Online Bible

- Reklamy -

उत्पत्ति 19 - सरल नेपाली पवित्र बाइबल


सदोमका पापहरू

1 त्‍यस बेलुका ती दुई स्‍वर्गदूतहरू सदोम आइपुग्‍दा लोत सहरको मूल-ढोकानिर बसिरहेका थिए। तिनीहरूलाई देख्‍ने बित्तिकै उनी उठे र तिनीहरूलाई भेट्‍न गए। तिनीहरूको सामु उनले शिर निहुराए

2 र भने, “हजुरहरू हो, हजुरका सेवा गर्नलाई म यहाँ छु। मेरो घरमा पाल्‍नुहोस्। हातपाउ धोई राती बास बस्‍न सक्‍नुहुन्‍छ। बिहान सखारै उठेर आफ्‍नो बाटो लाग्‍नुहोस्।” तर तिनीहरूले उत्तर दिए, “होइन, हामी यहाँ सहरका चोकमा रात बिताउनेछौं।”

3 उनले तिनीहरूलाई बिन्‍ती गरिरहे र अन्‍तमा तिनीहरू उनीसँग उनको घर गए। लोतले आफ्‍ना चाकरहरूलाई पाहुनाका निम्‍ति केही रोटी बनाएर असल खाना तयार गर्न लाए। खाना तयार भएपछि तिनीहरूले खाए।

4 पाहुनाहरू सुत्‍न जानुअघि सदोमका मानिसहरूले लोतको घर घेरे। बुढा, युवा र सहरका सबै मानिसहरू त्‍यहाँ थिए।

5 तिनीहरूले लोतलाई डाकेर भने, “आज राती तिमीसित बास बस्‍न आउने मानिसहरू कहाँ छन्? तिनलाई हाम्रा सामु ल्‍याऊ।” सदोमबासीहरू ती दुईसँग शारीरिक सम्पर्क गर्न चाहन्‍थे।

6 लोत बाहिर निस्‍के र ढोका आफ्‍नो पछिल्‍तिर थुनिदिए।

7 र तिनीहरूलाई भने, “होइन, साथीहरू हो, म बिन्‍ती गर्छु, यस्‍तो खराबी काम नगर।

8 हेर, मेरा दुई छोरीहरू छन्, तिनीहरू अझै कन्‍या नै छन्। म ती दुईलाई बाहिर निकालिदिनेछु। तिमीहरूलाई जे मन पर्छ, त्‍यो तिनीहरूसँग गर्न सक्‍छौ। तर यी मानिसहरूलाई केही नगर, यिनीहरू मेरो घरका पाहुना हुन् र मैले तिनीहरूको रक्षा गर्नैपर्छ।”

9 तर तिनीहरूले भने, “हाम्रो बाटो छोड्, तँ बाहिरको मानिस होस्। हामीले के गर्नुपर्छ, त्‍यो हामीलाई सिकाउने तँ को होस्? हाम्रो बाटोदेखि हट्, नत्र, तिनीहरूलाई भन्दा अझै तँलाई हामी ठीक पार्नेछौं।” तिनीहरूले लोतलाई ठेलेर घचेटे र ढोका भत्‍काउन अघि बढे।

10 तर ती दुई मानिसहरूले भित्रबाट हात बढाएर लोतलाई तानी लगे र ढोका थुनिदिए।

11 त्‍यसपछि बाहिरका सबै मानिसहरूलाई अन्‍धा पारिदिए र तिनीहरूले ढोका भेट्टाउन सकेनन्।


लोतले सदोम छोड्छन‌्‌

12 ती दुई मानिसहरूले लोतलाई भने, “यदि यहाँ तिम्रा अरू कोही छन् भने, यस सहरमा तिम्रा छोरा-छोरी, जुवाइँ वा अरू कोही नातेदारहरू छन् भने तिनीहरू सबैलाई यहाँबाट निकालिहाल

13 किनभने हामी यस ठाउँलाई नाश पार्नेछौं। परमप्रभुले यी मानिसहरूका विरुद्धमा लगाएका डरलाग्‍दा दोषहरूका बारेमा सुन्‍नुभएको छ र हामीलाई सदोम सहर नाश गर्न पठाउनुभएको छ।”

14 तब लोत आफ्‍ना छोरीहरूलाई विवाह गर्न माग्‍ने पुरुषहरूकहाँ गए र भने, “चाँडो गर र यहाँबाट निस्‍किहाल। परमप्रभुले यस ठाउँलाई नाश पार्नुहुनेछ।” तर लोतले ठट्टा गरेका होलान्‌ भनी तिनीहरूले सोचे।

15 मिरमिरे उज्‍यालो हुँदा ती स्‍वर्गदूतहरूले लोतलाई हतार गर्न लाए। तिनीहरूले भने “छिटो गर, तिम्री स्‍वास्‍नी र तिम्रा दुई छोरीहरूलाई साथमा लिई तिमी गइहाल। त्‍यसो भए, सहर नाश हुँदा तिमीहरूको ज्‍यानचाहिँ जानेछैन।”

