उपदेशक 6 - सरल नेपाली पवित्र बाइबल1 मैले संसारमा ठूलो अन्याय भएको देखेको छु। 2 परमेश्वरले कसैलाई पूरा धन-सम्पत्ति, इज्जत, अँ, उसले चाहेजति सबै थोक दिनुहुन्छ तर ती उपभोग गर्न दिनुहुन्न। उसको सट्टामा कुनै परदेशीले ती उपभोग गर्छ। त्यो व्यर्थ हो, एउटा दु:खको कुरा हो। 3 कुनै मानिसको एक सय छोरा-छोरी होलान्, उसको आयु लामो होला तर जति नै लामो आयु भए पनि जीवनमा सुख पाएन र मरेपछि उसलाई राम्ररी गाड्ने काम भएन भने जन्मँदै मरेको बालक ऊभन्दा असल हो। 4 त्यो बालक जन्मेको केही लाभ भएन, त्यो अन्धकारमा हराइहाल्छ र त्यहाँ त्यो बिर्सिहालिन्छ। 5 त्यसले दिनको उज्यालो कहिल्यै देख्दैन वा जीवन के हो, कहिल्यै बुझ्दैन तर कम-से-कम त्यसले विश्राम पाएको हुन्छ। 6 दुई हजार वर्ष आयु भएर पनि जीवनको सुख-भोग गर्न नपाएको मानिसले भन्दा बरु त्यस बालकले आराम पाएको हुन्छ। आखिरमा, ती दुवै एउटै ठाउँमा पुग्छन्। 7 मानिसले सबै परिश्रम पेटै भर्नलाई गर्छ तर उसको पेट कहिल्यै भरिंदैन। 8 कसरी एउटा बुद्धिमान् मानिस एउटा मूर्खभन्दा असल भयो त? गरीबले जीवनको सामना गर्न जान्दछ भने पनि त्यसलाई के लाभ हुन्छ? 9 त्यो व्यर्थ छ, त्यो हावालाई खेद्नुजस्तै हो। आफूसित जे छ, त्यसमा सन्तोष गर्नु, सधैँ केही न केही कुराको चाहना गर्नुभन्दा असल हो। 10 जे-जति कुरा हुन्छन्, ती अघिबाट नै तोकिएका हुन्छन् र हामी जान्दछौं कि मानिसले आफूभन्दा बलियोसित केही विवाद गर्न सक्दैन। 11 उसले जति लामो विवाद गर्छ, उति धेरै त्यो व्यर्थ हुन्छ र उसलाई केही लाभ हुँदैन। 12 छायाँजस्तो बिलाएर जाने जीवनमा, मानिसको छोटो र व्यर्थको जीवनमा उसको निम्ति के कुरा उत्तम छ, त्यो कसले जान्दछ र? मरेपछि संसारमा के हुन्छ, त्यो कसले जान्न सक्छ र? |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society