Online Bible

- Reklamy -

एस्‍तर 9 - सरल नेपाली पवित्र बाइबल


यहूदीहरूले शत्रुहरूलाई नाश पार्छन्‌

1 अदार महिनाको तेह्रौँ दिन आइपुग्‍यो। त्‍यो दिन राजाको उर्दी लागू हुनेथियो। त्‍यही दिन यहूदीहरूका शत्रुहरूले तिनीहरूलाई आफ्‍ना वशमा लिने आशा गरेका थिए। तर त्‍यसका सट्टामा यहूदीहरू आफ्‍ना शत्रुहरूमाथि विजयी भए।

2 साम्राज्‍यको प्रत्‍येक सहरमा यहूदीहरू बास गरेका इलाकामा आफूमाथि हमला गर्नेहरूको सामना गर्न तिनीहरू सङ्गठित भए। जहीँ-तहीँ मानिसहरू तिनीहरूसित डराएका थिए। कसैको यहूदीहरूसित लड्‍ने शक्ति भएन।

3 वास्‍तवमा प्रान्तीय अफिसरहरू, बडा-हाकिमहरू, शासकहरू र राजाका प्रतिनिधिहरूले यहूदीहरूलाई मद्दत गरे किनभने तिनीहरू सबै मोर्दकैसित डराउँथे।

4 राजदरबारमा अब मोर्दकै शक्तिशाली व्‍यक्ति भएका छन् र उनको शक्ति अझै बढ्दैगइरहेको छ भनी साम्राज्‍यभरि सबैले सुनेका थिए।

5 यसकारण यहूदीहरूले आफूले चिताएअनुसार आफ्‍ना शत्रुहरूसित गर्न सक्‍थे। तरवार हातमा लिई तिनीहरूले शत्रुहरूमाथि हमला गरे र तिनीहरूलाई संहार गरे।

6 राजधानी शूशन सहरमा यहूदीहरूले पाँच सय मानिसहरूलाई मारे।

7-10 तीमध्‍ये यहूदीहरूका शत्रु हम्‍मदाताको छोरो हामानका दश भाइ छोराहरू थिए– पर्शन्‍दाता, दल्‍फोन, अस्‍पाता, पोराता, अदलिया, अरीदाता, पर्मशता, अरीशै, अरीदै र बैजाता। तर यहूदीहरूले लुटपिट गरेनन्।

11 त्‍यस दिन शूशनमा मारिएका मानिसहरूको सङ्‍ख्‍या राजालाई सुनाइयो।

12 त्‍यसपछि उनले एस्‍तर रानीलाई भने, “शूशनमा मात्र यहूदीहरूले पाँच सय मानिसहरूलाई मारेछन्। तीमध्‍ये हामानका दश भाइ छोराहरू पनि थिए। प्रान्‍त-प्रान्‍तमा यहूदीहरूले के गरे होलान्। अब तिमी के माग्‍छ्यौ? त्‍यो तिमीलाई दिइनेछ। तिमीलाई अरू केही चाहिन्‍छ भने मलाई भन र त्‍यो तिमीलाई दिइनेछ।”

13 एस्‍तरले उत्तर दिइन्, “राजा प्रसन्‍न हुनुहुन्‍छ भने शूशनका यहूदीहरूले आजझैँ भोलि पनि गर्ने अनुमति पाऊन्। अनि हामानका दश छोराहरूको लाशचाहिँ फाँसीमा झुन्‍ड्याउने आज्ञा दिनुहोस्।”

14 राजाले त्‍यस्‍तै आज्ञा दिए। शूशनमा त्‍यो उर्दी सुनाइयो। हामानका दश छोराको लाश जन-समूहलाई खुल्‍लम-खुल्‍ला देखाइयो।

15 अदार महिनाको चौधौँ दिन शूशनका यहूदीहरू फेरि जम्‍मा भए र सहरका अरू तीन सय जनालाई मारे। तर तिनीहरूले त्‍यो दिन पनि लुटपिट गरेनन्।

16 प्रान्‍त-प्रान्‍तमा पनि यहूदीहरूले एक भएर आफ्‍नो बचाउ गरे। आफूलाई घृणा गर्ने पचहत्तर हजार शत्रुहरूलाई तिनीहरूले मारेर आफ्‍ना शत्रुको सङ्‍ख्‍या घटाए।

17 त्‍यो घटना अदार महिनाको तेह्रौँ दिनमा भएको हो। भोलिपल्‍ट चौधौँ दिन तिनीहरूले कसैलाई मारेनन् र त्‍यो दिन आनन्‍दसाथ भोज गरी उत्‍सव मनाए।

