प्रस्थान 5 - सरल नेपाली पवित्र बाइबलमिश्रका राजाको अघि मोशा र हारून 1 तब मोशा र हारून मिश्रका राजाकहाँ गएर भने, “परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘मेरा प्रजालाई जान दे र तिनीहरूले उजाड-स्थानमा मेरो भक्ति गर्न एउटा चाड मनाउनेछन्’।” 2 राजाले सोधे, “परमप्रभु को हुन्? मैले किन उहाँलाई सुन्नु र इस्राएलीहरूलाई जान दिनु? म परमप्रभुलाई चिन्दिनँ र इस्राएलीहरूलाई जान दिन्नँ।” 3 मोशा र हारूनले जवाफ दिएर भने, “हिब्रूहरूका परमेश्वरले हामीलाई दर्शन दिनुभएको छ। हामीलाई उजाड-स्थानमा तीन दिन यात्रा गर्न दिनुहोस् र त्यहाँ गएर हामी आफ्ना परमप्रभु परमेश्वरलाई बलि चढाउनेछौं। हामीले त्यसो गरेनौं भने रुढि वा लडाइँद्वारा उहाँले हामीलाई नाश पार्नुहुनेछ।” 4 राजाले मोशा र हारूनलाई भने, “मानिसहरूलाई काम गर्न नदिनुको अर्थ के हो? ती कमारा-कमारीहरूलाई आफ्ना काम गर्न पठाओ। 5 तिमीहरूको सङ्ख्या मिश्रीहरूको भन्दा धेरै भएको छ र अहिले काम बन्द गर्न चाहन्छौ!” 6 त्यही दिन राजाले मिश्री नाइकेहरू र कामको रेखदेख गर्ने इस्राएलीहरूलाई यस्तो आज्ञा दिए, 7 “इस्राएलीहरूलाई इँटा बनाउन पराल नदिनू, तिनीहरू आफैंले पराल खोजेर ल्याऊन्। 8 तर इँटा पहिलाको जति नै बनाउनुपर्नेछ, एउटै इँटा पनि कम गर्न पाउनेछैन। काम थोरै भएकोले यिनीहरू आफ्ना परमेश्वरलाई पुज्न जान दिनुहोस् भनी मलाई भनिरहेका छन्। 9 तिनीहरूलाई पूरा काम लाउनू र फुर्सद नदिनू। त्यसो भए तिनीहरूलाई झूटा कुराहरू सुनिरहने फुर्सद हुँदैन।” 10 तब ती नाइकेहरू र कामको रेखदेख गर्ने इस्राएलीहरूले गएर इस्राएलीहरूलाई भने, “राजाले भनेका छन्, अबदेखि सरकारबाट तिमीहरूले पराल पाउनेछैनौ। 11 तिमीहरू आफैंले पराल जहाँबाट हुन्छ, खोजिल्याउनुपर्नेछ। तर पहिलाको जतिकै इँटा बनाउनुपर्छ।” 12 र इस्राएलीहरूले सारा मिश्रमा पराल खोजिहिँडे। 13 पराल पाउँदा जति इँटा एक दिनमा बनिन्थे, त्यति नै इँटा हरेक दिन बनाउन कामदारहरूले तिनीहरूलाई कर लाउँथे। 14 मिश्री कामदारहरूले काम हेर्न खटिएका इस्राएली नाइकेहरूलाई यसो भन्दै पिट्थे, “तिम्रा मानिसहरूले किन पहिलाको जति नै इँटा बनाउँदैनन्?” 15 तब ती नाइकेहरूले राजाकहाँ गएर उजुर गरे, “सरकार, हामीमाथि किन यस्तो अत्याचार गरिंदै छ? 16 हामी पराल पाउँदैनौं र पनि हामीलाई इँटा बनाउन हुकुम हुन्छ। त्यति मात्र नभएर अब हामीलाई पिट्न पनि थालेका छन्। तर कसुर त हजुरकै मानिसहरूको छ।” 17 राजाले जवाफ दिए, “तिमीहरू अल्छे छौ र काम गर्न चाहँदैनौ। यसैकारण तिमीहरू भन्छौ, ‘परमप्रभुकहाँ बलि चढाउनको निम्ति हामीलाई जान दिनोस्’। 18 काममा फर्केर जाओ। तिमीहरूले पराल पाउनेछैनौ तर अघि जति नै पूरा इँटा बनाउनुपर्छ।” 19 अघि जति नै इँटा दिनहुँ बनाउनुपर्छ भनेको सुनेर ती नाइकेहरूले अब आफ्नो बेहाल भएछ भनी चाल पाए। 20 ती नाइकेहरू फर्कंदा बाटोमा मोशा र हारूनले तिनीहरूलाई पर्खिरहेका भेटे। 21 तिनीहरूले मोशा र हारूनलाई भने, “तिमीहरूले जे गरेका छौ, परमप्रभुले देख्नुभएको छ। तिमीहरूले गर्दा राजा र तिनका भारदारहरू हामीसित रिसाएका छन्। त्यसको निम्ति परमेश्वरले तिमीहरूलाई दण्ड दिनुहुनेछ। तिमीहरूले गर्दा तिनीहरूले हामीलाई मार्ने निहुँ पाएका छन्।” मोशाले परमप्रभुलाई उजुर गर्छन् 22 तब मोशाले फेरि परमप्रभुतिर फर्केर भने, “हे परमप्रभु, किन तपाईंले आफ्नो प्रजालाई कष्टमा पार्नुभयो? किन तपाईंले मलाई यहाँ पठाउनुभयो? 23 तपाईंको तर्फबाट म गएर राजासँग बोलेको समयदेखि तिनले यिनीहरूसित अझै निष्ठुरी व्यवहार गरेका छन्। यिनीहरूको मद्दतको लागि तपाईंले केही गर्नुभएको छैन।” |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society