उपदेशक 11 - सरल नेपाली पवित्र बाइबलबुद्धिमान् मानिसको काम 1 आफ्नो धन उदार चित्तले देऊ र धेरै दिनपछि तिमीले त्यो फेरि पाउनेछौ। 2 तिमीले सात, आठ जनालाई भाग बाँडिदेऊ किनभने तिमी जान्दैनौ, कस्तो विपत्ति देशमा आइपर्नेछ। 3 रूख जतैतिर ढलोस्, त्यो त्यहीँ लडिरहन्छ। बादल पानीले भरियो भने त्यसले वर्षा ल्याउँछ। 4 हावापानी ठीक हुने बेला पर्खिरह्यौ भने तिमीले कहिल्यै अन्न लाउने र त्यसको कटनी गर्नेछैनौ। 5 परमेश्वरले सबै थोक बनाउनुभयो तर तिमी जसरी गर्भवती स्त्रीको गर्भमा जीवन सुरु भएको बुझ्न सक्दैनौ, त्यसरी नै परमेश्वरको काम बुझ्न सक्दैनौ। 6 बिहानै बिउ छर्ने गर, बेलुका पनि खाली हात नबस। राम्रो उब्जनी हुन्छ कि हुँदैन अथवा अहिले छरेको बिउ वा गरेको काम राम्रो हुन्छ, त्यो तिमी कहिल्यै जान्दैनौ। 7 दिउँसोको उज्यालोमा आनन्द लिन सक्नु असल कुरा हो। 8 आफ्नो जीवनको हरेक वर्षको निम्ति धन्यवादी होओ। तिम्रो आयु जति नै लामो होस्, त्योभन्दा लामो तिम्रो मरणपछिको समय हुनेछ भनी याद राख। आशा गर्नुपर्ने कुरा केही पनि छैन। युवाहरूलाई सल्लाह 9 ए युवाहरू हो, आफ्ना जवानीमा आनन्द गर, युवावस्था छउञ्जेल सुख-चैन गर। आफ्नो मनको इच्छा पूरा गर र जे मन लाग्छ, त्यो गर। तर यतिचाहिँ याद राख कि परमेश्वरले तिम्रा सबै कामको लेखा लिनुहुनेछ। 10 केही कुरामा फिक्री नगर, केही कुरामा दु:ख नमान। तिम्रो युवावस्था धेरै दिन रहनेछैन। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society