Online Bible

- Reklamy -

उपदेशक 5 - सरल नेपाली पवित्र बाइबल


सोच-विचार नगरी भाकल नगर्नू

1 मन्‍दिर जाँदा होशियारी हुनू। त्‍यहाँ गएर शिक्षा लिनु मूर्खले झैँ बलिदान चढाउनुभन्दा असल हो। त्‍यस्‍ता मूर्खले भलो र कुभलो छुट्ट्याउन सक्‍दैन।

2 बोल्‍नुअघि सोच, बिनासोच-विचार परमेश्‍वरलाई केही भाकल नगर। उहाँ स्‍वर्गमा हुनुहुन्‍छ र तिमीचाहिँ पृथ्‍वीमा छौ। यसकारण चाहिँ त्यो बाहेक ज्‍यादा नबोल।

3 जति धेरै चिन्‍ता गर्छौ, त्‍यति धेरै नराम्रा सपनाहरू देख्‍छौ, जति धेरै बोल्‍छौ, त्‍यति धेरै मूर्ख कुरा मुखबाट निकाल्‍नेछौ।

4 यसकारण परमेश्‍वरसित केही प्रतिज्ञा गरेपछि सक्‍दो चाँडो त्‍यो पूरा गर। मूर्ख मानिस उहाँलाई काम लाग्‍दैन। जे भाकल गर्छौ, त्‍यो पूरा गर।

5 भाकल गरेर त्‍यो पूरा नगर्नुभन्दा भाकल गर्दै नगर्नु असल हो।

6 तिम्रो आफ्‍नै बोलीले तिमीलाई पापमा नपारोस् र मैले त त्‍यसो भनेको होइनँ भनी तिमीले परमेश्‍वरका पूजाहारीलाई भनिरहनुनपरोस्। किन आफूमाथि परमेश्‍वरको क्रोध ल्‍याउनु? किन उहाँका हातबाट आफ्‍नो काम नष्‍ट गराउनु?

7 तिमीले जति नै कल्‍पना गरे पनि, जत्ति नै व्‍यर्थका काम गरे पनि र जति नै बोले पनि परमेश्‍वरको भय त मान्‍नैपर्छ।


धन-सम्‍पत्ति व्‍यर्थ हुन्

8 देशमा अधिकारीहरूले गरीबमाथि अत्‍याचार गरेको, तिनीहरूको हक खोसेको र अन्‍याय गरेको देख्‍यौ भने अचम्‍म नमान्‍नू किनभने हरेक अधिकारीलाई ऊमाथिको अधिकारीले हेर्दछ र ती दुवैलाई अझ ठूलो अधिकारीले हेर्दछ।

9 र राजा पनि खेतबारीका उब्‍जनीमा भर पर्दछन्।

10 रकम-पैसाको लोभ गर्ने मानिस कहिल्‍यै अघाउँदैन, धन-सम्‍पत्तिको लोभ गर्ने मानिसले कहिले पनि जति कमाउन सक्‍दैन। यो पनि व्‍यर्थ हो।

11 धन जति बढ्छ, खाने मुख पनि उति नै बढ्छ। तिमीले पाउने भनेको आफू धनी छु भन्‍ने जान्‍नु मात्रै हो।

12 पूरै खाओस् कि थोरै खाओस्, परिश्रम गर्ने मानिसको निद्रा मीठो हुन्‍छ। तर धनी मानिसको धन धेरै भएकोले उसलाई निद्रा लाग्‍दैन र चिन्‍ता भइरहन्‍छ।

13 मैले संसारमा देखेको एउटा विशेष खराब कुरा यो छ: मानिसले आफूलाई चाहिएको बेलामा होस् भनी रकम-पैसा बचाउँदछ

14 र कुनै दुर्भाग्‍यले उसलाई व्‍यापारमा नोक्‍सान पर्दछ र अन्‍तमा आफ्‍ना छोरा-छोरीहरूको निम्‍ति केही छोड्‌न सक्‍दैन।

15 हामी जस्‍तो आयौं, त्‍यस्‍तै यस संसारबाट बिदा लिंदछौं अर्थात् खाली हात। हाम्रा सारा मेहनतबाट हामीले केही लान पाउँदैनौं।

16 के यो साँचो होइन? हामी जस्‍तो आयौं, त्‍यस्‍तै जान्‍छौं। हामीले परिश्रम गर्छौं र हावा समात्‍ने चेष्‍टा गर्छौं, अन्‍तमा के पाउँछौं?

17 हामीले आफ्‍ना जीवन अन्‍धकार र शोकमा, चिन्‍ता, रिस-राग र बिरामीमा बिताउनुपर्दछ।

18 मैले यही कुरा जानें; मानिसको निम्‍ति परमेश्‍वरले आफूलाई दिनुभएको छोटो जीवनमा खानु, पिउनु र आफ्‍नो काममा आनन्‍द लिनु नै सबैभन्दा असल हो, उसले त्‍यति मात्र गर्न सक्‍छ। मानिसको भाग्‍य त्‍यति हो।

19 परमेश्‍वरले कसैलाई धन-सम्‍पत्ति दिनुभयो र त्‍यसमा आनन्‍द मनाउन दिनुभयो भने धन्‍यवादी भएर उसले आफ्‍नो काममा आनन्‍द गरोस्। त्‍यो परमेश्‍वरको दान हो।

20 परमेश्‍वरले उसलाई सुखी हुन दिनुभएको छ। जीवन छोटो छ भन्‍ने कुरामा उसले ज्‍यादा फिक्री गर्दैन।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Následuj nás:



Reklamy