18 शूशनका यहूदीहरूले चाहिँ पन्‍ध्रौँ दिन उत्‍सव मनाए किनभने तिनीहरूले आफ्‍ना शत्रुहरूलाई तेह्रौँ र चौधौँ दिनमा मारे र पन्‍ध्रौँ दिनमा रोके।

19 यही कारण स-साना सहरतिर बास गर्ने यहूदीहरू अदार महिनाको चौधौं दिन आनन्‍दले उत्‍सव मनाउँछन्, भोज लाउँछन् र आपसमा खानेकुराका उपहार साटासाट गर्छन्।


पूरीम चाड

20 मोर्दकैले यी सबै घटनाहरूबारे लेख्‍न लाए र टाढा र नजिकका सबै यहूदीहरूलाई चिठी पठाए।

21 सारा फारस-साम्राज्‍यमा उनले अदार महिनाको चौधौँ र पन्‍ध्रौँ दिन हरेक वर्ष उत्‍सव मनाउन लेखिपठाए।

22 ती दिनमा यहूदीहरूले आफ्‍ना शत्रुहरू नाश पारेका थिए, यही महिनालाई तिनीहरूले एउटा शोक र निराशाको समयबाट हर्ष र आनन्‍दित समयमा परिवर्तन गरेका थिए। ती दिन तिमीहरूले भोज खानू, उत्‍सव मनाउनू र गरीबहरूलाई आपसमा पनि खानेकुराका उपहार बाँड्‍नू भनी लेखिएको थियो।

23 यहूदीहरूले मोर्दकैका आदेश पालन गरे र यो चाड वर्षेनी मनाउने एउटा प्रथा भयो।

24 अगागका वंशका हम्‍मदाताको छोरो यहूदीहरूका शत्रु हामानले यहूदीहरूलाई नाश गर्ने दिन छुट्ट्याउनलाई चिट्ठा हालेका थिए (जसलाई ‘पूरीम’ भनिएको थियो)। उनले यहूदीहरूको नाउँ-निशाना मेट्‍ने उपाय गरेका थिए।

25 तर रानी एस्‍तर राजाकहाँ गइन् र राजाले लिखित आज्ञा पठाए। जसको फलस्‍वरूप, हामान आफूले यहूदीहरूको निम्‍ति बुनेका जालमा आफैं पर्‍यो, फाँसीमा हामान र उनका छोराहरू झुन्‍ड्याइए।

26 त्‍यसैकारण ती उत्‍सवको दिनलाई ‘पूरीम’ (चिट्ठा) भनिन्‍छ। मोर्दकैको चिठी र आफूमाथि परिआएका कुराहरूको कारणले

27 यहूदीहरूले आफू र आफ्‍ना सन्‍तान अनि यहूदी हुनेहरू सबैका निम्‍ति हरेक वर्ष ठीक समयमा ती दुई दिन ठीक प्रकारले मोर्दकैको आदेशअनुसार चाडको रूपमा मनाउने नियम बनाए।

28 भविष्‍यमा सदैव यहूदी पुस्‍ताहरूका हरेक परिवारले हरेक प्रान्‍त र सहरमा पूरीमको दिनलाई याद गरी चाड मनाउने निर्णय भयो।

29 त्‍यसपछि अबीहेलकी छोरी रानी एस्‍तरले मोर्दकैसित मिलेर अर्को एउटा चिठी लेखिन्। त्‍यसमा तिनले अघि मोर्दकैले पूरीमबारे लेखेको चिठीलाई आफ्‍नो पूरा अधिकारले समर्थन गरिन्।

30 त्‍यो चिठी सबै यहूदीहरूलाई पठाइयो र त्‍यसका प्रतिलिपिहरू फारस-साम्राज्‍यका १२७ वटा प्रान्‍तमा पठाइए। त्‍यसमा यहूदीहरूप्रति शान्‍ति र सुरक्षाका शुभकामना थिए।

31 साथै त्‍यसमा यहूदीहरूलाई जसरी तिनीहरूले उपवास र विलापका नियमहरू पालन गर्दैआएका थिए, त्‍यसरी नै तिनीहरू र तिनीहरूका सन्‍तानहरूले पूरीमका दिनहरू पनि मनाउनू भन्‍ने आदेश दिइएको थियो। मोर्दकै र एस्‍तर रानी दुवैले त्‍यस्‍तो आज्ञा गरेका थिए।

32 पूरीमका नियमहरू पक्‍का गर्दै एस्‍तर रानीले आफ्‍नो आज्ञा पुस्‍तकमा लेखेकी थिइन्।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy