Online Bible

- Reklamy -

उत्पत्ति 13 - सरल नेपाली पवित्र बाइबल


अब्राम र लोत छुट्टिन्छन्

1 मिश्रबाट निस्‍केर अब्राम उत्तरतर्फ लागे र आफ्‍नी पत्‍नी र आफूसँग भएका सबै थोकहरू लिएर कनान देशको दक्षिण भागमा पुगे। लोत पनि उनीसँगै थिए।

2 अब्राम खुबै धनी थिए। उनीसँग भेडाहरू र बाख्राहरू र गाई-गोरु र सुन-चाँदीहरू थिए।

3 तब उनले त्‍यो ठाउँ छोडे र ठाउँ सर्दैसर्दै बेथेलतिर गए। उनी अघि आफू पाल टाँगेर बसेको बेथेल र ऐको बीचको ठाउँमा पुगे,

4 जहाँ उनले एउटा वेदी पनि बनाएका थिए। त्‍यहाँ परमप्रभुको आराधना गरे।

5 लोतका भेडा-बाख्रा, गाई-गोरु र आफ्‍नै बालबच्‍चा र नोकर-चाकरहरू थिए।

6 ती दुवैका गाई-वस्‍तुलाई चर्ने ठाउँ पुग्‍दो भएन र ती दुई एकैसाथ बस्‍न सकेनन् किनभने तिनीहरूका पशुहरू साह्रै धेरै थिए।

7 यसैले अब्राम र लोतका गाई-वस्‍तु हेर्ने गोठालाहरूका बीचमा झगडा भयो। (त्‍यस बेला कनानी र परिज्‍जीहरू त्‍यही देशमा बास गरिरहेका थिए।)

8 तब अब्रामले लोतलाई भने, “हामी आफन्‍त हौं, हाम्रा मानिसहरूले आपसमा झगडा गर्नुहुन्‍न।

9 यसकारण हामीहरू छुटौं, तिमीले चाहेको जमिन रोज, तिमी एकापट्टि जाऊ, म अर्कोपट्टि जानेछु।”

10 लोतले चारैपट्टि हेरे र प्रशस्‍त पानी भएको यर्दनको बेसी सोअरसम्‍म फैलिएको देखे। त्‍यहाँ परमप्रभुको बगैँचा वा मिश्रदेशमा झैँ प्रशस्‍त पानी थियो। (यो परमप्रभुले सदोम र गमोरा नाश पार्नुभन्दा अघिको कुरो हो।)

11 यसरी लोतले सारा यर्दनको बेसी आफ्‍नो लागि रोजे र पूर्वपट्टि गए। त्‍यसरी ती दुई छुट्टिए।

12 अब्राम कनान देशमा बसे र लोत बेसीका सहरहरूबीच सदोमका छेउमा बस्‍न लागे।

13 सदोमका मानिसहरू दुष्‍ट थिए र परमप्रभुका विरुद्धमा पाप गर्थे।


अब्राम हेब्रोनमा जान्‍छन्

14 लोत गएपछि परमप्रभुले अब्रामलाई भन्‍नुभयो, “तँ जहाँ छस्, त्‍यहाँबाट चारैपट्टि हेर्‌।

15 तैँले देखेका जति जम्‍मै जमिन म तँलाई र तेरा सन्‍तानलाई दिनेछु र ती सधैँको लागि तेरा हुनेछन्।

16 म तँलाई यति धेरै छोरा-नातिहरू दिनेछु कि कसैले तिनीहरूको गन्‍ती लिन सक्‍नेछैन। तीभन्दा बरु पृथ्‍वीको धुलो गन्‍न सजिलो होला।

17 अब गएर पूरा देशलाई हेर्‌ किनभने त्‍यो सम्‍पूर्ण म तँलाई दिनेछु।”

18 अनि अब्रामले आफ्‍ना पाल सारेर हेब्रोनमा मम्रेका पवित्र रूखहरूका छेउमा बास गर्न थाले। त्‍यहाँ उनले परमप्रभुको लागि एउटा वेदी बनाए।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy