प्रस्थान 9 - सरल नेपाली पवित्र बाइबलपशुहरू मर्छन् 1 परमप्रभुले मोशालाई भन्नुभयो, “राजाकहाँ जा र भन्, परमप्रभु हिब्रूहरूका परमेश्वर यसो भन्नुहुन्छ, ‘मेरा प्रजालाई जान दे र तिनीहरूले मेरो भक्ति गरून्। 2 तैँले फेरि तिनीहरूलाई जान दिइनस् भने 3 म तेरा सबै पशुहरू: घोडा, गधा, ऊँट, गाई-गोरु र भेडाबाख्राहरूमाथि डरलाग्दो रुढि पठाएर तँलाई दण्ड दिनेछु। 4 इस्राएलीहरूका पशुलाई मिश्रीहरूका पशुदेखि म अलग गर्नेछु र इस्राएलीहरूका पशु मर्नेछैनन्। 5 म परमप्रभुले भोलि यो काम गर्नलाई मैले समय तोकेको छु’।” 6 भोलिपल्ट परमप्रभुले आफूले भनेअनुसार गर्नुभयो र मिश्रीहरूका सबै पशुहरू मरे। इस्राएलीहरूका पशु एउटै पनि मरेनन्। 7 राजाले के भयो भनी सोधे र इस्राएलीहरूको एउटै पशु पनि मरेन भनी कसैले उनलाई भन्यो। तर राजाले आफ्नो मन कठोर पारे र ती मानिसहरूलाई जान दिएनन्। घाउ-खटिरा 8 तब परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, “आगोको भट्टीबाट एकदुई मुट्ठी खरानी लेओ। मोशाले ती खरानी राजाको अघि हावामा छरोस्। 9 खरानी मसिनो धुलाझैँ भएर सारा मिश्रदेशभरि फैलिनेछ र सबै मानिस र पशुहरूका शरीरमा पिलो निस्कनेछ। ती पिलाहरू फुटेर घाउखटिरा बन्नेछन्।” 10 यसरी ती दुई खरानी लिएर राजाकहाँ गए। मोशाले खरानी हावामा फ्याँकिदिए र त्यो खरानीले सबै मानिस र पशुहरूका शरीरमा पिलो उब्जाइदियो। पिलो फुटेर घाउखटिरा भयो। 11 अरू सबै मिश्रीहरूको शरीरमा जस्तै जादूगरहरूका शरीरमा पनि पिलो निस्क्यो र तिनीहरू मोशाको अघि देखा पर्न पनि सकेनन्। 12 तर परमप्रभुले राजाको हृदय कठोर बनाउनुभयो। परमप्रभुले भन्नुभएअनुसार तिनले मोशा र हारूनका कुरा मानेनन्। असिना 13 परमप्रभुले मोशालाई भन्नुभयो, “भोलि बिहानै राजालाई भेटेर भन्, ‘परमप्रभु हिब्रूहरूका परमेश्वर भन्नुहुन्छ, मेरा प्रजालाई जान दे र तिनीहरूले गएर मलाई पुजून्। 14 होइन भने यसपालि म तेरा भारदार र प्रजालाई मात्र होइन; तर तँलाई पनि दण्ड दिनेछु। तब तँले जान्नेछस् कि मजस्तो परमेश्वर यस संसारमा अरू कुनै पनि छैन। 15 मैले आफ्ना हात उठाएर तँ र तेरा प्रजामाथि रूढि पठाएको भए तिमीहरू सबै पूर्णरूपमा नाश हुने थियौ। 16 तर मेरो शक्ति देखाउन मैले तिमीहरूलाई बाँच्न दिएको छु। यसरी सारा संसारमा मेरो नाम फैलिनेछ। 17 तर अझैसम्म तँ ढिट भइरहेको छस् र मेरा प्रजालाई जान दिएको छैनस्। 18 भोलि यसै बेला यस्तो घनघोर असिना वर्षाउनेछु कि त्यस्तो असिना कहिल्यै मिश्रमा परेको थिएन। 19 अब बाहिर मैदानतिर भएका तेरा गाई-वस्तु र अरू सबै थोक ओत लगाउने आज्ञा दे। बाहिर ओतबिना छोडिएका मानिस र पशुहरूमाथि असिना ओइरिनेछ र ती सबै मर्नेछन्।” 20 परमप्रभुले भन्नुभएको कुरा सुनेर राजाका केही भारदारहरू डराए। ती सबैले आफ्ना पशु र कमाराहरूलाई घरभित्र ल्याएर ओत लगाए। 21 तर अरूले चाहिँ परमप्रभुको चेतावनीमाथि ध्यानै दिएनन् र आफ्ना गाई-वस्तु र कमाराहरूलाई खुला मैदानमा छोडिदिए। 22 तब परमप्रभुले मोशालाई भन्नुभयो, “तेरो हात आकाशतिर पसार् र सारा मिश्रदेशमा असिना वर्षनेछ– मानिस, पशु र मैदानमा भएका घाँसपात जम्मैमाथि असिना वर्षनेछ।” 23 मोशाले आफ्नो लट्ठी आकाशतिर उचाले। गड्याङगुडुङसँगै परमप्रभुले असिना वर्षाउनुभयो र जमिनमा चट्याङ खस्न लाग्यो। 24 परमप्रभुले घनघोर असिना वर्षाउनुभयो, आकाशमा बिजुली वारपार चम्कियो। मिश्रदेशमा यस्तो आँधी-बेहरी पहिले कहिल्यै भएको थिएन। 25 सारा मिश्रभरि खुला मैदानमा रहेका पशुहरू र सबै थोकलाई असिनाले चुटेर सोतर पार्यो। मैदान र जङ्गलका रूखपातहरू नाङ्गै भए। 26 इस्राएलीहरूले बास गरेको गोशेन प्रदेशमा मात्रै असिना परेन। 27 राजाले मोशा र हारूनलाई बोलाएर भने, “यस पालि मैले पाप गरें। परमप्रभु ठीक हुनुहुन्छ, म र मेरा प्रजाले भुल गर्यौं। 28 परमप्रभुसँग प्रार्थना गरिदेओ। यो गर्जन र असिना अति नै भयो। म वचन दिन्छु कि म तिमीहरूलाई जान दिनेछु, अब तिमीहरू यहाँ बस्नुपर्दैन।” 29 मोशाले राजालाई भने, “सहरबाट बाहिर जानेबित्तिकै मेरा हातहरू उचालेर परमप्रभुलाई प्रार्थना गर्नेछु। गर्जन बन्द हुनेछ र असिना थामिनेछ। तब यो पृथ्वी परमप्रभुको हो भनी तपाईंहरूलाई थाहा हुनेछ। 30 तर म जान्दछु कि तपाईंहरू– तपाईं र तपाईंका भारदारहरूले अझसम्म परमप्रभु परमेश्वरको भय मान्नुहुन्न।” 31 जौ पाकिसकेको थियो र सनपाट फुलिसकेको थियो तर असिनाले ती सबै नष्ट भए। 32 तर गहुँचाहिँ बाँच्यो किनभने त्यसमा बाला लागेको थिएन। 33 राजाबाट बिदा भएर मोशा बाहिर गए र हात उचालेर परमप्रभुलाई प्रार्थना गरे अनि आकाशको गर्जन, असिना र वर्षा सबै थामियो। 34 त्यो देखेर राजाले फेरि पाप गरे। तिनी र तिनका भारदारहरू सबै अघिझैँ कठोर भए। 35 अनि परमप्रभुले अघिबाटै मोशालाई भन्नुभएअनुसार राजाले इस्राएलीहरूलाई जान दिएनन्। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society