Online Bible

- Reklamy -

उपदेशक 8 - सरल नेपाली पवित्र बाइबल

1 बुद्धिमान् मानिसले मात्रै सबै कुराको साँचो अर्थ बुझ्‍दछ। बुद्धिले उसको अनुहार हँसिलो बनाउँदछ र त्‍यसको उदासिन अनुहार हटाउँदछ।


राजाका आज्ञापालन गर

2 राजाले यो आज्ञा गर्छन्, त्‍यो गर, कारण तिमीले परमेश्‍वरको सामु प्रतिज्ञा गरेका छौ।

3 तिमी अप्‍ठ्यारोमा पर्नुभन्दा पहिल्‍यै राजाको सामुबाट गइहाल किनभने उनले जे मन पर्छ, त्‍यही गर्छन्।

4 राजाले आफ्‍ना काम अख्‍तियारसाथ गर्छन् र उनले गरेका काममा कसैले सवाल-जवाफ गर्न सक्‍दैन।

5 उनका आज्ञापालन गरुँञ्‍जेल तिमीलाई केही डर हुँदैन र बुद्धिमान् मानिसले काम गर्ने ठीक समय र तरिका जान्‍दछ।

6 मानिसको कष्‍ट ऊमाथि गह्रौं भए पनि हरेक काम गर्ने ठीक समय र उचित तरिका हुन्‍छ,

7 भविष्‍यमा के हुन्‍छ, हामी कसैले जान्‍दैनौं र कसैले हामीलाई त्‍यो बताइदिन पनि सक्‍दैन।

8 कसैले आफूलाई मृत्‍युबाट बचाउन सक्‍दैन वा काललाई पछि सार्न सक्‍दैन। लडाइँ भएको बेला बिदा पाउँदैन न त दुष्‍ट्याइँ गर्नेहरू त्‍यसका पन्‍जाबाट उम्‍कन सक्‍दछ।


धर्मी र अधर्मी मानिसहरू

9 यस संसारमा भइरहेका कामहरूमाथि विचार गर्दा मैले यी सबै देखें। संसारमा कति मानिसहरूका हातमा अधिकार हुन्‍छ र तिनीहरूका हातमा अरू मानिसहरूले कष्‍ट भोग गर्नुपर्दछ।

10 अनि मैले दुष्‍ट मानिसहरू गाडिएका देखेको छु। तिनीहरू पवित्रस्‍थानमा आउने-जाने गर्दथे र जुन सहरमा तिनीहरूले दुष्‍ट काम गर्दथे, त्‍यही सहरमा तिनीहरूको प्रशंसा गरिन्‍थ्‍यो। यो पनि व्‍यर्थै रहेछ।

11 मानिसहरू किन सजिलैसित अपराध गर्छन्? किनभने तिनीहरूले अपराधको दण्‍ड तुरुन्‍तै पाइहाल्‍दैनन्।

12 सयकडौं अपराध गरेर पनि पापी बुढेस-कालसम्‍म बाँचिरहन्‍छ। मानिसहरूले के भन्‍छन्, म जान्‍दछु। तिनीहरू भन्‍दछन्, “परमेश्‍वरको आज्ञापालन गरे, सबै कुरा ठीक हुनेछन्,

13 तर दुष्‍टहरूको भने भलो हुँदैन। तिनीहरूले परमेश्‍वरको आज्ञापालन गर्दैनन् र सानै उमेरमा मरिजान्‍छन्। तिनीहरूको जीवन छायाजस्‍तो छ।”

14 संसारमा के भइरहेछ, सो हेर, कहिलेकहीँ दुष्‍टले पाउनुपर्ने दण्‍ड धर्मीले पाउँदछ र धर्मीका कामको इनाम दुष्‍टले पाउँदछ। म त भन्‍छु कि यो पनि व्‍यर्थ छ।

15 यसकारण मलाई पक्‍का विश्‍वास भएको छ कि मानिसले सुख-चैन गर्नुपर्छ किनभने जीवनमा खानु, पिउनु र मोजमज्‍जा गर्नुबाहेक अरू असल कुरा केही छैन। परमेश्‍वरले मानिसलाई यस संसारमा दिनुभएको जीवनमा परिश्रम गर्दा उसले कम-से-कम त्‍यति त गर्न सक्‍छ।

16 जहिले-जहिले बुद्धिमान् बन्‍ने र संसारमा के-के भइरहेका छन्, सो जान्‍ने चेष्‍टा गरें, मैले देखें कि रात-दिन जागा बसे पनि

17 हामी परमेश्‍वरका काम कहिल्‍यै बुझ्‍न सक्‍दैनौं। मानिसले ज्‍यादै चेष्‍टा गरे पनि त्‍यो जान्‍न सक्‍दैन। बुद्धिमान्‌हरू “हामी जान्‍दछौं,” भन्‍लान् तर तिनीहरूले जानेका हुँदैनन्।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy