उत्पत्ति 1 - सरल नेपाली पवित्र बाइबलसृष्टिको कथा 1 सुरुमा जब परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो, 2 पृथ्वी आकारबिनाको, उजाड र सुनसान थियो। पानीले सबै ठाउँ ढाकेको थियो र गहिरो अन्धकार थियो। अनि पानीमाथि परमेश्वरका आत्मा घुमिरहनुहुन्थ्यो। 3 तब परमेश्वरले आज्ञा गर्नुभयो, “उज्यालो होस्,” अनि उज्यालो भयो। 4 त्यो देखेर परमेश्वर खुसी हुनुभयो। तब उहाँले उज्यालोलाई अँध्यारोबाट अलग पार्नुभयो 5 र उज्यालोलाई ‘दिन’ र अँध्यारोलाई ‘रात’ नाम दिनुभयो। साँझ पर्यो र बिहान भयो– पहिलो दिन। 6-7 तब परमेश्वरले आज्ञा गर्नुभयो, “पानीलाई भाग गरेर बीचमा एउटा अन्तर होस् र त्यसले पानी अलग-अलग ठाउँमा छुट्ट्याइराखोस्।” अनि त्यसै भयो। यसरी परमेश्वरले एउटा अन्तर बनाउनुभयो र त्यसका मुनि र माथिको पानीलाई छुट्ट्याउनुभयो। 8 त्यस अन्तरलाई उहाँले ‘आकाश’ नाम दिनुभयो। साँझ पर्यो र बिहान भयो– दोस्रो दिन। 9 तब परमेश्वरले आज्ञा गर्नुभयो, “आकाशमुनिको पानी एकै ठाउँमा जम्मा होस् र सुक्खा जमिन देखा परोस्!” अनि त्यस्तै भयो। 10 उहाँले सुक्खा जमिनलाई ‘पृथ्वी’ र जम्मा भएको पानीलाई ‘समुद्र’ नाम दिनुभयो। त्यो देखेर परमेश्वर खुसी हुनुभयो। 11 तब उहाँले आज्ञा गर्नुभयो, “पृथ्वीले सबै प्रकारका रूखपात, अन्न र फल फलाउने बोटहरू उमारोस्।” अनि त्यस्तै भयो। 12 यसरी पृथ्वीले हरेक प्रकारका रूखपात उमार्यो र यो देखेर परमेश्वर खुसी हुनुभयो। 13 साँझ पर्यो र बिहान भयो– तेस्रो दिन। 14 तब परमेश्वरले आज्ञा गर्नुभयो, “दिन र रात छुट्ट्याउन र दिन, वर्ष र धर्मिक चाडहरू जनाउन आकाशमा ज्योतिहरू देखा परून्। 15 पृथ्वीमा ज्योति दिन तिनीहरू आकाशबाट चम्कून्।” अनि त्यस्तै भइहाल्यो। 16 परमेश्वरले दिउँसो राज्य गर्न घाम र राती राज्य गर्न जून, दुईवटा ठूल्ठूला ज्योतिहरू बनाउनुभयो। उहाँले ताराहरू पनि बनाउनुभयो। 17 उहाँले ती ज्योतिहरूलाई पृथ्वीमाथि चम्कन, 18 दिन र रातमाथि राज्य गर्न र उज्यालो र अँध्यारोलाई छुट्ट्याउन आकाशमा राख्नुभयो। अनि त्यो देखेर परमेश्वर खुसी हुनुभयो। 19 साँझ पर्यो र बिहान भयो– चौथो दिन। 20 तब परमेश्वरले आज्ञा गर्नुभयो, “पानी थरी-थरीका जन्तुहरूले भरियोस् अनि आकाश पंक्षीहरूले भरियोस्।” 21 यसरी परमेश्वरले ठूल्ठूला जल-जन्तु, पानीमा बास गर्ने सबै थरीका जन्तुहरू र सबै प्रकारका चरा-चुरुङ्गीहरू सृष्टि गर्नुभयो। त्यो देखेर परमेश्वर खुसी हुनुभयो। 22 उहाँले तिनीहरू सबैलाई आशिष् दिनुभयो, पानीमा बास गर्नेहरूलाई बढ्दैगएर समुद्रमा भरिंदै जानू भन्नुभयो र चरा-चुरुङ्गीहरूलाई पनि बढ्दैजानू भन्नुभयो। 23 साँझ पर्यो र बिहान भयो– पाँचौँ दिन। 24 तब परमेश्वरले आज्ञा गर्नुभयो, “पृथ्वीले हरेक थरीका ठूला-साना घरपालुवा र बन-पशुहरू उत्पन्न गरोस्,” अनि त्यस्तै भइहाल्यो। 25 यसरी परमेश्वरले ती सबैलाई बनाउनुभयो र ती देखेर खुसी हुनुभयो। 26 तब परमेश्वरले भन्नुभयो, “अब हामी मानिसलाई हाम्रै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं। तिनीहरूले माछा, चरा-चुरुङ्गी, ठूला-साना सबै घरपालुवा र जङ्गली पशुहरूमाथि अधिकार गरून्।” 27 यसरी परमेश्वरले मानिसजातिलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। तिनीहरूलाई नर र नारी गरी सृष्टि गर्नुभयो। 28 परमेश्वरले आशिष् दिँदै यसो भन्नुभयो, “तिम्रा धेरै छोरा-छोरीहरू होऊन् र तिम्रा सन्तानले सारा पृथ्वी भरून् र त्यसमाथि अधिकार गरून्। माछा, चरा-चुरुङ्गी र सबै जङ्गलका पशुहरू म तिम्रा हातमा दिँदै छु। 29 मैले तिमीहरूलाई सबै प्रकारका अन्न र फलहरू खानलाई दिएको छु। 30 तर सबै जङ्गली पशुहरू र चरा-चुरुङ्गीको लागि चाहिँ तिनीहरूलाई खानलाई घाँस-पातहरू दिएको छु।” अनि त्यस्तै भइहाल्यो। 31 परमेश्वरले आफूले बनाएका सबै थोकलाई हेर्नुभयो र साह्रै खुसी हुनुभयो। साँझ पर्यो र बिहान भयो– छैटौँ दिन। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society