16 लोतले आले-टाले गरिरहे। तर परमप्रभुले उनलाई टिठ्याउनुभयो, यसकारण ती दुई मानिसहरूले तिनका, तिनकी स्‍वास्‍नीका र दुई छोरीहरूका हात समाती तानेर तिनीहरूलाई सहरदेखि बाहिर ल्‍याइदिए।

17 तब एउटा दूतले भने, “ज्‍यान बचाउन दगुर। पछि फर्केर नहेर्नू अनि बेसीमा नअडिनू। दगुरेर पहाडतिर भाग र मात्र तिमीहरू मर्नेछैनौ।”

18 तर लोतले जवाफ दिए, “होइन, हजुर, दया गरी त्‍यसो गर्न भनी हामीलाई नभन्‍नुहोस्।

19 तपाईंहरूले ममाथि ठूलो कृपा गरेर ज्‍यान बचाइदिनुभयो। तर ती पहाडहरू धेरै टाढा छन्, यस विपत्तिले मलाई भेट्टाउनेछ र त्‍यहाँ पुग्‍नुभन्दा अघि नै मेरो ज्‍यान जानेछ।

20 ऊ त्‍यो सहर देख्‍दै हुनुहुन्‍छ? (त्‍यो नजिकपर्छ।) मलाई त्‍यहीँ जान दिनुहोस्। त्‍यो एउटा सानो ठाउँ हो भनी देखिन्‍छ अनि म त्‍यहाँ कुशलसाथ रहनेछु।”

21 उनले भने, “ठीक छ, हुन्‍छ। म त्‍यो सहर नाश गर्दिनँ।

22 चाँडो गर, दगुर, तिमीहरू त्‍यहाँ नपुगुञ्‍जेल म केही गर्न सक्‍दिनँ।” लोतले त्‍यस सहरलाई सानो छ भनेको हुनाले त्‍यसको नाम सोअर राखियो।


सदोम र गमोराको नाश

23 लोत सोअर पुग्‍दा घाम झुल्‍कँदैथ्‍यो।

24 अचानक परमप्रभुले सदोम र गमोरा सहरमाथि गन्‍धकको आगो बर्साउनुभयो।

25 ती सहरहरू, त्‍यहाँका सम्‍पूर्ण बेसी, त्‍यहाँ भएका सबै मानिसहरू र त्‍यहाँ उम्रेका सबै थोकहरूसमेत परमप्रभुले नाश पार्नुभयो।

26 तर लोतकी स्‍वास्‍नीले पछि फर्केर हेरी र नुनको थाम भइहाली।

27 भोलिपल्‍ट बिहानै अब्राहाम त्‍यस ठाउँमा हतार-हतार गए, जहाँ तिनी परमप्रभुको सामु उभिएका थिए।

28 उनले मुन्‍तिर सदोम र गमोरालाई र सम्‍पूर्ण बेसीलाई हेरे र त्‍यहाँबाट धुवाँ ठूलो आगोको भट्टिको धुवाँजस्‍तै उँभो उठिरहेको देखे।

29 तर परमेश्‍वरले लोतले बास गरेका बेसीमा ती सहरहरू नाश पार्नुहुँदा उहाँले अब्राहामलाई सम्‍झनुभयो र लोतलाई कुशल ठाउँमा जान दिनुभयो।


मोआबी र अम्‍मोनीहरूका पुर्खा

30 लोत सोअरमा बस्‍न डराए र उनी आफ्‍ना दुई छोरीहरूसित पहाडमा गए र त्‍यहाँ एउटा गुफामा बस्‍न लागे।

31 ठूली छोरीले बहिनीचाहिँलाई भनी, “बुबा बुढा हुँदै छन्। हामीलाई विवाह गर्ने मानिसहरू संसारमा कोही छैन र हामी छोरा-छोरी जन्‍माउन सक्‍नेछैनौं।

32 आइज, बुबालाई मद्य खुवाएर मताऔं र उहाँसित सुतेर आफ्‍ना सन्‍तान खडा गरौं।”

33 त्‍यस रात तिनीहरूले उनलाई मद्य खुवाए र ठूली छोरी उनीसित सुती। राती औधी मातेको हुनाले लोतले केही थाहा पाएनन्‌।

34 भोलिपल्‍ट ठूली छोरीले बहिनीलाई भनी, “म हिजो राती बुबासँग सुतें। आज राती पनि उहाँलाई मद्य खुवाऔं र तँ उहाँसित सुत्। तब हामी दुवैले आफ्‍ना बुबाको सन्‍तान जन्‍माउनेछौं।”

35 त्‍यसरी त्‍यो रात तिनीहरूले बुबालाई मद्य खुवाए र सानी छोरी उनीसित सुती। फेरि पनि औधी मातेको हुनाले उसले केही थाहा पाएनन्‌।

36 यस प्रकारले लोतका दुवै छोरीहरू आफ्‍नै बुबाद्वारा गर्भवती भए।

37 ठूलीचाहिँको एउटा छोरो जन्‍म्‍यो, उसले त्‍यसको नाम मोआब राखिन्‌। तिनै आजका मोआबीहरूका पुर्खा भए।

38 सानी छोरीको पनि एउटा छोरो भयो र त्‍यसको नाम बेनअमी राखिन्‌। तिनै आजका अम्‍मोनीहरूका पुर्खा भए।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy