Online Bible

- Reklamy -

एफिसी 4 - सरल नेपाली पवित्र बाइबल


शरीरको एकता

1 म प्रभुको कैदी तिमीहरूसँग बिन्‍ती गर्दछु परमेश्‍वरले तिमीहरूलाई बोलाउनुभएकोले जुन चालचलन तिमीहरूमा हुनुपर्ने हो, त्‍यो तिमीहरूमा होस्।

2 सधैँभरि नम्र, सोझो र सहनशील होओ। एक-अर्कालाई सहेर प्रेम देखाओ।

3 पवित्र आत्‍माले नै तिमीहरूलाई मेलमिलापमा ल्‍याउनुभएको हो। त्‍यस एकतालाई सकेसम्‍म जोगाइराख।

4 परमेश्‍वरले तिमीहरूलाई दिनुभएको आशा एउटै भएजस्‍तै शरीर पनि एउटा हो अनि पवित्र आत्‍मा पनि एउटै हुनुहुन्‍छ।

5 एउटै प्रभु, एउटै विश्‍वास र एउटै बप्‍तिस्‍मा छ।

6 सबैका पिता परमेश्‍वर एउटै हुनुहुन्‍छ। उहाँ नै सबैका प्रभु हुनुहुन्‍छ। सबै काम गर्ने उहाँ नै हुनुहुन्‍छ र उहाँ सबैमा हुनुहुन्‍छ।

7 तर अनुग्रहको वरदानचाहिँ हामी हरेकलाई ख्रीष्‍टले नै खटाएर दिनुभएको छ।

8 धर्मशास्‍त्रले भन्‍छ, “उहाँ माथि स्‍वर्ग उक्‍लनुहुँदा उहाँले धेरै कैदीहरूलाई आफूसँग लैजानुभयो अनि मानिसहरूलाई उपहार दिनुभयो।”

9 उहाँ माथि उक्‍लनुभयो भनेको के हो? यसले उहाँ यस धरातल र अझ तल ओर्लनुभयो भन्‍ने बुझाउँछ।

10 तल पृथ्‍वीमा ओर्लनुहुने नै सारा जगत्‌लाई आफैंले भरपूर पार्न सबैभन्दा माथि, स्‍वर्गभन्दा पनि माथि उक्‍लनुभयो।

11 उहाँले नै कसैलाई आफ्‍नो प्रेरित, कसैलाई अगमवक्ता, कसैलाई प्रचारक, कसैलाई मण्‍डलीको हेर विचार गर्ने र कसैलाई शिक्षक नियुक्त गर्नुभयो।

12 ख्रीष्‍टका सबै पवित्र जनहरूलाई उहाँको काम गर्न सक्‍ने बनाउन र उहाँको शरीर मण्‍डलीको उन्‍नति गर्नलाई यो नियुक्ती दिनुभयो।

13 यस प्रकार यी वरदानका कामहरूले हामीलाई विश्‍वासको एकतामा ल्‍याउन र परमेश्‍वरको पुत्रको ज्ञानमा हामीलाई बढाउन मद्दत दिइरहन्‍छन् र एक दिन हामी परिपक्‍व बन्‍नेछौं र ख्रीष्‍टकै भरिपूर्णताको मात्रामा पुग्‍नेछौं।

14 तब हामी स-साना केटा-केटीजस्‍ता धूर्त मानिसका विभिन्‍न शिक्षाका बतासले जता हुर्र्यायो, उतै जादैनौं। तिनीहरूले निकालेका ठग विद्याले अरूलाई कुबाटोमा लैजान्‍छ।

15 प्रेमसँग सत्‍य बोलेर सबै कुरामा हाम्रो शिर ख्रीष्‍टजस्‍तै हामी बढ्दै जाऔं।

16 उहाँकै अधीनमा सबै बेग्‍लाबेग्‍लै अङ्गहरू मिलेर रहेका छन् र पूरै शरीर ठीक-ठीक ठाउँमा जोडिएर बसेको छ। एक-एक अङ्गले आफूले गर्नुपर्ने काम गर्‍यो भने पूरै शरीर प्रेममा बढ्दै विकसित हुन्‍छ।


ख्रीष्‍टमा नयाँ जीवन

17 यसकारण म प्रभुको नाउँमा शिक्षा दिंदै भन्‍छु, अब तिमीहरूका चालचलन परमेश्‍वरलाई नै नचिन्‍नेहरूको जस्‍तो नहोस्। उनीहरूका विचार त काम नलाग्‍नेछन्।

18 उनीहरूको हृदय अन्‍धकारले ढाकेको छ। उनीहरू परमेश्‍वरले दिनुहुने जीवनदेखि टाढा छन् किनभने तिनीहरूको हृदय केही नजान्‍ने र हठी छ।

19 उनीहरूको लाजै पचिसकेको छ र कुआदतमा लागेर हरकिसिमका अशुद्ध काममा जीवन अर्पेका छन्।

20 तर तिमीहरूले त ख्रीष्‍टको शिक्षाबाट यस्‍तो कुरा सिकेनौ।

21 साँच्‍चै तिमीहरूले उहाँको शिक्षा सुनेर उहाँका चेला भएकोले येशूको सत्‍यलाई सिक्‍यौ।

22 पहिलेका आचरणहरूमा बाँच्‍ने तिमीहरूको पुरानो जीवन त्‍यागिदेओ। त्‍यही पुरानो जीवन, जुनचाहिँ तिमीहरूका कुइच्‍छाहरूको कारणले नष्‍ट भइरहेथ्‍यो।

23 तिमीहरूका मन र आत्‍मा पूरा नयाँ होस्।

24 नयाँ मानिस परमेश्‍वरकै स्‍वरूपमा सिर्जिएको हो अनि यसले परमेश्‍वरको अघि ठीक र पवित्र रहेको साँचो जीवन देखाउँछ। यही नयाँ स्‍वभावलाई अपनाओ।

25 त्‍यसो हुँदा अब ढाँट्‍ने बानी छोडिदेओ। एक-अर्कासँग साँचो बोल किनभने हामी सबै ख्रीष्‍टको शरीरमा एक-अर्काका अङ्ग हौं।

26 तिमीहरूलाई रिस उठ्यो भने रिसले गर्दा पापचाहिँ नहोस्। घाम अस्‍ताउनुभन्दा अघि नै तिमीहरूको रिस मरिसकोस्।

27 शैतानले मौका छोप्‍न नपाओस्।

28 चोर्नेले चोर्ने काम छोडोस् र इमानदारिसँग आफ्‍नै हातले कमाओस्। त्‍यसपछि खाँचोमा पर्नेलाई पनि केही दिन सकोस्।

29 तिमीहरूको मुखबाट नराम्रो कुरो ननिस्‍किओस्, चाहिने, राम्रो र भलाइ गर्ने कुरो बोल र सुन्‍नेहरूलाई भलाइ होस्।

30 परमेश्‍वरको पवित्र आत्‍मालाई खिन्‍न नपार किनभने पवित्र आत्‍मा नै तिमीहरूले छुटकाराको दिनको लागि पाएको छाप हो।

31 सबै नराम्रा कुरा, झैझगडा र रिस-राग त्‍यागिदेओ। गाली निन्‍दा गर्दै नगर, सबै किसिमका वैरभाव त्‍यागिदेओ।

32 तर दयालु भई एक-अर्कालाई अनुग्रह गर। परमेश्‍वरले ख्रीष्‍टमा तिमीलाई माफ दिएझैँ तिमीहरूले पनि एक-अर्कालाई माफ दिने गर।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy