एस्तर 7 - सरल नेपाली पवित्र बाइबल1 तब राजा र हामान दोस्रो चोटि रानी एस्तरकहाँ भोजमा गए। 2 दाखमद्य पिउँदैगर्दा राजाले फेरि रानीलाई सोधे, “रानी एस्तर, अब भन, के चाहन्छ्यौ? मलाई भन र त्यो तिमीले पाउनेछौ। म आधा राज्य नै भए पनि तिमीलाई दिनेछु।” 3 एस्तर रानीले उत्तर दिइन्, “राजन्! मेरो नम्र बिन्ती हजुरले मन्जुर गर्नुहुन्छ भने म र मेरा जातिका मानिसहरूका प्राणको रक्षा होस्। 4 म र मेरा जाति मारिनलाई बेचिएका छौं। कमारा हुनलाई मात्र बेचिएका भएता म चुपै लागेर बस्ने थिएँ र हजुरलाई कष्ट दिनेथिइनँ। तर हामी नाश हुन आँटेका छौं, हाम्रो नाउँ-निशाना मेटिने भएको छ।” 5 तब अहासूरस राजाले एस्तर रानीलाई सोधे, “कसले त्यसो गर्ने आँट गर्दछ? त्यो मानिस कहाँ छ?” 6 एस्तरले उत्तर दिइन्, “हाम्रो शत्रु, हामीलाई खेदो गर्ने दुष्ट मानिस हामान हो।” हामानले भयभीत भएर राजा र रानीलाई हेरे। 7 रिसले चुर भई राजा भोजबाट उठे र कोठाबाट निस्की बाहिर राजमहलको बगैँचामा गए। यसको निम्ति राजाले मलाई दण्ड दिनेछन् भनी हामानले बुझे र रानी एस्तरबाट आफ्नो प्राणको भिक्षा माग्न कोठाभित्रै बसिरहे। 8 दयाको भिक्षा माग्नलाई उनी एस्तरको आराम गर्ने पलङ्गमा ढल्केका मात्र थिए, राजा बगैँचाबाट कोठाभित्र आए। त्यो देखी राजाले कराएर भने, “के यस मानिसले यहाँ मेरो अघि मेरै महलभित्र रानीलाई बलात्कार गर्ने आँट गरेको हो?” राजाका मुखबाट ती शब्द निस्केका मात्र थिए, नपुंसकहरूले हामानको टाउको छोपिदिए। 9 तब तीमध्ये एक जना हर्बोना नाम गरेको नपुंसकले भन्यो, “हामानले यतिसम्म गरेको थियो कि राजाका प्राण बचाइदिने मोर्दकैलाई झुन्ड्याउन आफ्नो घरमा एउटा फाँसीको काठ बनाएको छ। त्यो बाईस मिटर अग्लो छ।” राजाले आज्ञा गरे, “त्यसैमा हामानलाई झुन्ड्याओ!” 10 यसरी आफूले मोर्दकैको लागि तयार गरेको फाँसी-काठमा हामानलाई झुन्ड्याइयो। त्यसपछि राजाको रिस मर्यो। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society