व्यवस्था 5 - सरल नेपाली पवित्र बाइबलदश आज्ञा ( प्रस्थान २०:१-१७ ) 1 इस्राएलका सबै मानिसहरूलाई भेला गरेर मोशाले भने, “हे इस्राएलीहरू हो! मैले आज तिमीहरूलाई दिँदैगरेका सबै नियमहरू सुन। ती सिक र ठीकसित मान। 2 सीनै पर्वतमा परमप्रभु हाम्रा परमेश्वरले एउटा करार बाँध्नुभयो। 3 त्यो करार हाम्रा पिता-पुर्खाहरूसित मात्र होइन तर आज बाँच्ने हामीहरूसित पनि बाँधिएको हो। 4 त्यहाँ पर्वतमाथि परमप्रभु आगोबाट तिमीहरूसित मुखा-मुख भएर बोल्नुभयो। 5 त्यस बेला उहाँले भन्नुभएको कुरा तिमीहरूलाई बताउन भनी म तिमीहरू र परमेश्वरका बीचमा खडा भएँ किनभने तिमीहरू आगो देखेर डरायौ र पर्वतमाथि उक्लेनौ। “परमप्रभुले भन्नुभयो, 6 ‘म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। मैले तिमीहरू कमारा-कमारी भई बसेका देश मिश्रबाट तिमीहरूलाई निकाली ल्याएँ। 7 “मबाहेक अरू कुनै ईश्वरलाई तिमीहरूले नपुज्नू। 8 “ ‘तिमीहरूले आफ्नो लागि स्वर्ग र पृथ्वी वा पृथ्वीमुनिका पानीमा भएका कुनै पनि कुराको मूर्ति नबनाउनू। 9 कुनै मूर्तिको अघि तिमीहरूले टाउको ननिहुराउनू अनि त्यसलाई नपुज्नू किनभने म परमप्रभु तिमीहरूका परमेश्वर हुँ र यस्तो विरोधीलाई सहँदिनँ। मलाई घृणा गर्नेहरू र तिनका सन्तानमाथि तेस्रो र चौथो पुस्तासम्म म दण्ड दिन्छु। 10 तर मलाई प्रेम गर्ने र मेरा आज्ञा मान्नेहरूमाथि हजारौँ पुस्तासम्म म आफ्नो प्रेम देखाउँछु। 11 “व्यर्थैमा मेरो नाम नलिनू किनभने म परमप्रभु तिमीहरूका परमेश्वरले मेरो नाम दुरुपयोग गर्नेहरूलाई दण्ड दिनेछु। 12 “म तिम्रा परमेश्वर परमप्रभुले आज्ञा गरेअनुसार विश्रामको दिन मान्नू र त्यसलाई पवित्र राख्नू। 13 तिमीहरूले छ दिनसम्म काम गर्नेछौ, 14 तर सातौँ दिन मलाई अर्पण गरेको विश्रामको दिन हो। त्यो दिन कसैले काम नगर्नू– तिमीहरू, तिम्रा छोरा-छोरीहरू, कमारा-कमारी, जीव-जन्तु, तिम्रा देशमा बास गर्ने विदेशी कसैले काम नगरोस्। तिम्रा कमारा-कमारीहरूले पनि तिमीहरूले झैँ विश्राम गर्नुपर्छ। 15 याद राख कि मिश्रमा तिमीहरू कमारा-कमारी थियौ र म परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो महान् शक्ति र बलले तिमीहरूलाई बचाइ ल्याएँ। त्यसैकारण म तिमीहरूलाई विश्रामको दिन मान्न आज्ञा गर्दछु। 16 “म तिम्रा परमेश्वर परमप्रभुले आज्ञा गरेअनुसार आ-आफ्ना आमा-बुबालाई आदर गर। त्यसो गरे, सबै कुरामा तिमीहरूलाई भलो हुनेछ र मैले तिमीहरूलाई दिन लागेको देशमा धेरै दिनसम्म बाँच्न सक्नेछौ। 17 “हत्या नगर! 18 “व्यभिचार नगर! 19 “चोरी नगर! 20 “कसैलाई झूटो दोष नलगाऊ। 21 “अर्काकी स्वास्नीको लालच नगर, उसको घर वा जमिन, कमारा-कमारी, गाई-वस्तु, गधाहरू र ऊसँग भएका अरू कुनै कुराको लालच नगर।’ 22 “पर्वतमा भेला भएका बेलामा तिमीहरू सबैलाई परमप्रभुले दिनुभएका आज्ञाहरू यी नै हुन्। आगो र बाक्लो बादलका बीचबाट उहाँ बोल्नुहुँदा अरू होइन तर यी नै आज्ञाहरू दिनुभएको थियो। त्यसपछि ती आज्ञा उहाँले दुईवटा ढुङ्गाका पाटीहरूमा लेख्नुभयो र मलाई दिनुभयो। इस्राएलीहरू डराउँछन् ( प्रस्थान २०:१८-२१ ) 23 “जब सारा पर्वतमा आगो लागेको थियो र अन्धकारबाट तिमीहरूले उहाँको सोर सुन्यौ, तिम्रा अगुवाहरू र कुल-नायकहरू मकहाँ आए 24 र भने, ‘जब हामीले उहाँलाई आगोबाट बोल्नुभएको सुन्यौं, तब परमप्रभु हाम्रा परमेश्वरले हामीलाई आफ्ना महान्ता र महिमा देखाउनुभयो! परमेश्वर मानिससित बोल्नुहुँदा पनि मानिस बाँचेको आजै हामीले देख्यौं। 25 तर हामीले फेरि मृत्युको खतरा किन भोग्नु? त्यस डरलाग्दो आगोले हामीलाई भस्म पार्नेछ। फेरि हामीले परमप्रभु हाम्रा परमेश्वर बोल्नुभएको सुन्यौं भने हामी अवश्य मर्नेछौं। 26 जीवित परमेश्वरको बोली आगोबाट सुनेपछि कुनै मानिस कहिल्यै बाँचेको छ र? 27 मोशा, तपाईं नै गएर परमप्रभु हाम्रा परमेश्वरले भन्नुभएका सबै कुराहरू सुन्नुहोस्। तब फर्केर आएर उहाँले तपाईंलाई के भन्नुभयो, त्यो हामीलाई सुनाउनुहोस्। हामी ती कुरा सुनी तिनको पालन गर्नेछौं।’ 28 “यी कुरा सुनेर परमप्रभुले मलाई भन्नुभयो, ‘यी मानिसहरूले भनेका कुरा मैले सुनेको छु। तिनीहरू ठीकै भन्छन्। 29 सधैँ त्यस्तै तिनीहरूलाई लागिदिए त कस्तो हुन्थ्यो! सधैँ तिनीहरूले मेरो आदर गरिदिए र मेरा आज्ञाहरू मानिदिए सधैँभरि सबै कुरामा तिनीहरूको र तिनका सन्तानको भलो हुनेथ्यो। 30 गएर तिनीहरूलाई आ-आफ्ना पालमा फर्क भन्नू। 31 तर मोशा तँचाहिँ यहाँ मसँग बस् र म तँलाई मेरा सबै नियम र आज्ञाहरू दिनेछु। मानिसहरूलाई ती सिका र मैले तिनीहरूलाई दिन लागेको देशमा तिनको पालन तिनीहरूले गरून्!’ 32 “हे इस्राएलका मानिसहरू हो! परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएका सबै आज्ञाहरू मान्ने सङ्कल्प गर। 33 ती सबै पालन गर र उहाँको कुनै पनि आज्ञा नतोड। सबै कुरामा तिमीहरूलाई भलो हुनेछ अनि आफूले अधीन गर्न लागेका देशमा तिमीहरू बास गरिरहनेछौ। |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society