Online Bible

- Reklamy -

उत्पत्ति 20 - सरल नेपाली पवित्र बाइबल


अब्राहाम र अबीमेलेक

1 अब्राहाम मम्रेदेखि कनानको दक्षिण भागमा बसाइँ सरे र कादेश र शूरको बीचको भूमिमा बास गर्न लागे। पछिबाट गरारमा बसेका बेलामा

2 उनले आफ्‍नी स्‍वास्‍नी सारालाई मेरी बहिनी हो भने। त्‍यसो हुँदा गरारका राजा अबीमेलेकले सारालाई आफूकहाँ ल्‍याउन लाए।

3 एक रात परमेश्‍वर सपनामा उनकहाँ देखा पर्नुभयो र भन्‍नुभयो, “यस आइमाईलाई ल्‍याएका कारणले तँ मर्नेछस्। त्‍यो विवाह भएकी स्‍त्री हो।”

4 तर अबीमेलेक साराका छेउमा गएका थिएनन् र उनले भने, “परमप्रभु, म निर्दोष छु। के म र मेरा प्रजालाई नाश पार्नुहुन्‍छ?

5 अब्राहाम आफैंले यो मेरी बहिनी हो भनेको अनि त्‍यसले पनि म अब्राहामको बहिनी हुँ भनी। मैले त यो काम आफ्‍नो सफा विवेकसँग गरेको हुँ। मैले केही अपराध गरेको छैनँ।”

6 परमेश्‍वरले सपनामा यस्‍तो जवाफ दिनुभयो, “ठीक हो, म जान्‍दछु कि तैँले शुद्ध विवेकसित त्‍यसो गरिस्। यसैले मैले तँलाई मेरो विरुद्धमा पाप गर्नदेखि बचाएँ र त्‍यस स्‍त्रीलाई छुन दिइनँ।

7 अब त्‍यस स्‍त्रीलाई उसको पतिकहाँ फर्काइदे। ऊ एउटा अगमवक्ता हो। उसले तेरो लागि प्रार्थना गर्नेछ र तँ मर्नेछैनस्। तर उसकी स्‍वास्‍नी फर्काइदिइनस् भने म यो चेतावनी तँलाई दिँदछु कि तँ र तेरा सारा प्रजा पनि मर्नेछन्‌।”

8 भोलिपल्‍ट बिहानै अबीमेलेकले आफ्‍ना सबै भारदारहरूलाई बोलाएर के भएको थियो, सो सबै सुनाए। त्‍यो सुनी भारदारहरू डराए।

9 त्‍यसपछि अब्राहामलाई बोलाए र अबीमेलेकले भने, “तिमीले हामीसित यो के गरेको? मैले तिमीसित के खराबी गरें र यो विपत्ति तिमीले म र मेरा राज्‍यमाथि ल्‍यायौ? तिमीले मसित जे गर्‍यौ, त्‍यो कसैले गर्नुहुने कुरा होइन।

10 किन तिमीले त्‍यसो गर्‍यौ?”

11 अब्राहामले उत्तर दिए, “मैले सोचें कि यहाँ परमेश्‍वरसित डराउने कोही छैन र तिनीहरूले मेरी स्‍वास्‍नी हात पार्नलाई मलाई मार्नेछन्।

12 ऊ साँच्‍चै मेरी बहिनी पनि पर्छ। ऊ मेरा बुबाकी छोरी हो तर आमाचाहिँ भिन्‍दै हुन् र मैले उसलाई विवाह गरेको हुँ।

13 यसकारण जब परमेश्‍वरले मलाई आफ्‍ना बुबाका घरदेखि अर्काको देशमा परदेशी हुन पठाउनुभयो, मैले सारालाई भनेको थिएँ, ‘हामी जहाँजहाँ जान्छौं, तिमीले मलाई आफ्‍ना दाजु भनेर आफ्‍नो भक्ति देखाऊ है’।”

14 त्‍यसपछि अबीमेलेकले सारालाई अब्राहामकहाँ फर्काए। साथै उनले उसलाई भेडा-बाख्रा, गाई-गोरु र कमाराहरू दिए।

15 उनले अब्राहामलाई भने, “मेरो सारा देश यहाँ छ, जहाँ तिमी मन पराउँछौ, त्‍यहाँ बस।”

16 उनले सारालाई भने, “म तिम्रा दाजुलाई चाँदीका एक हजार टुक्राहरू दिँदै छु। तिमीसँग हुने सबैका अघि ती चाँदीका टुक्राले तिमी निर्दोष भयौ भन्‍ने कुराको प्रमाण हुनेछ। तिमीले केही दोष गरेकी छैनौ भनी सबैले बुझ्‍नेछन्।”

17-18 अब्राहामकी स्‍वास्‍नी सारासित जे भएको थियो, त्‍यसले गर्दा परमप्रभुले, अबीमेलेकका राजमहलका सबै स्‍त्रीहरूमा गर्भ बन्‍द गरिदिनुभएको थियो। यसकारण अब्राहामले प्रार्थना गरे र परमेश्‍वरले अबीमेलेकलाई निको पार्नुभयो। उहाँले उनकी स्‍वास्‍नी रानी र कमारी केटीहरूलाई पनि निको पार्नुभयो र तिनीहरू सन्‍तान जन्‍माउन सक्‍ने भए।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy