सबैले सुन्‍ने गरी भनेको दाम चार सय चाँदीका टुक्रा व्‍यापारीहरूले चलाउने ओजनअनुसार त्‍यहाँ तौलिदिए।

17 त्‍यस प्रकारले मम्रेको पूर्वपट्टि मक्‍पेलामा भएको एप्रोनको जमिन अब्राहामको सम्‍पत्ति भयो। त्‍यसमा खेतबारीमा त्‍यहाँ भएका ओडार र जमिनका किनारसम्‍म लगाएका सबै रूखपातहरू पर्थे।

18 त्‍यस सभामा भएका सबै हित्तीहरूले त्‍यसलाई अब्राहामका सम्‍पत्ति भनी मानिलिए।

19 तब अब्राहामले आफ्‍नी स्‍वास्‍नी सारालाई कनान देशको त्‍यस ओडारमा गाडे।

20 यसरी ओडारसमेत ती हित्तीहरूका सबै चिहान-बारीको रूपमा अब्राहामको सम्‍पत्ति भयो।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy