Online Bible

- Reklamy -

उत्पत्ति 18 - सरल नेपाली पवित्र बाइबल


अब्राहामको छोरो जन्मने प्रतीज्ञा

1 मम्रेको पवित्र रूखछेउमा परमप्रभुले अब्राहामलाई दर्शन दिनुभयो। अब्राहाम दिउँसोको चौपट्ट गर्मीमा आफ्‍ना पालको ढोकानिर बसिरहेका थिए।

2 उनले आँखा उचालेर हेरे र तीन जना मान्‍छेहरू उभिरहेका देखे। तिनीहरूलाई देख्‍नेबित्तिकै उनी दगुरेर तिनीहरूलाई भेट्‍न गए। निहुरेर निधारले भूइँ छोएर

3 उनले भने, “हजुरहरू हो, मेरो घरमा नबसी नजानुहोस्, तपाईंहरूको सेवा गर्नलाई म यहाँ छु।

4 तपाईंहरूका पाउ धुनलाई मलाई केही पानी ल्याउन दिनुस्‌। तपाईंहरू यहाँ रूखमुनि विश्राम लिनुहोस्।

5 अलिकता भोजन पनि म लिई आउनेछु। त्‍यसले बाँकी यात्रा गर्न तपाईंहरूलाई बल दिनेछ। मेरो घरमा आएर मेरो आदर गर्नुभयो, अब मलाई तपाईंहरूको सेवा गर्न दिनुहोस्।” तिनीहरूले उत्तर दिए, “धन्‍यवाद, तिम्रा कुरा हामीलाई स्‍वीकार छ।”

6 हतारसित पालमा पसेर उनले सारालाई भने, “चाँडो गर, एक थैलो सबैभन्दा असल आँटा लिएर केही रोटी बनाऊ।”

7 त्‍यसपछि दगुरेर उनी पशुका बथानबीच गए र एउटा कलिलो पोसाएको बाछो ल्‍याएर नोकरलाई दिए। नोकरले त्‍यो हतार-हतार तयार गर्न थाल्‍यो।

8 उनले केही मखन, दूध र त्‍यो मासु लगी ती मानिसहरूका अघि भोजन टक्र्याए। त्‍यहाँ रूखमुनि उनले तिनीहरूलाई खाना टक्र्याए र तिनीहरूले खाए।

9 तब तिनीहरूले उनलाई सोधे, “तिम्री स्‍वास्‍नी सारा कहाँ छिन्‌?” “तिनी पालमा छिन्‌,” उनले जवाफ दिए।

10 तीमध्‍ये एक जनाले भने, “आजको नौ महिनामा म फेरि यहाँ आउनेछु। तिम्री स्‍वास्‍नी साराले एउटा छोरो जन्‍माउनेछे।” साराले उनको पछाडिपट्टि पालका ढोकामा उभिएर सुनिरहेकी थिइन्।

11 अब्राहाम र सारा वृद्ध भइसकेका थिए। साराको रजस्वला पनि बन्‍द भइसकेको थियो।

12 यसैले सारा आफ्‍नो मनमा यसो भन्‍दै हाँसिन्, “म अब बुढी भएर थाकिसकेकी छु। के म अब यो सुख-भोग गर्न सकूँला र? अनि फेरि मेरा लोग्‍ने पनि त बुढा भइसकेका छन्।”

13 तब परमप्रभुले अब्राहामलाई सोध्‍नुभयो, “ ‘म यति बुढो भएर कसरी छोरा-छोरी जन्‍माउन सकूँली र?’ भनेर सारा किन हाँसी?

14 के परमप्रभुको निम्‍ति केही कुरो कठिन छ र? मैले भनेअनुसार नौ महिनापछि म फर्की आउनेछु अनि साराले एउटा छोरो जन्‍माउनेछे।”

15 सारा डराइन्। त्‍यो कुरा इन्‍कार गरिन्। उनले भनिन्, “म हाँसिनँ है।” “हो, तँ हाँसिस्, तँ हाँसेकै होस्,” उहाँले भन्‍नुभयो।


सदोमको लागि अब्राहामको बिन्‍ती

16 तब ती मानिसहरू उठे र त्‍यस ठाउँमा गए, जहाँबाट सदोम देखिन्‍थ्‍यो। तिनीहरूसँग अलि परसम्‍म गई अब्राहामले तिनीहरूलाई बिदा गरे।

17 परमप्रभुले आफ्‍नो मनमा यस्‍तो सोच्‍नुभयो, “मैले के गर्न आँटेको छु, सो अब्राहामबाट लुकाउनेछैनँ।

18 उसका सन्‍तानहरू एक महान् र सामर्थी जाति बन्‍नेछन् र ऊद्वारा म सबै जातिहरूलाई आशिष् दिनेछु।

19 आफ्‍ना छोरा-नातिहरूलाई मेरा आज्ञा मान्‍न र जे कुरा ठीक र न्‍यायसङ्गत छ, सो गर्न आदेश देओस् भनी मैले अब्राहामलाई चुनेको हुँ। तिनीहरूले त्‍यसो गरे भने मैले प्रतिज्ञा गरेका सबै कुराहरू उसको लागि पूरा गर्नेछु।”

20 तब परमप्रभुले अब्राहामलाई भन्‍नुभयो, “सदोम र गमोरामाथि ठूलो डरलाग्‍दो दोष लगाइएका छन् अनि तिनीहरूले ठूला पाप गरेका छन्।

21 तिनीहरूमाथि लगाइएका र मैले सुनेका ती दोषहरू साँचा हुन् कि होइनन्, सो बुझ्‍नलाई म त्‍यहाँ जानुपर्छ।”

22 तब दुई मानिसहरू हिँडे र सदोमतिर गए तर परमप्रभुचाहिँ अब्राहामसित रहनुभयो।

23 परमप्रभुको छेउमा गएर अब्राहामले सोधे, “के तपाईंले साँच्‍चै निर्दोषहरूलाई पनि अपराधीहरूसितै नाश गर्नुहुन्‍छ?

24 यदि त्‍यस सहरमा पचास जना निर्दोष मानिसहरू छन् भने पनि सारा सहरलाई नै नाश पार्नुहुनेछ? ती पचास जनालाई बचाउन के त्‍यस सहरलाई छोडिदिनुहुन्‍न?

25 निश्‍चय नै अपराधीहरूसँग तपाईंले निर्दोषीहरूलाई मार्नुहुन्‍न। त्‍यसो हुन सक्‍दैन! तपाईंले त्‍यसो गर्न सक्‍नुहुन्‍न। तपाईंले त्‍यसो गर्नुभयो भने अपराधीहरूसित निर्दोषहरूले पनि दण्‍ड पाउनेछन्। त्‍यो हुन नसक्‍ने कुरा हो। सारा पृथ्‍वीका न्‍यायकर्ताले ठीकसँग न्‍याय गर्नुहुन्‍न र?”

26 परमप्रभुले उत्तर दिनुभयो, “मैले सदोममा पचास जना निर्दोष मानिसहरूलाई पाएँ भने तिनीहरूको खातिर म पूरा सहर नै छोडिदिनेछु।”

27 अब्राहामले फेरि भने, “परमप्रभु तपाईंसित बोलिरहने यो मेरो आँटलाई क्षमा गर्नुहोस्। म मानिस मात्र हुँ र मेरो केही भन्‍ने हक छैन।

28 तर पचास जनाका सट्टामा पैँतालीस जना मात्र निर्दोष मानिसहरू पाइएलान्। तब के पाँच जना कम हुँदा सारा सहरै नाश पार्नुहुन्‍छ र?” परमप्रभुले उत्तर दिनुभयो, “पैँतालीस जना निर्दोष मानिसहरू पाएँ भने म सहरलाई नाश गर्नेछैनँ।”

29 अब्राहाम फेरि बोले, “सायद चालीस जना मात्र पाइएलान् नि।” उहाँले भन्‍नुभयो, “चालीस जना मात्र भए पनि म त्‍यो सहर नाश गर्नेछैनँ।”

30 अब्राहामले भने, “रिसानी माफ गर्नुहोला परमप्रभु, म फेरि बिन्‍ती नगरी सक्‍दिनँ। तीसै जना मात्र भए नि, कसो गर्नुहुनेछ?” उहाँले भन्‍नुभयो, “तीस जना पाए पनि म नाश गर्दिनँ।”

31 अब्राहामले भने, “म तपाईंसँग बोलिरहने आँट गरिरहेको छु, माफ गर्नुहोला, परमप्रभु मानिलिनुहोस्, बीसै जना मात्र भए नि।” उहाँले भन्‍नुभयो, “बीसै जना पाएँ भने म त्‍यस सहरलाई नाश गर्नेछैनँ।”

32 अब्राहामले भने, “परमप्रभु, अब एकचोटि बिन्‍ती गर्छु, रिसानी माफ गर्नुहोला, दशै जना मात्र पाइए भने कसो होला?” उहाँले भन्‍नुभयो, “दश जना छन् भने पनि म नाश गर्नेछैनँ।”

33 यसरी अब्राहामसित कुरा गरिसकेपछि परमप्रभु बिदा हुनुभयो अनि अब्राहाम घर फर्के।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy