Online Bible

- Reklamy -

एस्‍तर 8 - सरल नेपाली पवित्र बाइबल


यहूदीहरूलाई बचाउन आदेश दिइन्‍छ

1 त्‍यही दिन अहासूरस राजाले यहूदीहरूको शत्रु हामानका सारा धन-सम्‍पत्ति एस्‍तर रानीलाई दिए। मोर्दकै मेरा नातेदार हुन् भनी एस्‍तरले राजालाई भनिन् र त्‍यस दिनदेखि राजाको अघि हाजिर हुने अनुमति मोर्दकैले पाए।

2 राजाले आफ्‍नो छाप भएको औँठी खोले (जो उनले हामानबाट फिर्ता लिएका थिए) र मोर्दकैलाई दिए। एस्‍तरले हामानको धन-सम्‍पत्ति मोर्दकैको जिम्‍मामा दिइन्।

3 त्‍यसपछि एस्‍तर राजाका पाउमा परी रुँदै फेरि उनीसित बिन्‍ती गर्न थालिन्। अगागको सन्‍तान हामानले यहूदीहरूका विरुद्धमा गरेका दुष्‍ट षड्‌यन्त्र रोक्‍नलाई केही गरिदिनुहोस् भनी तिनले राजालाई बिन्‍ती गरिन्।

4 राजाले तिनीतर्फ आफ्‍नो सुनको राजदण्‍ड पसारे र तिनी उभिइन् र भनिन्,

5 “राजन्, हजुरको अनुमति भए अनि ममाथि निगाह हुन्‍छ र यो कुरा हजुरलाई उचित लाग्‍छ भने हामानले दिएको आज्ञापालन नगरियोस् भनी एउटा नयाँ उर्दी निकालियोस्। अगागको सन्‍तान हम्‍मदाताको छोरोले राज्‍यमा भएका सबै यहूदीहरूलाई मार्नू भनी दिएको आज्ञा रद्द गरी अर्को घोषणा-पत्र लेखियोस्।

6 त्‍यो आपत-विपत मेरा जातिमा आइपर्‍यो र मेरा कुटुम्‍बहरू मारिए भने म कसरी सहन सकूँला र?”

7 राजा अहासूरसले रानी एस्‍तर र यहूदी मोर्दकैलाई भने, “हेर, यहूदीहरूका विरुद्धमा रचेका जालको निम्‍ति मैले हामानलाई झुन्‍ड्याएँ। त्‍यसका धन-सम्‍पत्ति मैले एस्‍तरलाई दिएँ।

8 तर राजाको नाममा राजाकै छाप मोहोर लगाएर निकालिएको उर्दी रद्द गर्न सकिँदैन। तरै पनि तिमीहरू यहूदीहरूलाई जे चाहन्‍छौ, सो लेख्‍न सक्‍छौ। त्‍यो तिमीहरू मेरो नाममा लेख र त्‍यसमा मेरो राज-मोहोर लगाऊ।”

9 सीवान भनिने तेस्रो महिनाको तेईसौं दिनमा यो कुरा भएको हो। मोर्दकैले राजाका सचिवहरूलाई बोलाए र चिठीहरू लेख्‍न लाए। भारतवर्षदेखि इथियोपिया देशसम्‍मका १२७ वटा प्रान्‍तका बडा-हाकिम, शासक र भारदारहरू र यहूदीहरूलाई ती चिठी पठाउने आदेश दिए। प्रान्‍त-प्रान्‍तमा चिठीहरू पठाइए। प्रान्‍त-प्रान्‍तकै लेख्‍ने तरिकाअनुसार त्‍यसकै भाषामा र यहूदीहरूलाई तिनीहरूका लेख्‍ने तरिकाअनुसार तिनीहरूकै भाषामा ती चिठी लेखिएका थिए।

10 मोर्दकैले ती चिठी राजाको नाममा लेखाए र राज-मोहोर लगाइदिए। राजाका तबेलाका फुर्तिला घोडाहरूमा सवार भई घोडचढीहरूले ती चिठी प्रान्‍त-प्रान्‍तमा पुर्‍याए।

11 हरेक सहरमा आफ्‍नो बचाउको निम्‍ति यहूदीहरू सङ्गठित हुन सक्‍छन् र त्‍यसो गर्न राजाको अनुमति छ भनी ती चिठीमा लेखिएका थिए। कुनै प्रान्‍तमा कुनै जातिका मानिसहरूले हात-हतियार लिएर यहूदीहरू तिनीहरूका स्‍वास्‍नीहरू, छोरा-छोरीहरूमाथि हमला गर्नेलाई यहूदीहरूले तिनीहरूको सामनामा लडाइँ गर्न र मार्न सक्‍नेछन् अनि तिनीहरू एक-एकलाई नाश पारी तिनका जग्‍गा-जमिन, धन-सम्‍पत्ति लिन पाउनेछन् भन्‍ने पनि लेखिएको थियो।

12 यहूदीहरूको हत्‍या गर्न तोकिएको दिन अर्थात् अदार भनिने बाह्रौँ महिनाको तेह्रौँ दिन यो आज्ञा सम्‍पूर्ण फारस-साम्राज्‍यमा चालु रहनेथियो।

13 प्रत्‍येक प्रान्‍तको सारा प्रजालाई यो कानुन बनिएको छ भनी सुनाइनुपर्थ्‍यो र त्‍यसरी यहूदीहरू त्‍यस दिन आफ्‍ना शत्रुहरूसँग बदला लिन तयार रहन सक्‍दथे।

14 राजाको आज्ञाले घोडचढीहरू राज-घोडामा सवार भई खुब वेगले समाचार लिई गए। राजधानी शूशन सहरमा पनि सो उर्दी जनसाधारणका बीचमा सुनाइयो।

15 नीला र सेता राजसी पोशाक लाएर मिहिन बैजनी मलमलको खास्‍टो र शिरमा सुनको शोभायमान मुकुट पहिरेर मोर्दकै राजमहलबाट निस्‍के। शूशनका सडक-सडकमा आनन्‍दित जयध्‍वनि भयो।

16 यहूदीहरूको निम्‍ति त्‍यो दिन आनन्‍द, भयबाट छुटकारा, खुसी र विजयको दिन थियो।

17 प्रत्‍येक सहर र प्रान्‍तमा, जहाँ-जहाँ राजाको उर्दी पढिएको थियो, यहूदीहरूले आनन्‍दसाथ उत्‍सव मनाए र भोज खाए। जसको कारणले यहूदीहरूसित डराएर धेरै अरू जातिका मानिसहरू पनि यहूदी भए।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy