Online Bible

- Reklamy -

उत्पत्ति 17 - सरल नेपाली पवित्र बाइबल


करारको चिनो खतना

1 अब्राम उनान्‍सय वर्षको हुँदा परमप्रभुले उनलाई दर्शन दिएर भन्‍नुभयो, “म सर्वशक्तिमान् परमेश्‍वर हुँ। मेरो आज्ञा मान् र सधैँ जे ठीक छ, त्‍यो गर्‌।

2 म तँसित करार बाँध्‍नेछु र धेरै सन्‍तानहरू तँलाई दिनेछु।”

3 अब्रामले निहुरेर भूइँ छोए अनि परमेश्‍वरले भन्‍नुभयो,

4 “म तँसँग यो करार बाँध्‍छु। म करार गर्दछु कि तँ धेरै-धेरै जातिहरूका पुर्खा हुनेछस्।

5 अब उसो तेरो नाम अब्राम होइन तर ‘अब्राहाम’ हुनेछ किनभने म तँलाई धेरै जातिहरूका पुर्खा बनाउँदै छु।

6 म तँलाई धेरै सन्‍तान दिनेछु, तीमध्‍ये कतिजना राजा हुनेछन्। तेरा यति धेरै सन्‍तानहरू हुनेछन् कि तीबाट धेरै जातिहरू बनिनेछन्।

7 “मैले तँसित, तेरा सन्‍तान र आउँदा वंशहरूसित गरेको यो करार सदाकालको लागि करार बनाइराख्‍नेछु। म तँ र तेरा सन्‍तानका परमेश्‍वर हुनेछु।

8 म तँलाई र तेरा वंशलाई यो देश दिनेछु, जुन देशमा तँ अहिले परदेशी छस्। सारा कनान देश सधैँभरिको लागि तेरा सन्‍तानको हुनेछ र म तिनीहरूका परमेश्‍वर हुनेछु।”

9 परमेश्‍वरले अब्राहामलाई भन्‍नुभयो, “तँ, तेरा सन्‍तान र आउँदा वंशहरूले पनि यो करार मसँग राख्‍न राजी हुनुपर्नेछ।

10 तँ तेरा सन्‍तान र आफ्‍ना बीचमा भएका हरेक पुरुषको खतना गर्न राजी हुनुपर्नेछ।

11-12 अबउसो जन्‍मेको आठ दिन भएपछि तिमीहरूका हरेक छोरोको खतना गरिनुपर्नेछ। घरमा जन्‍मेका र विदेशीहरूबाट तिमीहरूले किनेका कमाराहरूबाट जन्‍मेका पनि त्‍यसरी नै खतना गरिनुपर्नेछ। त्‍यसले तेरा र मेरा बीचमा एउटा करार बाँधिएको छ भनी देखाउनेछ।

13 प्रत्‍येकको खतना हुनुपर्छ र मैले तिमीहरूसँग बाँधेको करार सदाकालको निम्‍ति हो भनी जनाउने यो एउटा शरीरको चिनो हुनेछ।

14 खतना नलिने मानिस मेरा जनहरूमध्‍येको भनी मानिनेछैन किनभने त्‍यसले मसँग गरिएको करार मानेको हुँदैन।”

15 परमेश्‍वरले अब्राहामलाई भन्‍नुभयो, “अबदेखि तैँले तेरी स्‍वास्‍नीलाई साराई भनी बोलाउनेछैनस्, अब उसको नाम ‘सारा’ हुनेछ।

16 म उसलाई आशिष् दिनेछु र उसबाट तँलाई एउटा छोरो दिनेछु। म उसलाई आशिष् दिनेछु र ऊ जाति-जातिका आमा हुनेछे र उसबाट जन्‍मेका सन्‍तानमा राजाहरू पनि हुनेछन्।”

17 अब्राहामले निहुरेर निधारले भूइँ छोए तर यस्‍तो विचार गरेर हाँसे, “मानिस सय वर्षको बुढो हुँदा छोरा-छोरीको बुबा बन्‍न सक्‍छ र? नब्‍बे वर्षकी साराले छोरा-छोरी जन्‍माउन सक्‍ली र?”

18 उनले परमेश्‍वरलाई प्रश्‍न गरे, “किन? इश्‍माएलले नै मपछि छोराले पाउने अधिकार पाओस् न?”

19 तर परमेश्‍वरले भन्‍नुभयो, “अँहँ, हुँदैन, तेरी स्‍वास्‍नी साराले एउटा छोरो जन्‍माउनेछे, त्‍यसको नाम तैँले इसहाक राख्‍नेछस्। म त्‍योसित र त्‍यसका सन्‍तानसित सदाकालको निम्‍ति आफ्‍नो करार राख्‍नेछु। यो करार सदासर्वदाको लागि हो।

20 तैँले इश्‍माएलको निम्‍ति गरेको बिन्‍ती मैले सुनें र म त्‍यसलाई आशिष् दिनेछु र धेरै छोरा-नातिहरू दिनेछु। त्‍यसका वंशमा बाह्र जना राजकुमारहरू जन्‍मनेछन् र त्‍यसका सन्‍तानलाई पनि म एउटा महान् जाति बनाउनेछु।

21 तर साराले जन्‍माउने इसहाकसँग नै म मेरो करार पूरा गर्नेछु, त्‍यो बालक यस्‍तै बेलामा आउँदो साल जन्‍मनेछ।”

22 अब्राहामसँग कुरा गरिसकेपछि परमेश्‍वर बिदा हुनुभयो।

23 त्‍यही दिन अब्राहामले परमेश्‍वरले भनेअनुसार गरे र आफ्‍नो छोरो इश्‍माएल र घरमा भएका सबै पुरुषहरू अनि आफ्‍ना घरमा जन्‍मेका वा आफूले अरूदेखि किनेका कमाराहरू सबैको खतना गरे।

24 खतना गर्दा अब्राहामको उमेर उनान्‍सय वर्ष अनि

25 छोरो इश्‍माएलको उमेर १३ वर्ष थियो।

26-27 ती दुवैको खतना एकै दिनमा अब्राहामका सबै कमाराहरूसँग एकै साथ भयो।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy