Online Bible

- Reklamy -

गलाती 2 - सरल नेपाली पवित्र बाइबल


पावल र अरू प्रेरितहरू

1 चौध वर्षपछि म र बारनाबास यरूशलेम गयौं। मैले तीतसलाई पनि लगें।

2 परमेश्‍वरले जानू भन्‍नुभएकोले म त्‍यहाँ गएँ। मैले गरिरहेको काम खेर नजाओस् भनेर अरू जातिलाई प्रचार गरेको सुसमाचार मण्‍डलीका ठूलाहरूलाई मात्र सुनाएँ।

3 उनीहरूले मसँगै रहने तीतसलाई ग्रीक भए तापनि खतना गर्न कर लाएनन्।

4 तैपनि कति जना झूटा दाजुभाइहरू मण्‍डलीभित्र पसेर हामीले ख्रीष्‍टबाट पाएको छुटकाराको चियो गरे र हामीलाई व्यवस्थाको कमारो बनाउन खोजे।

5 तर सुसमाचारको सत्‍य तिमीहरूसँग रहिरहोस् भनेर हामीहरू उनीहरूबाट एकै छिन पनि दबेनौं।

6 तर ती ठूलाहरू जतिकै ठूला भए पनि मलाई केही फरक पर्दैन। परमेश्‍वरले मान्‍छेको मुख हेर्नुहुन्‍न। ती ठूलाहरूले मलाई कुनै पनि नयाँ सल्‍लाह दिएनन्।

7 तर परमेश्‍वरले इस्राएलीहरूकहाँ पत्रुसलाई खटाएझैँ परमेश्‍वरले नै मलाई पनि अरू जातिमा सुसमाचार प्रचार गर्न खटाएको उनीहरूले थाहा पाए।

8 पत्रुसलाई इस्राएलीहरूकहाँ प्रचार गर्न प्रेरित बनाउनुहुने परमेश्‍वरले नै मलाई पनि अरू जातिका बीचमा काम गर्ने प्रेरित बनाउनुभएको हो।

9 यो मेरो लागि परमेश्‍वरको ठूलो अनुग्रह हो। यस कुरालाई याकूब, पत्रुस र यूहन्‍नाजस्‍ता अगुवाहरूले पनि मानेका छन्। यसकारण उनीहरूले बारनाबास र मलाई हात मिलाउँदै आफ्‍नो संगतिमा लिए। हामीचाहिँ अरू जातिका बीचमा काम गर्ने भयौं अनि उनीहरूचाहिँ इस्राएलीहरूका बीचमा काम गर्ने भए।

10 एउटा कुराचाहिँ उनीहरू सबैले भने, खाँचो पर्ने गरीबहरूलाई सम्‍झिनुपर्छ। त्‍यही कुरो गर्न म पनि उत्‍सुक थिएँ।


एन्‍टिओखियामा पत्रुसको आलोचना

11 पत्रुस एन्‍टिओखिया आएको बेला मैले खुल्‍लमखुल्‍ला उनको दोष देखाइदिएँ। उनी दोषी थिए। याकूबले पठाएका मानिस आउनुभन्दा अघि पत्रुसले अरू जातिका विश्‍वासीहरूसँगै बसेर खाँदै थिए।

12 तर तिनीहरू आएपछि भने अरू जातिका विश्‍वासीहरूबाट छुट्टिएर बसे किनभने अरू जातिका मानिसमा पनि खतना लाउनुपर्छ भन्‍नेहरूदेखि उनी डराए।

13 ती अरू इस्राएली दाजुभाइहरू पनि पत्रुसजस्‍तै डराए। बारनाबाससमेत तिनीहरूको डरले लरखराए।

14 मैले उनीहरूलाई सुसमाचारको सत्‍यताबाट अलमलिएको देखें र पत्रुसलाई सबैको सामु भने, “तपाईं इस्राएली हुनुहुन्‍छ र पनि तपाईं अरू जातिका मानिसहरूजस्‍तै हुनुहुन्‍छ, इस्राएलीजस्‍तै हुनुहुन्‍न। कसरी तपाईंले अरू जातिका मानिसहरूलाई चाहिँ इस्राएली चालमा चल्‍न लाउनुहुन्‍छ?”

15 हुन त हामी जन्‍मैका इस्राएली हौं, अरू जातिका पापी मानिसजस्‍ता होइनौं।

16 तर कुनै पनि मानिस व्यवस्था मानेर होइन तर येशू ख्रीष्‍टमा विश्‍वास गरेर परमेश्‍वरको सामु ठीक ठहरिन्‍छ। यो कुरा जानेर हामीले पनि परमेश्‍वरका सामु ठीक ठहरिन ख्रीष्‍ट येशूमा विश्‍वास गरेका छौं तर व्यवस्था मानेर त होइन।

17 यदि हामी ख्रीष्‍टमा एक भएरै परमेश्‍वरका सामु ठीक ठहरिन खोज्‍दा हामी इस्राएली पनि अरू जातिका मानिसजस्‍तै पापी नै फेला पर्‍यौं भने के ख्रीष्‍टले पापको सेवा गर्नुभयो त? अँहँ, होइन।

18 यदि आफैंले भत्‍काएर लडाएको चीजलाई नै फेरि म उठाएर बनाउँछु भने ता म आफैं नियमलाई मिचेर अपराधी बन्‍छु।

19 त्‍यसो हुँदा म परमेश्‍वरको लागि जिउन व्यवस्थाको लागि मरेको छु।

20 म क्रूसमा ख्रीष्‍टसँगै मारिएको छु, तैपनि म जिउँछु। त्‍यसैकारण मभित्र म जिउँदिनँ, ख्रीष्‍ट जिउनुहुन्‍छ। यो अहिले शरीरमा जिएको जीवन म परमेश्‍वरका पुत्रमा विश्‍वास गरेर जिउँछु। उहाँले नै मलाई माया गर्नुभयो र आफ्‍नो जीवनै मेरो लागि दिनुभयो।

21 म परमेश्‍वरको अनुग्रहलाई हेला गर्न सक्‍तिनँ। यदि मानिस व्यवस्थाले ठीक हुन्‍छ भने त ख्रीष्‍ट बलि हुनु बेकार थियो।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy