व्यवस्था 32 - सरल नेपाली पवित्र बाइबल1 “आकाश र पृथ्वी, मेरा कुरा सुन, मेरो वचन ध्यान दिएर सुन। 2 मेरो शिक्षा झरीका थोपाहरूजस्ता खस्नेछ, र पृथ्वीमा शीतझैँ जम्नेछ। मेरो वचन कलिला बिरुवाहरूमाथि सिमसिमे पानी परेझैँ र दुवोमाथि हलुकारूपमा पानी परेझैँ खस्नेछ। 3 म परमप्रभुको नामको प्रशंसा गर्नेछु, र उहाँका प्रजाले उहाँको महान्ताबारे भन्नेछन्। 4 “परमप्रभु तिम्रा प्रतापी रक्षक हुनुहुन्छ, सबै कुरामा सिद्ध र न्यायी हुनुहुन्छ। तिम्रा परमेश्वर विश्वासयोग्य र सत्य हुनुहुन्छ, जे कुरा ठीक र न्यायपूर्ण छ, त्यो उहाँले गर्नुहुन्छ। 5 तर तिमी अविश्वासी छौ र उहाँको प्रजा हुन अयोग्य छौ, तिमी पापी र छली जाति हौ। 6 हे मूर्ख र बेहोशी जाति! के यसरी नै तिमीहरूले परमप्रभुसित कुराकानी गर्नुपर्थ्यो? उहाँ तिम्रा बुबा, तिम्रा सृष्टिकर्ता हुनुहुन्छ, उहाँले तिमीहरूलाई एउटा जाति बनाउनुभयो। 7 “बितेका धेरै दिन अघिको समयबारे सोच, तिम्रा बुबाहरूलाई त्यस बेला के भयो, सोध, बुढा-पाकालाई बितेका दिनबारे सोध। 8 सर्वोच्च परमेश्वरले जाति-जातिलाई तिनका देश दिनुभयो, परमेश्वरका दूतहरूको सङ्ख्याअनुसार मानिसहरू कहाँ बस्छन् भनी उहाँले खटाउनुभयो; 9 तर याकूबका सन्तानलाई चाहिँ आफ्नै निम्ति चुन्नुभयो। 10 “उहाँले तिनीहरूलाई उजाड-स्थान बीचबाट भएर डुलिरहेका भेट्टाउनुभयो, त्यो उराठलाग्दो बतासले ध्वस्त पारेको उजाड-स्थान थियो। उहाँले तिनीहरूको रक्षा गर्नुभयो र वास्ता गर्नुभयो, आफ्नै रक्षा गरेझैँ तिनीहरूको रक्षा गर्नुभयो। 11 गरुडले आफ्ना बचेरालाई उड्न सिकाउँदा, त्यसले पखेटा फैल्याएर तिनीहरूलाई थामेझैँ परमप्रभुले इस्राएलीलाई लड्नबाट जोगाउनुभयो। 12 परमप्रभु एक्लैले आफ्ना प्रजालाई डोर्याउनुभयो, कुनै विदेशी देव-देवताको मद्दत नलिई डोर्याउनुभयो। 13 “उहाँले तिनीहरूलाई अग्ला पहाडी ठाउँहरूमा राज गर्न दिनुभयो र खेतबारीमा उब्जेका थोक तिनीहरूले खाए। चट्टानमा तिनीहरूले जङ्गली मह पाए, ढुङ्गेनी ठाउँमा तिनीहरूका जैतुनका रूखहरू लहलह भई फैलिए। 14 तिनका गाई-बाख्राले प्रशस्त दूध दिए, सबैभन्दा असल भेडा-बाख्रा र गाई-गोरु तिनीहरूसित थिए, सबैभन्दा उत्तम गहुँ र मद्य तिनकै थिए। 15 “परमप्रभुका प्रजा धनी भए तर विद्रोही भए, तिनीहरू मोटाएका र खानाले टम्म अघाएका थिए, तिनीहरूले आफ्ना सृष्टिकर्ता परमेश्वरलाई त्यागे, र आफ्ना प्रतापी उद्धारकर्तालाई इन्कार गरे। 16 तिनका मूर्तिपूजाले परमप्रभुलाई ईर्ष्यालु बनाए, तिनका दुष्ट कामले उहाँलाई क्रोधित तुल्याए। 17 झूटो ईश्वर, पुर्खाले कहिले नचिनेको ईश्वर, इस्राएलले कहिल्यै नमानेका ईश्वरलाई तिनीहरूले बलि चढाए। 18 आफ्ना परमेश्वर, प्रतापी उद्धारकर्ता जसले तिनीहरूलाई जीवन दिनुभएको थियो, तिनीहरूले उहाँलाई भुले। 19 “त्यो देखेर परमप्रभु रिसाउनुभयो, आफ्ना छोरा-छोरीहरूलाई इन्कार गर्नुभयो। 20 उहाँले भन्नुभयो– ‘अब उसो म यिनीहरूलाई मद्दत गर्नेछैनँ, र यी ढिट, अविश्वासयोग्य मानिसहरूलाई के हुन्छ, म हेर्नेछु। 21 मूर्तिद्वारा तिनीहरूले मलाई रिस उठाएका छन्, ईश्वर भनाउँदा देवताहरू, जो ईश्वर होइनन्, तिनीहरूद्वारा मलाई ईर्ष्यालु बनाएका छन्। यसर्थ एउटा बेकामको जातिद्वारा तिनीहरूलाई रिस उठाउनेछु, मुर्खहरूका जातिद्वारा तिनीहरूलाई ईर्ष्यालु तुल्याउनेछु। 22 मेरो रिस आगोजस्तो दन्कनेछ र पृथ्वीका सबै थोक भस्म पारिदिनेछ, पृथ्वीमुनि पुगेर त्यसले पहाडका जरा डढाइदिनेछ। 23 “ ‘म तिनीहरूमाथि कहिल्यै अन्त नहुने विपत्तिहरू ल्याउनेछु, तिनका विरुद्धमा मेरा सबै वाणहरू चलाउनेछु। 24 तिनीहरू भोक र ज्वरोले मर्नेछन्, तिनीहरू डरलाग्दा रोगले मर्नेछन्। तिनीहरूलाई हमला गर्न मैले जङ्गली जनावरहरू पठाउनेछु र तिनीहरूलाई डस्न मैले विषालु सर्पहरू पठाउनेछु। 25 लडाइँले सडक-सडकमा मृत्यु ल्याउनेछ, घर-घरमा डरलाग्दा कुराहरू आइलाग्नेछन्। जवान पुरुष र स्त्री मर्नेछन्, बुढा मानिस र केटा-केटीहरू पनि बाँच्नेछैनन्। 26 म तिनीहरूलाई पूरा नाश गर्नेथिएँ र कसैले तिनीहरूलाई याद गर्ने थिएनन्। 27 जब आफ्ना जनलाई चूर पार्ने म नै थिएँ, कसरी तिनका शत्रुलाई “हामीले जित्यौं” भनी घमण्ड गर्न दिन सक्थें।’ 28 “इस्राएल एउटा विवेक नभएको जाति हो, तिनीहरूको बिल्कुलै बुद्धि छँदैछैन। 29 हामी किन हार्यौं भनी तिनीहरू जान्दैनन्, के भयो भनी तिनीहरूले बुझ्नै सक्दैनन्। 30 किन तिनका एक हजारको हार एक जनाको हातमा? दश हजारको हार दुई जनाको हातमा भयो? परमप्रभु तिनका परमेश्वरले तिनीहरूलाई त्याग्नुभएको थियो, तिनका प्रतापी परमेश्वरले छोडिदिनुभएको थियो। 31 तिनका शत्रुहरूले आफ्ना देव-देवता बलिया छैनन् भन्ने जान्दछन्, इस्राएलका परमेश्वरजस्ता शक्तिशाली छैनन्। 32 तिनका शत्रुहरू सदोम र गमोराजस्ता भ्रष्ट भएका छन्, तीता र विषालु दाख फलाउने बोटजस्ता छन्। 33 सर्पको विषले बनेको मद्यजस्तो छ। 34 “तिनका शत्रुहरूले के गरेका छन्, परमप्रभुलाई याद छ, उहाँले तिनीहरूलाई सजायँ दिने उचित समय पर्खनुहुन्छ। 35 परमप्रभुले तिनीहरूलाई बदला लिनुभएर सजायँ दिनुहुनेछ; तिनीहरूको ढल्ने समय आउनेछ, तिनीहरू नाश हुने दिन नजिकै छ। 36 परमप्रभुले आफ्ना प्रजालाई उद्धार गर्नुहुनेछ जब तिनीहरूको बल सकेको उहाँले देख्नुहुनेछ उहाँले आफ्ना सेवा गर्नेहरूमाथि कृपा गर्नुहुन्छ, जब तिनीहरू असहाय भएको देख्नुहुन्छ। 37 तब परमप्रभुले आफ्ना प्रजालाई सोध्नुहुनेछ: ‘तिमीहरूले भरोसा राखेका ती प्रतापी देव-देवताहरू कता गए?’ 38 आफ्ना बलिको बोसो तिमीहरूले तिनलाई खुवायौ, र पिउनलाई मद्य चढायौ। अहिले तिनीहरू नै आएर तिम्रो सहायता गरून्, तिमीहरूलाई उद्धार गर्नको लागि तिनीहरू दगुरेर आऊन्। 39 “ ‘म अँ! ममात्र परमेश्वर हुँ, अरू कुनै ईश्वर सत्य छैन। म मार्दछु, म जीवन दिँदछु, म चोट लाउँदछु अनि निको पार्दछु, मैले गरेका कामको विरोधमा कसैले केही गर्न सक्दैन। 40 जति म जिउँदो परमेश्वर हुँ भनी निश्चय छु, त्यति नै आफ्नै हात उठाएर प्रतिज्ञा गर्न म निश्चय गर्दछु, 41 म आफ्नो झलझल चम्कने तरवारमा शान लाउनेछु, र सबै विषयमा न्याय गराइछोड्नेछु। म आफ्ना शत्रुहरूसित बदला लिनेछु, र मलाई घिन गर्नेहरू सबैलाई सजायँ दिनेछु। 42 मेरा वाणहरू तिनीहरूको रगतमा डुबाउनेछु र मेरो तरवारले मलाई विरोध गर्ने सबैलाई मार्नेछ। मसित लडाइँ गर्ने कसैलाई म छोड्नेछैनँ; घाइते र कैदीहरू पनि मर्नेछन्।’ 43 “हे जातिहरू हो! तिमीहरूले परमेश्वरको प्रजाको प्रशंसा गर्नैपर्छ, तिनीहरूलाई मार्ने सबैलाई उहाँले सजायँ दिनुहुन्छ। उहाँले आफ्ना शत्रुसित बदला लिनुहुन्छ र आफ्ना प्रजाका पाप क्षमा गर्नुहुन्छ।” 44 मोशा र नूनको छोरो यहोशूले यो गीत मुखस्थ सुनाए अनि इस्राएलका मानिसहरूले सुने। मोशाको अन्तिम निर्देशनहरू 45 मोशाले मानिसहरूलाई परमेश्वरका शिक्षाहरू दिइसकेपछि भने, 46 “मैले आज तिमीहरूलाई दिएका आज्ञाहरू पालन गर्ने निश्चय गर। ती तिम्रा छोरा-छोरीहरूलाई दोहोर्याइदिनू र तिनीहरूले विश्वासयोग्यतासाथ परमेश्वरका शिक्षाहरू मानून्। 47 यो शिक्षा खोक्रो वचन होइन। यो तिमीहरूको जीवन नै हो। यो शिक्षा मान अनि यर्दनपारि तिमीहरूले अधीन गर्न लागेका देशमा तिमीहरू धेरै दिनसम्म बास गर्नेछौ।” 48 त्यही दिन परमप्रभुले मोशालाई भन्नुभयो, 49 “यरीहो सहरको सामुन्ने मोआब देशका अबारीम पहाडमा जा र नेबो डाँडामा चढ् अनि मैले इस्राएलीहरूलाई दिन लागेको कनान देशलाई हेर्। 50 जसरी तेरा दाजु हारून होर पर्वतमा मर्यो, त्यसरी तँ त्यस पहाडमा मर्नेछस् 51 किनभने तिमीहरू दुवै भाइ इस्राएलका मानिसहरूको सामु मप्रति अविश्वासयोग्य भयौ। जब तिमीहरू कादेश सहरका नजिकमा सीनको उजाड-स्थानमा मरीबाका पानीनिर थियौ, तब तिमीहरूले मानिसहरूको अघि मेरो अनादर गर्यौ। 52 तैँले टाढैबाट त्यस देशलाई हेर्नेछस् तर मैले इस्राएलका मानिसहरूलाई दिँदैगरेको देशभित्र तँ पस्नेछैनस्।” |
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.
Nepal Bible Society