एस्तर 5 - सरल नेपाली पवित्र बाइबलएस्तरले राजा र हामानलाई भोजमा निम्त्याउँछिन् 1 उपवास राखेको तेस्रो दिन एस्तरले आफ्ना राजसी वस्त्र लगाइन् र गएर महलको भित्री चोकमा सिंहासन राखेको कोठातिर हेरेर उभिइन्। राजा कोठाभित्र ढोकातिर फर्केर सिंहासनमा बसेका थिए। 2 राजाले जब एस्तर रानीलाई बाहिर उभिरहेकी देखे, तिनले राजाको निगाह पाइन्। राजाले तिनीतर्फ सुनको राजदण्ड पसारे। तिनी अघि सरिन् र राजदण्डको टुप्पो छोइन्। 3 “रानी एस्तर, के कुरा छ?” राजाले सोधे, “के चाहियो, मलाई भन र तिमीले पाउनेछौ। आधा राज्य नै भए पनि तिमीलाई दिनेछु।” 4 एस्तरले जवाफ दिइन्, “राजाको दया हुन्छ भने हजुरको निम्ति मैले तयार गरेको भोजमा आज राती हामानसित हजुरको सवारी होस्।” 5 राजाले एस्तरका पाहुना भई जानलाई छिट्टै आउनू भनी हामानलाई आज्ञा गरे। राजा र हामान एस्तरका भोजमा गए। 6 दाखमद्य पिउँदै गर्दा राजाले तिनलाई सोधे, “तिमी के चाहन्छौ, मलाई भन र त्यो तिमीले पाउनेछौ। मेरो आधा राज्य नै माग्यौ भने पनि त्यो तिमीलाई दिनेछु।” 7 एस्तरले उत्तर दिइन्, 8 “राजाले मेरो बिन्ती ग्रहण गर्नुहुन्छ भने भोलि फेरि हजुरको निम्ति मैले तयार गरेको भोजमा हामानसित हजुरको सवारी होस्। त्यही बेला म के चाहन्छु, हजुरलाई बिन्ती गर्नेछु।” हामानले मोर्दकैलाई मार्ने जाल गर्छन् 9 हामान भोजबाट निस्कँदा उनको मन खुसी थियो। हामानले मोर्दकैलाई महलको ढोकामा देखे। उनी जाँदा मोर्दकैले केही सम्मान देखाएनन्, खडा भएनन्। हामान रिसले चुर भए। 10 तर आफूलाई सम्हालेर उनी घर गए। उनले आफ्ना साथीहरूलाई घरमा निम्त्याए र आफ्नी स्वास्नी जेरेशलाई पनि बोलाए। 11 आफ्ना कति धन-सम्पत्ति र छोराहरू थिए, राजाले कसरी आफूलाई उच्च पदमा नियुक्त गरेका थिए र राजाका भारदारहरूमध्ये आफू कति माननीय थिए, ती कुरामा उनले तिनीहरूको अघि धाक लगाए। 12 “त्यति मात्र होइन,” हामानले भने, “एस्तर रानीले केवल राजा र मलाई भोज दिइन् र भोलि पनि भोजमा निम्त्याएकी छिन्। 13 तर जहिलेसम्म यहूदी मोर्दकैलाई महलको ढोकामा देख्नेछु, तहिलेसम्म ती सबै मेरा लागि केही होइन।” 14 उनका स्वास्नी र साथीहरूले भने, “एउटा बाईस मिटर अग्लो फाँसीको काठ बनाउन लगाउनुहोस्। भोलि बिहान त्यसमा मोर्दकैलाई झुन्ड्याउने आदेशको निम्ति राजासित बिन्ती गर्नुहोस्। तब भोजमा खुसी भई जान सक्नुहुनेछ।” यो कुरो हामानलाई असल लाग्यो र उनले फाँसीको काठ बनाउन लगाए। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society