Online Bible

- Reklamy -

एफिसी 5 - सरल नेपाली पवित्र बाइबल


ज्‍योतिमा जिउने

1 तिमीहरू परमेश्‍वरका प्‍यारा सन्‍तान भएकोले उहाँजस्‍तै हुन खोज।

2 ख्रीष्‍टले हामीलाई प्रेम गर्नुभएर मीठो बास्‍ना आउने धूप र बलिझैँ आफैंलाई परमेश्‍वरकहाँ चढाउनुभयो। त्‍यसै गरी तिमीहरूको जीवन पनि प्रेमको अधीनमा होस्।

3 ख्रीष्‍टका पवित्र जनहरू भएकोले तिमीहरूको माझमा व्‍यभिचार, लोभ, लालच र सबै किसिमका अशुद्ध कुराको नाउँ पनि उठ्‍नुहुँदैन।

4 अश्‍लील, मूर्ख र खराब वचनहरू तिमीहरूको मुखमा सुहाउँदैन। तर तिमीहरूले त परमेश्‍वरलाई धन्‍यवाद दिइरहनुपर्छ।

5 तिमीहरूलाई थाहा हुनैपर्छ व्‍यभिचार गर्ने अशुद्ध र लोभीले परमेश्‍वर र ख्रीष्‍टको राज्‍यमा हकै पाउनेछैन। लोभ गर्नुचाहिँ मूर्तिपूजा गर्नुजस्‍तै पाप हो।

6 कसैले छली कुरा गरेर तिमीलाई छक्याउन नपाओस्। यस्‍तै कुराले गर्दा अट्टेरीहरूमा परमेश्‍वरको रिस खनिन्‍छ।

7 त्‍यसो हुँदा यस्‍ता मानिसहरूको सङ्गतै नगर।

8 पहिले तिमीहरू नै अन्‍धकारमा थियौ तर अब प्रभुका जन बनेर तिमीहरू उज्‍यालोमा छौ। यसकारण तिमीहरू उज्‍यालोको योग्‍य मानिसजस्‍तै जिउने गर

9 किनभने उज्‍यालोको फलचाहिँ सबै किसिमको भलाइ, न्‍याय र सत्‍य हो।

10 प्रभुलाई मनपर्ने कुरो के हो, बुझ।

11 अन्‍धकारका बेकामे कुराहरूसँग तिमीहरूको कुनै सरोकारै नहोस्। तर त्‍यो काम नराम्रो हो भनेर देखाइदेओ।

12 यी मानिसले लुकेर गरेका कामहरूको बारेमा भन्‍न पनि लाज लाग्‍छ।

13 जब कुनै कुरा उज्‍यालोको अघि ल्‍याइन्‍छ, तब तिनीहरूको साँचो रूप प्रकट हुँदछ र प्रकट भएका सबै कुरा ज्‍योतिमा खुल्‍ला हुन्‍छ।

14 धर्मशास्‍त्रले भन्‍छ, “ए निदाउने उठ् र मरेकाबाट बिउँती अनि ख्रीष्‍ट तँमा चम्‍कनुहुनेछ।”

15 त्‍यसकारण कस्‍तो चालचलन चल्‍नुपर्ने हो, राम्ररी ध्‍यान देओ, मूर्खजस्‍तो भएर होइन, बुद्धिमान् भएर हिंड।

16 यी नराम्रा दिनहरूमा तिमीले पाएका सबै मौकाहरूको असल प्रयोग गर।

17 त्‍यसकारण मूर्ख नबन तर प्रभुले तिमीबाट के आशा राख्‍नुहुन्‍छ, सो पत्तो लगाओ।

18 मद्यको नशामा बाँचेर जीवन नष्‍ट नगर तर पवित्र आत्‍माले भरिपूर होओ।

19 एक-अर्कासँग स्‍तुति, भजन र पवित्र आत्‍माले दिएका गीत गाउने गर र प्रभुलाई आफ्‍नो हृदयका मीठा गीतहरूले स्‍तुति गर।

20 हाम्रा प्रभु येशू ख्रीष्‍टको नाउँमा परमेश्‍वर पितालाई सबै कुरामा सधैँ धन्‍यवाद दिने गर।


पति-पत्‍नीको सम्‍बन्‍ध

21 ख्रीष्‍टप्रतिको श्रद्धाको कारणले एक-अर्काको अधीनमा रहने गर।

22 स्‍वास्‍नीहरू हो, प्रभुका अधीनमा भएझैँ तिमीहरू आ-आफ्‍ना लोग्‍नेका अधीनमा बस

23 किनभने मण्‍डली ख्रीष्‍टको शरीर र ख्रीष्‍टचाहिँ मण्‍डलीलाई मुक्ति दिने शिर हुनुभएझैँ स्‍वास्‍नीको शिरचाहिँ लोग्‍ने हो।

24 त्‍यसो हुँदा मण्‍डली ख्रीष्‍टको अधीनमा रहेझैँ स्‍वास्‍नीहरू पनि सबै कुरामा आ-आफ्‍ना लोग्‍नेको अधीनमा बसून्।

25 लोग्‍नेहरू हो, ख्रीष्‍टले आफ्‍नो मण्डलीलाई ज्‍यान दिएर प्रेम गरेझैँ आ-आफ्‍ना स्‍वास्‍नीलाई प्रेम गर।

26 ख्रीष्‍टले मण्‍डलीलाई पवित्र बनाउन आफ्‍नो वचनद्वारा र पानीले धोएर शुद्ध बनाउनुभयो

27 र आफैंलाई दिन यो मण्‍डली पवित्र, निर्दोष, दाग नभएको, चाउरी नपरेको, कुनै किसिमको खोट नभएको, पवित्र सुन्‍दर मण्‍डली बनाउन यसो गर्नुभयो।

28 लोग्‍नेहरूले पनि आ-आफ्‍ना स्‍वास्‍नीहरूलाई प्रेम गर्नुपर्छ। उनीहरूले आफ्‍ना स्‍वास्‍नीहरूलाई आफ्‍नो शरीरलाई झैँ माया गर्नुपर्छ किनभने स्‍वास्‍नीलाई माया गर्नेले आफैंलाई माया गर्छ।

29 कसैले पनि आफ्‍नो शरीरलाई हेला गर्दैन, तर यसको लालनपालन गर्दछ। त्‍यसरी नै ख्रीष्‍टले आफ्‍ना मण्‍डलीको लालनपालन गर्नुहुन्‍छ

30 किनभने हामी उहाँकै शरीरका अङ्ग हौं।

31 धर्मशास्‍त्रले भन्‍दछ, “यसैकारण मानिसले आफ्‍ना आमा-बुबालाई छोड्‍नेछ र स्‍वास्‍नीसँग मिल्‍नेछ अनि उनीहरू दुवै एउटै शरीर हुनेछन्।”

32 यो ठूलो रहस्‍यको कुरो हो। यही कुरा ख्रीष्‍ट र मण्‍डलीको सम्‍बन्‍धमा पनि लागु हुन्‍छ।

33 तर यो तिमीहरूमा पनि लागु हुन्‍छ। त्‍यसो हुँदा सबै लोग्‍नेहरूले आ-आफ्‍ना स्‍वास्‍नीलाई आफैंलाई झैँ माया गर्नुपर्छ अनि सबै स्‍वास्‍नीहरूले आ-आफ्‍ना लोग्‍नेलाई आदर गर्नुपर्छ।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy